01/06/2026, 19:56:03
मङ्गलबार, पुष २२, २०८२

रास्वपाको समानुपातिक बन्दसूचीबाट नाम फिर्ता लिने बढ्दै


काठमाडौँ, पुस २१ : रास्वपा केन्द्रीय सदस्य अरनिको पाँडेले समानुपातिक उम्मेदवारको बन्दसूचीबाट नाम फिर्ता लिएका छन् । उनले सोमबार फेसबुकमार्फत बन्दसूचीबाट बाहिरिएको घोषणा गरेका हुन् ।

पाँडेले आइतबार राति बसेको केन्द्रीय समिति बैठकमा नाम हटाउने निर्णय जानकारी गराएको बताएका छन् । पछिल्ला राजनीतिक घटनाक्रमका कारण बन्दसूचीमा रहनुको औचित्य नदेखिएको उनको भनाइ छ ।

फेसबुकमा उनले लेखेका छन्, ‘म सधैँ देश र समाजलाई योगदान दिन सक्ने उपयुक्त बाटो रोज्ने प्रयासमा रहन्छु । पछिल्लो समय विकसित राजनीतिक अवस्थामा समानुपातिक सूचीमा रहिरहनुको औचित्य नदेखेपछि हिजो राति बसेको केन्द्रीय समिति बैठकमा मेरो नाम हटाउने निर्णय साथीहरूलाई सुनाएँ ।

बन्दसूचीमा समावेश गर्ने निर्णय लिने नेतृत्वप्रति उनले आभार प्रकट गरेका छन् । आगामी निर्वाचनमा पार्टीलाई जिताउन सक्रिय रहने प्रतिबद्धता पनि जनाएका छन् ।

पाँडेसँगै रास्वपाको बन्दसूचीबाट नाम फिर्ता लिनेको संख्या ६ पुगेको छ । यसअघि पहिचानवादी अभियन्ता महेन्द्र लावती,  अभिनेता आसिफ शाह,  गायिका त्रिशला गुरुङ,  व्यवसायी सचिन ढकाल  र पर्वतारोही टासी शेर्पाले नाम हटाइसकेका छन् ।