लेखनाथ, माघ २६ गते । पोखराका सार्वजनिक ठाउँ र चोक चोकमा फोहोर फाल्न निषेध गरिएको सूचना देख्न सकिन्छ तर त्यही सूचनामुन्तिर फोहोरका थ्रुपा यत्रतत्र देखिन्छन् ।
पुस अन्तिम साताबाट फोहोर नउठेपछि पोखराका सडक, चोक र सार्वजनिक स्थलमा फोहोर थुप्रिएको छ । फोहोर व्यवस्थापन नहुँदा एकातिर सडक दुर्गन्धित हुन थालेको छ भने अर्कातिर पर्यटकीय नगरका बासिन्दा र पर्यटकसमेत दिक्क छन् । उत्तरमा लस्करै देखिने हिमाल र त्यसको प्रतिविम्ब फेवातालमा देखिएका तस्बिरले चर्चित हुने पोखराका अहिले फोहोरका तस्बिरहरू सामाजिक सञ्जालमा देखिन थालेका छन् ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउनुअघि पोखरा–१४, बाच्छेबुडुवाको सेनिटरी ल्यान्डफिल साइट बन्द गरिएको थियो । त्यसपछि पोखरा–३२ को लामेआहालमा अस्थायी ल्यान्डफिल बनाएको महानगरले स्थायी ल्यान्डफिलका लागि नयाँ ठाउँ पाएको छैन । लामेआहालको अस्थायी ल्यान्डफिल साइट पुस अन्तिम साता भरिएपछि त्यहाँ फोहोर लैजान बन्द भएको छ ।
महानगरका प्रमुख धनराज आचार्य, वडाध्यक्ष, कार्यपालिका सदस्यसमेत नयाँ ल्यान्डफिल क्षेत्रका लागि स्थान खोज्न लागिरहनु भएको छ । महानगरका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्याल ल्यान्डफिल साइटका लागि जग्गा खोज्ने क्रम जारी रहेको बताउनुहुन्छ ।
उहाँले भन्नुभयो, “आइतबार पनि हामीले जग्गा हेरेर आएका छौँ । स्थानीयको सहमति जुटिसकेको छैन ।” पर्यटकीय क्षेत्र लेकसाइड र मुख्य सडकमै फोहोर गनाउन थालेपछि केही फोहोर भने महानगरले खाल्डो खनेर सेती नदी किनारको शान्तिवन वाटिकभित्र गाडेको छ । महानगरले पोखराका ५० भन्दा बढी ठाउँमा ल्यान्डफिलका लागि हेरे पनि स्थानीयको अवरोधले प्रक्रिया अघि बढ्न सकेको छैन । दुई वर्षका लागि खोजिएको लामेआहालको अस्थायी ल्यान्डफिल साइट भरिनुअघि नै फोहोर प्रशोधन केन्द्र बनाउने तयारी भए पनि योजनाले सार्थकता पाएन ।
पोखराको झाँक्रीखोलामा बनाउने भनिएको फोहोर प्रशोधन केन्द्र स्थानीयको अवरोधले जग्गा प्राप्तिमै रोकिएको छ । पोखरा महानगरले वडा नम्बर ३३ मा ल्यान्डफिल साइट बनाउन गएको मङ्सिर २ गते टेरासोल्भ रिन्युवल नेपाल प्रालिसँग सम्झौता गरेको थियो । कम्पनीले २६ महिनामा ल्याडफिल बनाइसक्ने गरी सार्वजनिक निजी साझेदारीमा भएको सम्झौताको अवधि २१ वर्ष थियो ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी फोहोर व्यवस्थापनको उपाय चाँडै खोज्नुपर्नेमा बताउनुभयो । उहाँले भन्नुभयो, “चाँडै ल्यान्डफिल खोज्नुको विकल्प छैन । फोहोर व्यवस्थापनमा राजनीति वा अन्य स्वार्थ ल्याउनुभएन ।” सहरमा जताततै फोहोर थुप्रिए पर्यटन क्षेत्रमा समेत नकारात्मक सन्देश प्रवाह हुने उहाँको चिन्ता छ ।
पोखरा महानगरका पूर्वप्रमुख कृष्ण थापा पहिलो चरणमा नागरिकलाई बुझाउने र दोस्रो चरणमा नयाँ ल्यान्डफिल बनाउन लाग्नुपर्ने सुझाव दिनुहुन्छ । थापाको कार्यकालमा पोखरा–१४ मा नेपालको पहिलो सेनिटरी ल्यान्डफिल बनेको थियो ।
उहाँ भन्नुहुन्छ, “त्यहाँ पूर्वाधार थप गरेको भए अर्को २५/३० वर्ष फोहोर व्यवस्थापन गर्न मिल्थ्यो । अब वातावरणमैत्री प्रविधि अपनाएर अर्को ठाउँ खोज्नुको विकल्प छैन ।”
२०७८ सालको जनगणना अनुसार पोखरा महानगरको जनसङ्ख्या पाँच लाख १३ हजार पाँच सय चार छ । यहाँ अस्थायी रूपमा बसोबास गर्नेको सङ्ख्यासमेत उल्लेख्य छ । अहिले दैनिक सरदर दुई सय टन फोहोर जम्मा हुने गरेको महानगरको तथ्याङ्क छ ।
– फडिन्द्र अधिकारी
What if you could work from Anywhere?
Explore More with something that can change your Life!
















