02/16/2026, 22:47:10
सोमबार, फागुन ०४, २०८२

मापसे गरी स्कुल बस चलाउने पाँच चालक पक्राउ


लेखनाथ, फागुन ४ गते । मादक पदार्थ सेवन (मापसे) गरी स्कुल बस चलाउने पाँच चालकलाई कास्की प्रहरीले सोमबार पक्राउ गरेको छ ।

पोखराका विभिन्न स्कुल बसका चालकले मापसे गरी गाडी चलाउने गरेको गुनासो आएपछि प्रहरीले चेकजाँच गरेको थियो ।सोमबार बिहान साढे ९ बजे जिल्ला प्रहरी कार्यालय कास्की, ट्राफिक प्रहरीसहितको टोलीले मापसे परीक्षण गर्दा पाँच बसका पाँच चालकले मापसे गरेको भेटिएको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिनुभयो ।

प्रहरीले माउन्ट हेभन बोर्डिङ स्कुलको ग. १ क. ३६७४ नम्बरको बसका चालक पोखरा १५ बस्ने वर्ष ३३ का आनन्द परियार  र कुमुदिनी होम्स बोर्डिङ स्कुलको ग. १ क. १३८२ नम्बरको बसका चालक पोखरा ५ बस्ने ३७ वर्षका गौतम गुरुङलाई पक्राउ गरेको हो ।

बिन्देश्वरी स्कुल बोर्डिङ स्कुलको ग. १ क. ६२२१ नम्बरको बस चलाउने पोखरा १५ बस्ने वर्ष ४४ का भक्तबहादुर गुरुङ  र अञ्जुली बोर्डिङ स्कुलको ग. १ क. ६४०३ नम्बरको बसका चालक पोखरा १६ बस्ने वर्ष ४८ का डम्बरबहादुर गुरुङलाई पनि नियन्त्रणमा लिएको छ ।

blog

कास्कीका प्रहरी प्रवक्ता बस्नेतले एसओएस बोर्डिङ स्कुलको ग. १ क. ६४३३ नम्बरको बसका चालक पोखरा–१० बस्ने वर्ष ४७ का पदम विकलाई पनि नियन्त्रणमा लिइएको जानकारी दिनुभयो ।

पाँच बसका चालकहरूले मापसे सेवन गरेको देखिएकाले नियन्त्रणमा लिएर अनुसन्धान र कारबाही प्रक्रिया सुरु गरिएको बस्नेतले बताउनुभयो ।

– फडिन्द्र अधिकारी