काठमाडौँ, माघ १४ : काठमाडौं महानगरपालिकाले पुतलीसडकबाट बागबजार हुँदै रत्नपार्क जाने सडकखण्डको टुकुचा खोलामा बक्स कल्भर्ट निर्माण गर्ने बताएको छ । बक्स कल्भर्ट निर्माणका क्रममा वैकल्पिक मार्ग प्रयोग गनुपर्नेसमेत महानगरले जनाएको छ ।
सार्वजनिक निर्माण विभागका सब इन्जिनियर दीपकबहादुर शाहीले उक्त ठाउँमा पानी निकासका लागि राखिएको ह्युम पाइप पुरानो भएको बताउँछन् । उनी भन्छन्, ‘बर्खाको समयमा पानीको बहाव रोकिएको अवस्था छ । सम्भावित डुबान र कटानको जोखिम घटाउन बक्स कल्भर्ट निर्माण गर्न लागिएको हो ।’
कल्भर्ट निर्माणको काम सुरु भएपछि सडकको आवागमन पूर्ण बन्द हुने शाहीले बताएका छन् । डिल्लीबजार, पुतलीसडक चोक हुँदै बागबजारतर्फ जाने र रामशाह पथ हुदौ पुतलीसडक बायाँ मोडिएर बागबजार जाने सवारी साधनका लागि वैकल्पिक मार्गको व्यवस्थापन गर्न ट्राफिक प्रहरी कार्यालयसँग समन्वयन गरेको शाहीले जानकारी दिए ।

यसको लागि दुवैतर्फ आउने सवारी साधनहरु कमलादी मोडमा पुगेर बायाँ मोडिँदै कमलादी गणेश मन्दिर, घण्टाघरतर्फको सडक उपयुक्त वैकल्पिक मार्ग बन्न सक्ने उनले बताए । काम सुरु भएको दुई महिनासम्म उक्त सडक खण्ड बन्द हुने जनाइएको छ । यसको सम्झौता रकम ५७ लाख ७२ हजार ६ सय ९४ रुपैयाँ रहेको महानगरले जनाएको छ । यसको लागत अनुमान भने ७० लाख ७२ हजार १ सय ८२ रुपैयाँ रहेको समेत बताएको छ । कर्ल्भट निर्माणको काम आउँदो चैत मसान्तरभित्र सम्पन्न गर्ने गरी सम्झौता भएको छ । महानगरका अनुसार उक्त कल्भर्ट सडकतर्फ ५ मिटर र पानी बहाव हुनेतर्फ १४ मिटर हुने छ ।

त्यस्तै धोबीखोला नदी खण्डको दोभान नपुग्दै रोजबड स्कुल नजिकसमेत बक्स कल्भर्ट निर्माण हुने छ । उक्त स्थानमा भएको फलामे पुल २०८० सालमा धोबीखोलाको बाढीले जगसहित क्षति गरेको वडा नम्बर ११ का अध्यक्ष हीरालाल तण्डुकारले बताए ।
‘पुल बनाउने भनेर विभिन्न निकाय आए । हामीलाई पुल बनाउनु थियो । त्यसैले जुन निकायले प्रस्ताव गर्दा पनि हुन्छ भन्यौ । तर कसैले बनाएनन्,’ उनले भने, ‘त्यसपछि वडाले निर्माण योजना बनाउँदै थियो । महानगरको केन्द्रीय बजेटबाट बनाउन सकिने भनेपछि त्यही प्रक्रियाबाट निर्माण हुन लागेको हो ।’
त्यसको सम्झौता रकम २ करोड २१ लाख २३ हजार ८ सय ९९ रुपौया रहेको महानगरले जनाएको छ । यसको लागत अनुमान भने ३ करोड ७१ लाख २३ हजार ९ सय ३५ रुपैयाँ रहेको छ । उक्त काम २०८३ पुस मसान्तरभित्र सम्पन्न गर्ने गरी निर्माण पक्षसँग सम्झौता भएको छ । उक्त कल्भर्टको लम्बाइ १७ मिटर र उचाइ ७ मिटरको हुने सूचनामा उल्लेख गरिएको छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!












