काठमाडौँ, माघ १४ गते । सेल्युलाइटिस’ भएपछि रास्वपा सभापति रवि लामिछाने मंगलबार साँझ महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना भएका छन् । अस्पतालले उनलाई हाडजोर्नी विभागअन्तर्गत भर्ना गरिएको र नसाबाट आईभी एन्टिबायोटिक्सको माध्यमबाट उपचार भइरहेको जनाएको छ ।
आगामी २१ फागुनको चुनावलाई लक्षित गर्दै रास्वपाले ५ माघमा परिवर्तन उद्घोसभा आयोजना गरेको थियो । यो कार्यक्रमलाई सम्बोधन गरेर फर्किने क्रममा लामिछानेको देव्रे खुट्टामा चोट लागेको थियो । भिडमा हिँड्दा लागेको चोटलाई उनले सामान्य मानेका थिए । तर पछि तर दुःखाइ बढ्दै गएपछि उनले चिकित्सकको सल्लाहमा घाउ सुकाउन एन्टिबायोटिक औषधि खाएका थिए । औषधि खाँदा पनि घाउ निको हुनुको साटो झन् बल्झिएपछि मंगलबार साँझ उनी त्रिवि शिक्षण अस्पताल भर्ना भएका हुन् ।
यसै सन्दर्भमा हामीले वरिष्ठ छाला तथा कस्मेटिक सर्जन प्रा.डा. सविना भट्टराईसँग सेल्युलाइटिस भनेको के हो र यो किन हुन्छ भनेर सोधेका छौँ ?
०००
सेल्युलाइटिस भनेको कस्तो रोग हो र यो के कारणले हुने गर्छ ?
ब्याक्टेरिया छालाको कुनै घाउ, चिरा वा चोटबाट भित्र पसेर त्यसले छालाको गहिरो तन्तुसम्म संक्रमण फैलाउँदा सेल्युलाइटिस हुने गर्छ । यो प्राय: गरी Streptococcu वा Staphylococcus नामक ब्याक्टेरियाले गराउँछ । तर, कुनै पनि कारणले बाहिर एक्सपोज हुने ठाउँहरूजस्तै खुट्टा, हात, अनुहारजस्ता ठाउँमा चोटपटक लाग्यो र त्यो चोट गहिरो छ भने सेल्युलाइटिस हुने जोखिम बढी हुन्छ ।
तर, यो सेल्युलाइटिस सबैलाई भइहाल्छ भन्ने हुँदैन । जसको शरीरमा रोगसँग लड्ने क्षमता कम छ, त्यस्ता व्यक्तिलाई यसको जोखिम बढी हुन्छ । चोटपटकसँगै कीराको टोकाइ र विभिन्न छालाको रोगका कारण पनि यो हुन सक्ने सम्भावना हुन्छ ।
सेल्युलाइटिस भएको कसरी थाहा पाउने ?
यदि घाउ भएको एरिया रातो हुँदै आयो, सुन्नियो, टनटनी दुख्यो, छुँदा पनि छाला तातो भएको छ, सुन्निएको ठाउँ पनि टलक्क टल्किएको छ भने सेल्युलाइटिस भएको हुन सक्छ । कतिपय अवस्थामा चाहिँ काम ज्वरो आउने र एक ठाउँमा चोट लागेको भए पनि पूरै एरिया सुन्निने अर्थात् यदि खुट्टामा चोट लागेको छ भने पूरै खुट्टा सुन्निने पनि हुन सक्छ ।
सानोतिनो चोटपटक त हाम्रो शरीरको रोगप्रतिरोधात्मक क्षमताका कारण निको भइहाल्छ । एन्टिबायोटिक्स खानै पर्दैन । तर, यदि रोग प्रतिरोधात्मक क्षमता कम छ, चोटपटक लागेपछि समयमा उपचार भएन, धेरै धपेडी भयो भनेचाहिँ ब्याक्टेरियाहरू थप मल्टिप्लाई हुँदै जान्छन् । ब्याक्टेरिया माथिको तहबाट ट्राभल गर्दै तलसम्म पुग्छ र इन्फेक्सन पनि तलसम्मै सर्छ । यस्तो अवस्थामा काम ज्वरो पनि आउन सक्छ ।
कस्ता व्यक्तिलाई सेल्युलाइटिस हुने जोखिम हुन्छ ?
सेल्युलाइटिस विशेष गरी रोग प्रतिरोधात्मक क्षमता कमजोर छ, डायबिटिज भएको छ, रक्तसञ्चारमा समस्या भएको मानिसलाई र मोटोपनाको मसस्या भएको मानिसलाई पनि यसको जोखिम बढी हुन्छ ।
मुख्य कुरा भनेको चोटपटक लाग्यो र प्रतिरोधात्मक क्षमतामा गडबडी भयो भने सेल्युलाइटिस हुने गर्छ । जस्तै, खाना समयमा भएन, सुत्ने समय मिलेन भने पनि ब्याक्टेरिया अझ फैलिन सक्छन् ।
कस्तो अवस्थामा अस्पताल जाने ?
घाउ लागेको ठाउँ धेरै सुन्नियो, टनटनी दुख्यो, ज्वरो आयो, सामान्य प्यारासिटामोल खादा दुखाइ कम भएन, चोट लागेको पूरै भाग सुन्नियो भने अस्पताल जानुपर्ने वा डाक्टरको परामर्श आवश्यक पर्छ । इन्फेक्सन बढ्दै गयो भने सेल्युलाइटिसबाट कहिलेकाही सेफ्टिसेमिया अर्थात् ब्लड भेसलहरूमा कीराहरू छिरे भने सिसेमिक इन्फेक्सनसमेत हुन सक्छ । त्यसैले आईभी एन्टिबायोटिक दिनुपर्ने अवस्थामा भने अस्पताल जानुपर्ने हुन्छ ।
निको हुन कति समय लाग्छ ?
डायबिटिज छैन र रोग प्रतिरोधात्मक क्षमता पनि राम्रो छ भने एन्टिबायोटिक्स चलाएको हप्ता १० दिनमा निको हुन सक्छ । तर, जोखिमपूर्ण समूहका व्यक्तिहरूमा भने अझ लामो समय लाग्न पनि सक्छ ।
यसको जोखिम भनेको कहिलेकाहीँ सेप्टिसेमियाा हुन सक्छ । यदि इन्फेसक्सन भित्रसम्म गयो भने त्यसलाई कन्ट्रोल गर्न अझ हायर एन्टिबायोटिक्सहरू चाहिने हुन सक्छ । टिस्यु नै मर्न सक्छ । हड्डीहरूमा समेत असर गर्न सक्छ ।
चोटपटक लाग्दा सेल्युलाइटिस हुन नदिन कस्तो सावधानी अपनाउने ?
कुनै पनि घाउलाई साधारण भनेर नछोड्नु होस् । गहिरो चोट छ भने नुहाउने साबुनले नै भए पनि सफा गरेर हरेक दिन घाउ कस्तो भएको छ भनेर निगरानी गर्ने गर्नुहोस् । तर, घाउ लागेको ठाउँ रातो हुन लाग्यो, सुन्निन थाल्यो, असाध्यै दुख्न थाल्यो, पिप बग्न थाल्यो भने सावधानी अपनाउनुपर्छ । बेलैमा अस्पताल गएर डाक्टरसँग परामर्श लिइहाल्नुपर्छ । डाक्टरको सुझावअनुसार औषधि सेवन गर्दा यसबाट बच्न सकिन्छ ।

What if you could work from Anywhere?
Explore More with something that can change your Life!












