भक्तपुर, फागुन ५ गते । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनको प्रचारप्रसारमा जुटेका दलहरू सोमबारदेखि घरदैलो अभियान सुरु गरेका छन् । प्रतिनिधि सभाको निर्वाचनका लागि भक्तपुर क्षेत्र नं. १ र क्षेत्र नं. २ मा उम्मेदवारी दिएका मुख्य दलले घरदैलो कार्यक्रम सुरु गरेका हुन् । नेकपा (एमाले), नेपाली कांगे्रस, नेमकिपा, राप्रपा, रास्वपा लगायतका दलले निर्वाचनका दुवै क्षेत्रमा घरदैलो अभियान सुरु गरिसकेका छन् भने अन्य दल र स्वतन्त्र उम्मेदवारले पनि प्रचार-प्रसार तीव्र पारेका छन् ।
भक्तपुर क्षेत्र नं. २ मा चुनावी सरगर्मी बढेको छ । मुख्य प्रतिस्पर्धी दललाई चुनावी माहोलले तताएको छ । निर्वाचन नजिकिँदै गर्दा उम्मेदवारहरू जनता माझ पुगिरहनुभएको छ भने विकासका एजेन्डा बोकेर उम्मेदवारहरू घर घर टोल टोल पुग्न थालेका हुन् । भक्तपुर क्षेत्र नं. २ यस पटकको निर्वाचनमा निकै चासोको क्षेत्र बनेको छ । नेकपा (एमाले) का सचिव महेश बस्नेतको उम्मेदवारी रहेको यस क्षेत्रको निर्वाचन के हुन्छ भन्नेमा मतदाताबिच अडकलबाजी भइरहेको छ । सचिव बस्नेतले यस क्षेत्रबाट लगातार चौथो पटक प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिनुभएको छ ।
यसअघि विसं २०७० को निर्वाचनमा रामेश्वर ढुङ्गेलसँग पराजित हुनुभएका उहाँ २०७४ सालमा नेपाली कांग्रेसका उम्मेदवार दमननाथ ढुङ्गानालाई पराजित गर्नुभएको थियो । साथै २०७९ सालको निर्वाचनमा नेपाली कांग्रेसका दुर्लभ थापाले २४ हजार २३८ मत ल्याएर निर्वाचित हुँदा एमालेका महेश बस्नेतले भने २३ हजार २७९ मत ल्याएर बस्नेत पराजित हुनुभएको थियो । यस पटकको निर्वाचनमा बस्नेतसँगै नेपाली कांग्रेसको तर्फबाट पत्रकार कविर राणा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट पत्रकार राजीव खत्री र नेपाली कम्युनिस्ट पार्टीका रामप्रसाद सापकोटा (दीपशिखा) प्रतिस्पर्धामा हुनुहुन्छ ।
यस क्षेत्रमा २०४८ सालमा नेपाली कांग्रेसका जगन्नाथ आचार्य, २०५१ सालमा नेमकिपाका आशाकाजी वासुकला, २०५६ सालमा कांग्रेसका लेखनाथ न्यौपाने, २०६४ सालमा नेमकिपाका सुनील प्रजापति, २०७० सालमा नेपाली कांग्रेसका रामेश्वर ढुङ्गेल, २०७४ सालमा नेकपा (एमाले) का महेश बस्नेतले र २०७९ सालमा नेपाली कांग्रेसका दुर्लभ थापा निर्वाचित हुनुभएको थियो ।
एमालेका बस्नेत संमृद्ध र सुखी भक्तपुरको मुद्दा लिएर अगाडि बढ्नुभएको छ । नेपाली कांग्रेसका राणा भक्तपुरको सेरोफेरो विकास गर्ने एजेन्डा बोकेर जनतामाझ गएको बताउनुहुन्छ । भक्तपुर क्षेत्र नं. २ मा कांग्रेसको बलियो आधार रहेको, यसअघि पनि तीन पटक कांग्रेस विजयी भइरहेको क्षेत्र भएकाले आफ्नो जितको आधार भएको बताउनुभयो । चुनावी प्रचारमा तीव्रगतिमा लाग्दै टोल टोल मतदातामाझ पुग्नुभएका रास्वपाका उम्मेदवार एवं पत्रकार राजीव खत्री मतदाताले यस पटक नयाँलाई अवसर दिन माग गर्नुभएको छ ।
नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट उम्मेदवार हुनुभएका रामप्रसाद सापकोटा (दीपशिखा) ले पनि भक्तपुरको विकासलाई पहिलो प्राथमिकतामा राख्ने बताउँदै विभिन्न दलसँगको एकता र मतदाताको विश्वासले यस पटक क्षेत्र नं. २ मा पहिलो पटक आफू निर्वाचित हने दाबी गर्नुहुन्छ ।
भक्तपुर क्षेत्र नं. २ मा यस पटक नेपाल मजदुर किसान पार्टीबाट रमेश वैद्य, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट विक्रम थापा, उज्यालो नेपाल पार्टीबाट जितराम लामा, श्रम संस्कृति पार्टी अर्जुन वासु, त्रिमूल नेपालबाट राकेश श्रेष्ठ, नेपाल जनसेवा पार्टी जानुका पाठक, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट पत्रकार जन्मदेव जैसी, नेपाल कम्युनिस्ट पार्टी संयुक्त लोककृष्ण दाहाल, जनता समाजवादी पार्टी नेपालबाट नवीन श्रेष्ठ, नेकपा माओवादीबाट प्रकाशराज ढुङ्गेल, मङ्गोल नेसनल अर्गनाइजेसनबाट पेम्बा घले, नेपालका लागि नेपाली पार्टीबाट राजेश बाडे पनि मतदाताको घरदैलोमा गएर मत माग्न थाल्नुभएको छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!












