सल्यान, फागुन ६ गते ।प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै जाँदा सल्यानमा मतदान केन्द्रहरूको अनुगमनलाई तीव्र बनाइएको छ। एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको यहाँ कुल १ सय १७ मतदान स्थल र २ सय ५ मतदान केन्द्र निर्धारण गरिएको छ। तीमध्ये ४३ वटा मतदान स्थल ‘अति संवेदनशील’ सूचीमा परेका छन्।
सम्भावित सुरक्षा चुनौती, भौगोलिक विकटता र विगतका निर्वाचन अनुभवलाई आधार मानेर ती क्षेत्रहरूलाई अति संवेदनशील श्रेणीमा राखिएको हो। जिल्ला प्रशासन कार्यालय, निर्वाचन कार्यालय र मुख्य निर्वाचन अधिकृतको कार्यालयले संयुक्त रूपमा ती मतदान स्थलहरूको स्थलगत निरीक्षण गरी सुरक्षा अवस्था, पहुँच मार्ग, सञ्चार सुविधा तथा आपतकालीन व्यवस्थापनको अवस्थाबारे समीक्षा गरेका छन्।
प्रतिनिधि सभा निर्वाचन आउन अब केही दिन मात्र बाँकी रहँदा जिल्लामा चुनावी सरगर्मी बढेको छ। उम्मेदवारहरू विकास, रोजगारी, सडक सञ्जाल विस्तार, कृषि आधुनिकीकरण तथा आधारभूत सेवामा सुधारका प्रतिबद्धता लिएर मतदाताको घरदैलोमा पुगेका छन् । गाउँ–बस्तीमा चुनावी बहस, छलफल, भेटघाट र प्रचारप्रसार कार्यक्रम तीव्र बनेका छन्।
जिल्ला सुरक्षा समितिले मतदातालाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा मतदान गर्ने सुनिश्चितता दिन सुरक्षा व्यवस्थालाई प्राथमिकतामा राखेको जनाएको छ। संवेदनशील र अति संवेदनशील मतदान स्थलमा विशेष निगरानी, नियमित गस्ती, चेकजाँच तथा आवागमन व्यवस्थापनको योजना बनाइएको छ।
वनगाड कुपिण्डे नगरपालिका १२ का विमलराज डिसीले निर्वाचनप्रति मतदातामा उत्साह देखिएको बताउनुभयो। विगतका वर्षको तुलनामा यसपटक सुरक्षा व्यवस्थापन सुदृढ देखिएको उहाँको भनाइ छ। दार्मागाउँपालिका-१का लोकबहादुर ओलीले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न हुने विश्वास व्यक्त गर्दै सबै पक्ष संयमित र जिम्मेवार हुनुपर्ने बताउनुभयो।
सल्यानको भौगोलिक बनावट निर्वाचन व्यवस्थापनका लागि चुनौतीपूर्ण मानिएको छ। पहाडी तथा दुर्गम भूभाग, कच्ची सडक, कमजोर सञ्चार सञ्जाल र लामो पैदल दूरीका कारण कतिपय मतदान स्थलमा सामग्री ढुवानी तथा मतपेटिका सङ्कलन गर्न कठिन हुने देखिएको छ। केही दुर्गम मतदान स्थलका मतपेटिका सुरक्षित रूपमा सङ्कलन गर्न अर्को जिल्ला हुँदै ल्याउनुपर्ने अवस्था समेत रहेको छ।
प्रमुख जिल्ला अधिकारी महेन्द्रकुमार सापकोटाले संवेदनशीलताको स्तरअनुसार सुरक्षा प्रबन्ध मिलाइएको जानकारी दिनुभयो। अति संवेदनशील स्थलमा अतिरिक्त सुरक्षाकर्मी परिचालन, नियमित गस्ती तथा विशेष निगरानीको व्यवस्था गरिएको बताउनुभयो। आवश्यक परे हवाई तथा वैकल्पिक मार्ग प्रयोग गरी मतपेटिका सङ्कलन गर्ने तयारी समेत गरिएको उहाँको भनाइ छ।
जिल्लाका १ सय १७ मतदान स्थलमध्ये १७ वटा मात्र सामान्य श्रेणीमा परेका छन् भने बाँकी अधिकांश स्थल संवेदनशील र अति संवेदनशील सूचीमा रहेका छन्। त्यसैले सुरक्षा निकाय उच्च सतर्कतामा रहेका छन्। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल तथा निर्वाचन सुरक्षामा खटिने अस्थायी प्रहरीको परिचालन तयारी पूरा भएको जनाइएको छ।
जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख डा. हेमबहादुर केसीले सामान्य मतदान स्थलमा कम्तीमा तीन जना, संवेदनशील स्थलमा पाँच जना र अति संवेदनशील स्थलमा कम्तीमा सात जनासम्म सुरक्षाकर्मी परिचालन गरिने योजना बनाइएको जानकारी दिनुभयो। सुरक्षा निकायबिच समन्वयात्मक रूपमा परिचालन गरिने उहाँले बताउनुभयो।
जिल्लामा कुल १ लाख ६२ हजार ४ सय ४९ मतदाता रहेका छन्। तीमध्ये ८३ हजार ३ सय २१ पुरुष र ७९ हजार १ सय २८ महिला मतदाता रहेका छन्। प्रतिनिधि सभा सदस्य पदका लागि १४ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन्।
निर्वाचन नजिकिँदै जाँदा सुरक्षा तयारी, प्रशासनिक व्यवस्थापन र मतदाताको बढ्दो उत्साहले सल्यान चुनावमय बनेको छ। जिल्लामा शान्तिपूर्ण र व्यवस्थित रूपमा निर्वाचन सम्पन्न गर्ने लक्ष्यसहित सबै निकाय तयारी अवस्थामा रहेका छन्।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!













