01/28/2026, 20:38:28
बुधबार, माघ १४, २०८२

खराब मौसमका कारण अधिकांश उडान प्रभावित, वायुसेवा निगमको जहाज आकाशमै ‘होल्ड


काठमाडाैं, माघ १४ गते । प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित बन्न पुगेको छ । बुधबार बिहानैदेखि बाक्लो हुस्सु र शीतलहरका कारण काठमाडाैं उपत्यकासहित तराई क्षेत्रको वातावरण प्रभावित हुँदैगर्दा उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात भइरहेको छ । जसका कारण आन्तरिक उडानसँगै अन्तर्राष्ट्रिय उडानसमेत प्रभावित हुन पुगेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए)ले जनाएको छ ।

बाक्लो हुस्सुका कारण अधिकांश विमानस्थलहरूको भिजिविलिटी कम हुँदा उडान अवतरणमा समस्या भएको छ । अन्तर्राष्ट्रिय उडानतर्फ एयर इन्डिया बनारस ड्राइभर्ट भएको छ भने दोहा कतारदेखि काठमाडौं आइरहेको नेपाल एयरलाइन्सको जहाज आकाशमै होल्ड भएको विमानस्थलले जानकारी दिएको छ ।

यसैगरी आन्तरिक उडानतर्फ तराई क्षेत्रमा उडानका लागि तयारी अवस्थामा रहेका जहाजहरू खराब मौसमका कारण डिले हुन पुगेको विमानस्थलले जानकारी दिएको छ । बुद्ध एयरका दुईवटा फ्लाइट काठमाडौंदेखि भद्रपुर र एउटा तुम्लिनटारको उडान रोकिएको अवस्था छ । पोखरा, जनकपुर, भरतपुर र सिमराका फ्लाइटहरू समेत प्रभावित बनेको विमानस्थलले जनाएको छ ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..