01/18/2026, 14:05:12
आइतबार, माघ ०४, २०८२

मुस्ताङमा एमालेले विष्टलाई बनायो उम्मेदवार


मुस्ताङ,माघ ४ गते । नेकपा एमालेले आगामी फागुन २१ का लागि उम्मेदवारको टुंगो लगाएको छ । शनिबार राती गण्डकीका १८ वटै क्षेत्रमा उम्मेदवार टुङ्ग्याएको हो । जसअन्तर्गत हिमाल पारीको जिल्ला मुस्ताङमा इन्द्रधारा विष्टलाई उम्मेदवार बनाइएको छ ।

उनी प्रतिनिधि सभा सदस्यका लागि उपल्लो मुस्ताङबाट टिकट पाउने पहिलो उम्मेदवार हुन् । हालसम्म कागबेनी भन्दा तल्लो क्षेत्रबाट मात्रै प्रतिनिधि सभामा चुनाव लड्ने र जित्ने हुँदै आएको थियो । पहिलोपटक तल्लो क्षेत्रको राजनीतिक सिन्डिकेट तोडिएको एमाले नेताहरू नै बताउँछन् ।

मुस्ताङको माथिल्लो क्षेत्र विष्ट र गुरुङहरूको बाहुल्यता छ भने तल्लो क्षेत्रमा थकाली छन् । दुवै क्षेत्रमा दलित समुदायको पनि बाक्लो उपस्थिति छ । विष्टले चुनावको एजेन्डा बनाउन सक्छन् ।

लामो समय मुस्ताङी राजाको प्रशासनिक सल्लाहकार भएर काम गरेका उनी २०७४ को स्थानीय चुनावमा लोमान्थाङ गाउँपालिका अध्यक्षमा स्वतन्त्र उम्मेदवार भए । तर, झिनो अन्तरले हारेपछि उनी एमाले प्रवेश गरे ।

सोही वर्ष भएको प्रदेशसभा चुनावमा एमालेबाट उनी निर्वाचित भए । तर, २०७९ को चुनावमा सोही क्षेत्रबाट उनी कांग्रेसका नम्डु गुरुङसँग पराजित भए । राजनीतिभन्दा बढी समाजसेवीको रूपमा चिनिने विष्ट गल्फका पारखी हुन् ।

उनैले विश्वमै सबैभन्दा अग्लो स्थानमा गल्फ कोर्स बनाएर गिनिज बुक अफ वर्ल्ड रेकर्डमा स्थापित गराउने अभियान चलाइरहेका छन् । कोरोना र भूकम्प लगायतको विपदमा उनले सेवा गर्दै आएका थिए । लोमन्थाङमा बिजुली भूमिगत गर्नेदेखि कोरला नाका खोल्न र लोमान्थाङ रिङरोड बनाउन उनले पैरवी गरेका थिए ।

मुस्ताङमा ङुटुक गुरुङले नेपाली कम्युनिस्ट पार्टीबाट टिकट पाइसकेका छन् । कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीले अझै टुङ्ग्याएको छैन । रास्वपाले जिल्लामै अध्यापन गराइरहेका एक व्यक्तिलाई टिकट दिने बताइरहेको छ तर नाम सार्वजनिक गरेको छैन । कांग्रेसले यसअघिकै सांसद योगेश गौचनलाई टिकट दिन सक्छ । तर उनीहरू आन्तरिक छलफलमै केन्द्रित छन् ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..