02/17/2026, 16:57:56
मङ्गलबार, फागुन ०५, २०८२

बङ्गलादेशमा नयाँ युगको सुरुवात : तारिक रहमानसहितको शपथ


ढाका, फागुन ५ गते । बङ्गलादेशमा हालै सम्पन्न निर्वाचनपछि निर्वाचित सांसदहरू र भावी प्रधानमन्त्री तारिक रहमानले आज मङ्गलबार संसदको शपथ ग्रहण गर्नुभएको छ ।

सन् २०२४ को घातक जनविद्रोह र त्यसपछिको १८ महिना लामो अन्तरिम सरकारको शासनपछि यो देशमा पहिलो पटक निर्वाचित प्रतिनिधिहरूले कार्यभार सम्हालेका हुन्।

मङ्गलबार बिहान १०ः४३ बजे ढाकास्थित संसद भवन (जातीय संसद) को शपथ कक्षमा मुख्य निर्वाचन आयुक्त एएमएम नासिर उद्दीनले नवनिर्वाचित सांसदहरूलाई शपथ खुवाउनुभएको हो।

शेख हसिनाको १५ वर्षे शासनकाल र त्यसपछिको संक्रमणकालपछि बङ्गलादेश नेसनलिस्ट पार्टी (बीएनपी) का ६० वर्षीय नेता तारिक रहमानले देशको नेतृत्व सम्हाल्दै हुनुहुन्छ। उहाँ झण्डै १७ वर्षको निर्वासनपछि गत डिसेम्बरमा मात्र स्वदेश फर्किनुभएको थियो।

राष्ट्रपति मोहम्मद साहाबुद्दिनले आजै अपराह्न ४ः०० बजे संसदको दक्षिण प्लाजामा प्रधानमन्त्री र मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ खुवाउने कार्यक्रम रहेको छ। परम्परागत रूपमा राष्ट्रपति निवास (बंगभवन)मा हुने यो समारोह यस पटक संसदको खुला प्राङ्गणमा आयोजना गरिएको छ।

निर्वाचनको नतिजा र राजनीतिक परिदृश्य

गत फेब्रुअरी १२ मा भएको निर्वाचनमा बीएनपी नेतृत्वको गठबन्धनले २१२ सिटमा जित हासिल गर्दै स्पष्ट बहुमत प्राप्त गरेको छ।

यस्तै, जमात–ए–इस्लामी नेतृत्वको गठबन्धनले ७७ सिट जितेर ‘शान्तिपूर्ण र सैद्धान्तिक÷ प्रतिपक्षको भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएको छ।

अपदस्थ नेत्री शेख हसिनाको अवामी लिग पार्टीलाई भने निर्वाचनमा भाग लिन प्रतिबन्ध लगाइएको थियो। हसिना हाल भारतमा शरणमा हुनुहुन्छ ।

एकताको आह्वान

शपथ ग्रहणपछि संक्षिप्त सम्बोधन गर्दै भावी प्रधानमन्त्री रहमानले वर्षौँको राजनीतिक शत्रुताले विभाजित भएको देशलाई एकजुट बनाउन र ध्वस्त भएको अर्थतन्त्रलाई पुनर्जीवित गर्न सबै दलहरूलाई ‘एकजुट रहन’ आह्वान गर्नुभयो। उहाँले नयाँ सरकारको मुख्य प्राथमिकता कानुन व्यवस्थाको बहाली र विकास हुने बताउनुभयो।

भारतले बीएनपीको यो जितलाई दुई देशबीचको सम्बन्धमा ‘नयाँ अध्याय’ को रूपमा प्रशंसा गरेको छ। भारतीय लोकसभाका सभामुख ओम बिरला शपथ ग्रहण समारोहमा भाग लिन ढाका पुग्नुभएको छ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..