धनगढी, फागुन ५ गते । निर्वाचनको दिन नजिकिँदै जाँदा सुदूरपश्चिमको अस्थायी राजधानी एवं यस क्षेत्रको मुख्य व्यापारिक केन्द्र धनगढी क्षेत्र, कैलाली निर्वाचन क्षेत्र नम्बर ५ को चुनावी प्रतिस्पर्धा पेचिलो बन्दै गएको छ ।
अधिकांश दलका उम्मेदवारहरू पहिलो पटक आमने–सामने भएको यस क्षेत्रमा कांग्रेस, एमाले, नेकपा र रास्वपाका उम्मेदवारहरू आफू जित्ने दाबी गरिरहेका भएपनि भित्रभित्रै उनीहरू एक–अर्काको दबाबमा देखिएका छन् ।
आसन्न निर्वाचनका लागि प्रायः दलहरूले नयाँ उम्मेदवार मैदानमा उतारेका छन् । कांग्रेसले मैदानमा उतारेका नरनारायण शाह (मनु) संसदीय निर्वाचनमा पहिलो पटक उम्मेदवार बनेका हुन् । एमालेले उम्मेदवार बनाएका यज्ञराज ढुंगाना समेत संसदीय प्रतिस्पर्धा पहिलो पटक मैदानमा छन् । उता, डोटीबाट लगातार तीन पटक निर्वाचित भएका प्रेम आले मगर डोटी छाडेर पहिलो पटक धनगढीलाई प्रतिस्पर्धाको मैदानका रूपमा रोजेका छन् । उनलाई नेपाली कम्युनिस्ट पार्टीबाट उम्मेदवार बनाएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट पनि नयाँ अनुहार छन् । यसअघि प्राध्यापन पेसामा रहेका आनन्दबहादुर चन्द रास्वपाका उम्मेदवार हुन् । कैलाली ५ मा यिनै चार दलका उम्मेदवारबीच रोचक प्रतिस्पर्धा हुन लागेको धेरैको अनुमान छ । राप्रपाले रोशन शाहीलाई उम्मेदवार बनाएको छ । स्वतन्त्र उम्मेदवारी दिएका प्यारेलाल रानाको पनि आफ्नै दाबी छ ।
धनगढी क्षेत्रको निर्वाचन नतिजा हरेक निर्वाचनपिच्छे फरक हुँदै आएको छ । अर्थात्, कुनै पनि दल वा पार्टीले लगातार दुई वटा निर्वाचन जितेको छैन । यस क्षेत्रमा ०१५ सालयता भएका नौ वटा (उपनिर्वाचनसहित) संसदीय निर्वाचनमा ६ पटक नेपाली कांग्रेस र तीन पटक निर्वाचनमा वामपन्थी उम्मेदवार विजयी भएको पृष्ठभूमि छ । ०५१ सालको मध्यावधि, ०६४ को संविधान निर्वाचन र ०७४ मा वामपन्थी उम्मेदवार विजयी भएका थिए ।
त्यस बाहेकका निर्वाचनहरू ०१५, ०४८, ०५६, ०७०, ०७१, ०७९ मा कांग्रेसका उम्मेदवार विजयी भएका थिए । ०१५ सालमा कांग्रेसका लोकेन्द्रबहादुर शाह, ०४८ मा कांग्रेसका टेकबहादुर चोख्याल, ०५१ मा एमालेका महेश्वर पाठक, ०५६ मा कांग्रेसका टेकबहादुर चोख्याल, ०६४ मा माओवादीका लीला भण्डारी, ७० शेरबहादुर देउवा, ०७१ को उपनिर्वाचनमा कांग्रेसका पुष्करनाथ ओझा, ०७४ मा एमालेका नारदमुनि राना र ०७९ कांग्रेसका डिल्लीराज पन्त विजयी भएका थिए ।
आसन्न निर्वाचनमा धनगढीको चुनावी मैदान धेरैजसो उम्मेदवारहरू लागि पहिलो पटक हो । सांगठनिक मजबुतीमा रहेका एमाले, कांग्रेस र नेकपाका उम्मेदवारहरूलाई संगठन नै नफैलिएको रास्वपाका उम्मेदवारले कडा चुनौती दिइरहेको स्थानीयको बुझाइ छ ।
कांग्रेस उम्मेदवार नरनारायण शाह (मनु) का लागि राजनीतिक परिवारको विरासत र पार्टीको सांगठनिक आधारले मुख्य लाभ दिएको छ । उनी ०१५ को आमनिर्वाचनमा कांग्रेसबाटै निर्वाचित लोकेन्द्रबहादुर शाहका नाति, ०४९ मा जिविस कैलालीका सभापति मोहनबहादुर शाहका छोरा हुन् । त्यही राजनीतिक परिवारको विरासतलाई निरन्तरता दिएका ५८ वर्षीय शाह आफू पनि लामोसमदेखि कांग्रेस कैलालीको राजनीतिमा सक्रिय नेता हुन् । पहिलो पटक संसदीय राजनीतिको प्रतिस्पर्धामा होमिएका उनले भारतस्थित लखनउ विश्वविद्यालयबाट स्नातक अध्ययन गरेका छन् । तरुण दल कैलालीका अध्यक्ष हुँदै कांग्रेस कैलालीको सहसचिव र दुई पटक सभापतिको राजनीतिक यात्रा गरेको अनुभव शाहसँग छ ।
विभिन्न सामाजिक कार्यहरुमासमेत संलग्न रहँदै आएका शाह विगतमा नेपाल भारत मैत्री संघ कैलाली, नेपाल रेडक्रस सोसाइटी उद्योग वाणिज्य संघ, एमनेस्टी इन्टरनेसनल, कैलाली जनपुस्तकालय, धनगढी जेसिस, खेलकुद समितिहरूमा क्रियाशील रहँदै आएकाले उनी धनगढीको समाजमा घुलमिल भएको पात्र मानिन्छन् । तर कांग्रेसभित्रको आन्तरिक खटपट, विगतमा कांग्रेस रहेका संविधानसभा सदस्य प्यारेलाल रानाले स्वतन्त्रबाट उम्मेदवारी दिनु शाहका लागि चुनौती हुन् ।
गरिबीको रेखामुनि रहेका नागरिकहरूको जीवनस्तर उकास्नु र युवाहरू विदेश पलायन रोक्नु मुख्य आफ्नो एजेन्डा रहेको उनको भनाइ छ । धनगढी उपमहानगरपालिकालाई महानगरपालिकामा स्तरोन्नति गर्ने, भूमिहीन, सुकुम्बासीलाई लालपुर्जा वितरण, आधुनिक सूचना प्रविधि पार्क स्थापना, युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्न सीपमूलक तालिम, सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई पूर्ण क्षमतामा सञ्चालन गरी चिकित्सा शिक्षा अध्यापन सुरु गर्ने, धनगढी रंगशालालाई आधुनिक रंगशालाको रूपमा विकास गर्ने, नगर स्वास्थ्य केन्द्रमा विशेषज्ञ चिकित्सकको व्यवस्था गर्नेलगायत शाहले चुनावी प्रतिबद्धता सार्वजनिक गरेका छन् ।
अर्का प्रतिस्पर्धी एमाले उम्मेदवार ४६ वर्षीय यज्ञराज ढुंगाना नेकपा एमाले कैलालीको जिल्ला अध्यक्षका रूपमा नेतृत्व गरिरहेका नेता हुन् । उनी धनगढीस्थित नवजीवन अस्पताल सञ्चालकका रूपमा पनि सामाजिक क्षेत्रमा जोडिएका पात्र हुन् । पहिलो पटक संसदीय चुनावमा प्रतिस्पर्धी बनेका ढुंगाना विद्यार्थी राजनीति हुँदै पार्टी राजनीतिमा सक्रिय छन् । कैलाली बहुमुखी क्याम्पसबाट अर्थशास्त्रमा स्नातक तहसम्म अध्ययन गरेका उनी ०५७ सालमा अनेरास्ववियु कैलालीको अध्यक्ष, ०६३ मा अनेरास्ववियुको केन्द्रीय सदस्य र त्यही वर्ष कैलाली बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको सभापति निर्वाचित भएका थिए । गुटैगुटको आन्तरिक राजनीतिमा जेलिएको कैलाली एमालेबाट उम्मेदवार ढुंगानाकासामू पार्टीभित्रका असन्तुष्ट पक्षहरूलाई मिलाएर चुनावी मैदानमा मत संकलन गराउनु मुख्य चुनौती देखिएको छ ।
ढुंगानाले चुनावी ऐजेन्डाका रूपमा स्टार्टअप कर्जाको दायरा विस्तार, ‘एक युवा, एक रोजगार’ अभियान, मार्फत पाँच वर्षमा कम्तीमा पाँच हजारलाई रोजगारी, धनगढी उपमहानगरपालिकालाई महानगरपालिकामा स्तरोन्नति गर्ने, वडा तहमा इन्टरनेट तथा आईटी सेवा विस्तार, शिक्षा र स्वास्थ्य क्षेत्रमा डिजिटल पूर्वाधार, प्रभावकारी स्वास्थ्य बिमा, सेती प्रादेशिक अस्पताललाई संघीय सरकार मातहत, गेटामा एमबीबीएस अध्ययन सञ्चालन, औद्योगिकरणमार्फत स्वदेशमै रोजगारी सिर्जना, कृषिमा आधुनिकीकरण, सडक, खानेपानी, खेल मैदान तथा सहरी विकासलाई प्राथमिकतामा राखेका छन् ।
रास्वपाबाट चुनावी मैदानमा आनन्दबहादुर चन्द छन् । त्रिभुवन विश्वविद्यालय अन्तर्गत पाटन बहुमुखी क्याम्पसमा १७ वर्ष प्राध्यापन गरेका चन्द प्राध्यापन पेसा छाडेर राजनीतिमा होमिएका छन् । जैविक रसायनशास्त्रमा स्नातकोत्तर र अमेरिकाको नर्थ क्यारोलिना ए एन्ड टी स्टेट युनिभर्सिटीसँग सहकार्यमा विद्यावारिधि पूरा गरेका उम्मेदवार चन्द रास्वपाको संगठन नभएपनि ‘घण्टी’ प्रति भित्रभित्रै स्वस्फूर्त रूपमा चलिरहेको लहर र नवयुवाहरूमा देखिएको आकर्षण र भरोसाको लाभमा छन् ।
नसर्ने रोगका विषयमा आयरल्यान्डदेखि नेदरल्यान्ड्स, दक्षिण अफ्रिकादेखि बेलायत, मेक्सिको र इन्डोनेसियासम्मका अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गरेका चन्द नेपाल खाद्य संस्थानको अध्यक्ष, बीपी कोइराला मेमोरियल प्लानेटेरियम अब्जरभेटरी एन्ड साइन्स म्युजियम विकास बोर्डका कार्यकारी निर्देशकका रुपमासमेत कार्य गरेको अनुभव भएका ५० वर्षीय चन्द शिक्षा, स्वास्थ्य क्षेत्रमा क्रियाशील अनुसन्धानदाता भएपनि लामो समय धनगढी बाहिर बसेकाले धनगढीका मतदाताका लागि नयाँ अनुहार हुनु उनको सबैभन्दा ठूलो चुनौतीका रूपमा रहेको कतिपयको बुझाइ छ । तर परिवर्तनप्रति लहर देखिएको बताउँदै चन्द आफूले चुनाव जित्नेमा कुनै द्विविधा नरेको बताउँछन् ।
मत माग्नका लागि उम्मेदवारले झुटा आश्वासन, महत्त्वाकांक्षी घोषणा र नारा भन्दा पनि ‘सही नीति’ नै देश विकासको मुख्य आधार हुने उनको विश्वास छ । ‘अहिलेको मुख्य आवश्यकता राज्यका निकायमा हुने बेथितिको अन्त्य चाहिएको छ । जनप्रतिनिधिका रूपमा मेरो प्राथमिकता त्यही हुनेछ,’ चन्दले भने ‘पूर्वाधार विकासका साथै भ्रष्ट्राचार नियन्त्रण र सुशासन मेरो पहिलो प्राथमिकता हो ।’
नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार ५४ वर्षीय प्रेमबहादुर आले संसदीय राजनीतिका पाका खेलाडी हुन् । ०५४ सालमा तत्कालीन डोटी जिल्ला विकास समिति (जिविस) सदस्य निर्वाचित भएर जनप्रतिनिधिको मार्गमा पाइला टेकेका आले ०७९ सहित तीन पटक लगातार डोटीबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए ।
पहिलो पटक तराईको चुनावी भूगोल रोजेका आलेका लागि कति सहज होला ? कैलाली ५ का रानाथारु समुदाय र सहरी मतलाई आकर्षित गर्नुपर्ने दबाब तथा तुलनात्मक रूपमा पार्टीको कमजोर सांगठिनक आधार रहेको यस क्षेत्रलाई रोजेर उनले चुनौतीपूर्ण बाटो तय गरेका छन् । डोटीबाट बसाइँसराइ गरी बसेका मतदाता, जनजातिको मत र विगतको चुनावी अनुभवलाई उनले मुख्य अस्त्र बनाएको देखिन्छ ।
अस्थिर राजनीतिक चरित्र र बेलगाम बोलीका कारण पदमा रहेका बेला अनेक चर्चा र विवादमा आइरहने नेता हुन् आले । पछिल्लो समय उनी आवद्ध एकीकृत समाजवादीमा पनि निष्क्रिय थिए । माओवादी केन्द्रसँगको एकीकरणका बेला पनि उनी सक्रिय थिएनन् । तर त्यही नेकपाबाट उनले फ्याट्ट टिकट ल्याएर टिकटका अन्य आकांक्षीहरुलाई जिल्ल पारे ।
०७७ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गर्दा सुरुमा विघटनको पक्षमा उभिएर बन मन्त्री बने । तर, दोस्रो पटक संसद् विघटन हुँदा उनले कित्ता परिवर्तन गरेर माधव नेपाल पक्षमा उभिएर संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भए । दुवै समयका मन्त्री कालमा उनी अनेक प्रकरणमा चर्चामा आइरहे । संस्कृति पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री भएका बेला नारायणहिटी दरबार संग्रहालयमा प्रकरण, पशुपति धर्मशाला प्रकरण, क्यासिनो प्रकरण होस् या नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्षसागको अश्लील गालीगलौजसहितको अडियो प्रकरण किन नहोस् सकारात्मक र आलोचनात्मक ढंगले चर्चामा आइरहे ।
आसन्न निर्वाचनमा आफ्नो प्रतिस्पर्धालाई उनले एक अग्निपरीक्षाका रूपमा लिएका छन् । यदि उनले कैलाली ५ जिते भने सुदूरपश्चिममै बलियो नेताको पहिचान बन्न सक्ने देखिन्छ । तर, पराजित भएमा उनको अपराजित संसदीय यात्रामा तत्कालका लागि ब्रेक लाग्ने छ ।
चुनावी एजेन्डा पनि खरो ढंगले प्रस्तुत गरिरहेका छन् उनी । धनगढीको विकासमा छलाङ मार्ने उनको दाबी छ । धनगढी विमानस्थल स्तरोन्नति, फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण, गेटा मेडिकल कलेज, सेती प्रादेशिक अस्पतालको स्तरोन्नतिलाई उनी मतदाताहरूमाझ जोडतोडले सुनाइरहेका छन् ।
आसन्न निर्वाचनका लागि कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा एक लाख १० हजार ५३९ मतदाता छन् । ०७९ को निर्वाचनमा प्रत्यक्षतर्फ कांग्रेस उम्मेदवारले जितेको यस क्षेत्रमा समानुपातिकतर्फ कांग्रेसले १५ हजार ११७, एमाले १४ हजार ३२१, माओवादी केन्द्रले ५ हजार ७३६, रास्वपाले ४ हजार ४५५ र एकीकृत समाजवादीले ९ सय १६ मत प्राप्त गरेका थिए । यस निर्वाचन क्षेत्रमा राप्रपाको उपस्थितिसमेत छ । गत निर्वाचनमा राप्रपाले समानुपातिकतर्फ ६ हजार ९४७ मत प्राप्त गरेको थियो ।
०७९ को स्थानीय तहको निर्वाचनमा क्षेत्र नम्बर ५ मा पर्ने धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमालले जित प्राप्त गरेका थिए । उपमेयरमा भने नेकपा (एमाले) का कन्दकला राना विजयी भएकी थिइन् ।
अर्कोतिर रानाथारु समुदायबाट विगतमा कांग्रेस नेता रहेका प्यारेलाल रानाले ‘विद्रोह’ गर्दै स्वतन्त्र उम्मेदवारी दिएका छन् । रानाले रानाथारु समुदायको मत जुटाउन सके कांग्रेस र एमालेलाई धक्का लाग्ने अनुमान गरिएको छ । त्यसमा पनि कांग्रेस उम्मेदवार नरनारायण शाह मनुलाई क्षतिको मात्रा बढी हुने कतिपयको आकलन छ । तर शाह भने रानाको उम्मेदवारीले वामपन्थी उम्मेदवारलाई क्षति पुग्ने दाबी गर्छन् ।
– अर्जुन शाह
What if you could work from Anywhere?
Explore More with something that can change your Life!












