02/17/2026, 11:58:49
मङ्गलबार, फागुन ०५, २०८२

कार्यक्षेत्रमा खटिए निर्वाचन प्रहरी


सुर्खेत, फागुन ५ गते । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा आवश्यक सुरक्षा प्रबन्ध मिलाउन भर्ना गरिएका निर्वाचन प्रहरी कार्यक्षेत्रमा खटिएका छन् । सुर्खेतका दुई वटा निर्वाचन क्षेत्रमा रहेका प्रहरी युनिटमातहत हुने गरी एक हजार ८४६ जना निर्वाचन प्रहरी खटिएका हुन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार सोमबारदेखि निर्वाचन प्रहरीलाई आवश्यक तालिम प्रदान गरी सम्बन्धित कार्यक्षेत्रमा खटाइएको छ । सुर्खेतमा सशस्त्रमा २१२ जना र जनपदमा एक हजार ६२८ जना निर्वाचन प्रहरी भर्ना गरिएको थियो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) मोहनजङ्ग बुढथापाले निर्वाचन प्रहरीलाई भर्ना गरी निर्वाचनपूर्व आवश्यक पर्ने तालिम प्रदान गरी सोमबारदेखि कार्यक्षेत्रमा खटाइएको जानकारी दिनुभयो ।

उहाँले अबको १० देखि १५ दिनसम्म निर्वाचन प्रहरीलाई कार्यक्षेत्रमा पुगेर शान्ति-सुरक्षाका साथै मतदान स्थल र केन्द्रको सुरक्षा, गस्ती लगायतका काममा प्रहरीसँगै खटाइने बताउनुभयो । सुर्खेतको पञ्चपुरी नगरपालिकाको बाबियाचौर जान लागेका निर्वाचन प्रहरी प्रकाश बुढाले आफूले पाएको जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गर्ने बताउनुभयो । उहाँले निर्वाचनलाई सफल र शान्तिपूर्ण बनाउनका लागि आफ्नातर्फबाट सक्ने सम्पूर्ण शक्ति लगाउने भन्दै खुसीसाथ कार्यक्षेत्रमा जान लागेको बताउनुभयो ।

सुर्खेतका लागि आवश्यक मतपत्र लगायतका निर्वाचन सामग्री जिल्ला आइसकेका छन् । प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी नन्दप्रसाद चौलागाईंका अनुसार मतपत्र सुर्खेत आएर सम्बन्धित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पठाइसकिएको छ । मतपेटिका सुर्खेतमै पर्याप्त भएको र अन्य निर्वाचन सामग्री आउने क्रम जारी रहेको उहाँले बताउनुभयो ।

सुर्खेतमा एक लाख २१ हजार ८८९ जना पुरुष र एक लाख २७ हजार ५४ जना महिला गरी कुल दुई लाख ४८ हजार ९४३ जना मतदाता रहेका छन् ।