मुक्तिनाथ (मुस्ताङ), माघ १४ गते । मुस्ताङमा वर्षासहित हिमपात भएको छ । गएराति मङ्गलबारदेखि तल्लो मुस्ताङमा पर्ने थासाङ, घरपझोङ र बारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा वर्षासहित हिमपात हुदाँ जनजीवन कष्टकर बनेको छ ।
हिमपातले वारागुङ मुक्तिक्षेत्र–४ कागबेनी हुँदै उपल्लो मुस्ताङ जोड्ने कागबेनी–लोमान्थाङ सडक र कागबेनी–मुक्तिनाथ सडकखण्ड समेत अवरुद्ध भएको छ । सदरमुकाम जोमसोमदेखि माथिल्लो क्षेत्रमा सवारीसाधनमा आवतजावत गर्ने यात्रुलाई सचेत रहन जिल्ला प्रहरी कार्यालय मुस्ताङले अनुरोध गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी सन्तोष बस्यालका अनुसार बेनी–जोमसोम सडकखण्ड पर्ने थासाङ र घरपझोङ गाउँपालिका क्षेत्रमा वर्षासहित सामान्य हिमपात भइरहेको छ । जिल्लाभर हिमपात भइरहेको खबर प्राप्त भएकाले प्रहरीले प्रहरी यूनिटमार्फत सतर्कताका लागि अपिल गरेको छ । ‘‘हिमपातका कारण सवारीसाधनमा आवतजावतमा समस्या हुन्छ, पर्यटकसहित स्थानीयलाई सुरक्षितस्थानमा बस्न अनुरोध गरेका छौँ ।’’

चारबर्ष पछि तल्लो मुस्ताङमा यस सिजनको दोस्रोपटक पटक हिमपात भएको छ । बारागुङ मुक्तिक्षेत्र–४, का वडा अध्यक्ष कर्म घ्यचो गुरुङका अनुसार कागबेनी–मुक्तिनाथ सडकखण्डमा करिब एक फिटको हिमपात भएको छ । हिन्दू तथा बौद्धमार्गीहरूको महत्त्वपूर्ण तिर्थस्थलको मुक्तिनाथ मन्दिरमा बिहानैदेखि बाख्लो हिमपातले मन्दिरमा दर्शन गर्न बिहानै पुगे लागि तीर्थयात्री तथा पर्यटकहरू समस्यामा परेका छन् ।
हिमपातका कारण मन्दिर, रानीपौवामा रहेका तिर्थयात्री तथा खिङ्गा क्षेत्रमा भारी हिमपात भइरहेको मुक्तिनाथ मन्दिर ब्यवस्थापन समितिका कार्यालय प्रमुख दिनेश भुसालले बताउनुभयो । भुषालले भन्नुभयो, ‘‘अहिले तिर्थालु मन्दिरमा जान सक्ने अवस्था छैन, सडक तथा मन्दिर क्षेत्रमा हिमपात भइरहेको छ ।’’
यसैबिच जिल्ला प्रशासन कार्यालयले हिमपातसँगै रोकिएका पर्यटकमा हाइअल्टिच्युड हुने सम्भावनालाई मध्यनजर गर्दै स्वास्थ्यकर्मी र हाइअल्टिच्युड सेन्टरलाई तयारी अवस्थामा राखेको छ भने उपल्लो मुस्ताङ क्षेत्रमा जाने सवारीसाधनलाई कागबेनीमा रोकिएको छ ।
– हरिकृष्ण शर्मा
What if you could work from Anywhere?
Explore More with something that can change your Life!















