02/18/2026, 19:21:40
बुधबार, फागुन ०६, २०८२

प्रतिनिधिसभा निर्वाचन : घरदैलो कार्यक्रममा व्यस्त काठमाडौँ–३ का उम्मेदवार


काठमाडौँ, फागुन ६ गते । आसन्न प्रतिनिधिसभाको निर्वाचनका लागि काठमाडौँको निर्वाचन क्षेत्र नं ३ का उम्मेदवार दलका घोषणापत्रसहित घरदैलोमा कार्यक्रममा व्यस्त छन् । आफ्ना चुनावी एजेण्डासहित आमसभा, भेटघाट, प्रचारप्रसार लगायत गतिविधिमा उम्मेदवारले सक्रियता बढाएका हुन् ।

गोर्कणेश्वर नगरपालिका–४ का स्थानीय भीमभक्त तामाङले स्वदेशमा रोजगारी सिर्जना गर्नेलाई मत खसाल्ने निधो गरेको बताउनुभयो । उमेरले ६५ काट्नुभएका उहाँले रोजगारीको अभावका कारण छोराछोरीलाई बुढेसकालमा विदेश पठाउनुपर्ने बाध्यता रहेकाले स्वदेशमा रोजगारी सिर्जना गर्नेलाई मत दिने धारणा राख्नुभयो ।

यो उमेरमा छोराछोरीसँग टाढा बस्नुपर्ने बाध्यता छ, स्वदेशमा रोजगार दिए कसलाई विदेशिन मन हुन्छ ?”, उहाँले प्रश्न गर्नुभयो।आसन्न प्रतिनिधिसभाको निर्वाचनमा मतदान गर्दा स्वेदशमा युवा टिकाउने नेतालाई प्राथमिकतामा राख्ने तामाङले सुनाउनुभयो।

काठमाडौँ क्षेत्र नं ३ मा पुराना र नयाँ पार्टीका अधिकांश नयाँ नेताको अनुहार देखिन्छ । नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली कम्युनिष्ट पार्टी (नेकपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीका उम्मेदवार राजनीतिक परिवर्तनका लागि निर्वाचनमा सहभागी छन् । यही फागुन २१ गते हुने निर्वाचनमा राजनीतिक दल र स्वतन्त्र गरी २२ जनाले उम्मेदवारी दिएका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

काठमाडौँ–३ मा कांग्रेसले रमेश अर्याल, एमालेले रामेश्वर फुयाँल, रास्वपाले राजुनाथ पाण्डे, नेकपाले निरज लामा, उज्यालो नेपाल पार्टीले अध्यक्ष कुलमान घिसिङलाई उम्मेदवार बनाएको छ । कांग्रेस, एमाले, नेकपा, रास्वपाले विगतको निर्वाचनमा नदोहोरिएका अनुहारलाई उम्मेदवार बनाएको छ भने उज्यालो नेपाल पार्टी निर्वाचनका लागि पहिलो अनुभव बटुल्दै गरेको यो नयाँ अनुहार हो ।

यसअघि २०७९ को प्रतिनिधिसभाको निर्वाचनमा नेपाली कांग्रेसका सन्तोष चालिसे यस क्षेत्रबाट निर्वाचित हुनुभएको थियो । उहाँले १५ हजार १५८ मतले ल्याएर निर्वाचित हुनुभएको थियो । कांग्रेसका उम्मेदवार अर्यालले काठमाडौँ क्षेत्र–३ मा विगतका जनप्रतिनिधिले गरेका विकास र समृद्धिको कामलाई निरन्तरता दिँदै जनताको भावना अनुरुप विकासको मार्गचित्र तयार गर्ने बताउनुभयो ।

एमालेका उम्मेदवार फुयाँलले संविधानका अधिकार कार्यान्व्यन गर्न कानुन बनाउनु पर्ने, सुशासन, समृद्धि, युवालाई स्वदेशमा रोजगार र मुलुकलाई आत्मनिर्भर बनाउने जिम्मेवारीसहित आफूले उम्मेदवारी दिएको बताउनुभयो ।

रास्वपाका उम्मेदवार पाण्डेले ‘तपाईं भोट हाल्नुहोस्, हामी देश बदल्छौँ’ भन्ने भाव राख्दै मतदाताको घरदैलो पुग्नुभएको छ । उहाँले पछिल्लो समय युवाको सक्रियतामा विकास गर्ने उद्देश्य महत्वका साथ लिएको बताउनुभयो । अरुभन्दा फरक हुने भएकाले युवा सक्रियताले देश बनाउने विश्वासका साथ अब नेतृत्व बदलिने, मुलुक सञ्चालन प्रणाली बदलिने र यसले सकारात्मक परिवर्तन ल्याउने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

उज्यालोका नेपाल पार्टीका उम्मेदवार घिसिङले घोषणापत्र जारी गर्दै ‘गफ होइन कामः भाषण होइन परिणाम’ भन्ने मुख्य नारा समेटेर घरदैलो कार्यक्रममा सक्रियता बढाउनुभएको छ । नागरिकको भरोसा जित्ने काममा आफू र आफ्नो पार्टी समर्पित रहेको बताउँदै उहाँले जनताको मन जित्ने र जनमुखि काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।

निर्वाचन क्षेत्र नं ३ का निर्वाचन अधिकृत चमिला भट्टराईका अनुसार यहाँ पुराना र नयाँ पार्टीका उम्मेदवारबीच हुने प्रतिस्र्पर्धामा जनताले स्वःविवेक प्रयोग गरी मतदान गर्नुपर्ने छ । “अहिले उम्मेदवारहरू मतदाताको घरदैलोमा पुग्नुभएकोछ, मतदाता पनि उत्साहित देखिन्छन्”, उहाँले भन्नुभयो, “यद्यपि निर्वाचन आचारसंहिताभित्रै प्रचारप्रसार भए÷नभएकोमा हामी सचेत छौँ ।

काठमाडौँ–३ मा गोकर्णेश्वर नगरपालिकाका नौवटा वडा, कागेश्वरी मनोहरा नगरपालिका–१, २ र ३ नं वडा तथा काठमाडौँ महानगरपालिका–६ नं वडा पर्दछन् । निर्वाचन आयोगका अनुसार यो निर्वाचन क्षेत्रमा कूल मतदाताको सङ्ख्या ६४ हजार ४७९ रहेका छन् । यस क्षेत्रमा ७२ मतदान केन्द्र तोकिएको निर्वाचन अधिकृत भट्टराईले जानकारी दिनुभयो ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..