बारा, माघ १४ गते । बारा जिल्लाको परवानीपुर गाउँपालिका–१, रहरियाडी टोलमा एकै परिवारका आमाछोराको हत्या भएको छ । अज्ञात व्यक्तिको आक्रमणबाट ५२ वर्षीया आमा र उहाँका ३२ वर्षीय छोरा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
प्रहरीका अनुसार बुधबार बिहान करिब ३ बजे अज्ञात व्यक्तिले धारिलो हतियार प्रयोग गरी मण्डल थरका परिवारमाथि आक्रमण गरेका थिए । उक्त घटनामा सोही परिवारका थप तीन जना गम्भीर घाइते भएका छन् ।
घाइते तीन जनाको परवानीपुरस्थित एलएस न्युरो अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक बिजयराज पण्डितले जानकारी दिनुभयो । घाइतेहरुको स्वास्थ्य अवस्थाबारे विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
हत्या कसले र किन गरेको भन्ने विषयमा हालसम्म खुल्न नसकेको र घटनाबारे गहिरो अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । यद्यपि अनुसन्धान प्रभावित हुन सक्ने भन्दै प्रहरी स्रोतले थप विवरण दिन अस्वीकार गरेको छ ।
घटनापछि स्थानीय क्षेत्रमा त्रासको वातावरण सिर्जना भएको छ भने प्रहरीले सम्भावित जोखिमलाई मध्यनजर गर्दै सुरक्षा सतर्कता कडा बनाएको जनाएको छ ।
– शिवशंकर मिश्रा
What if you could work from Anywhere?
Explore More with something that can change your Life!











