01/28/2026, 20:38:38
बुधबार, माघ १४, २०८२

काठमाडौं महानगरले ७ दिनभित्र शिक्षक र विद्यार्थीको डिजिटल हाजिर कार्यान्वयनमा ल्याउने


काठमाडौँ, माघ १४ : काठमाडौं महानगर कार्यवाहक मेयर सुनिता डंगोलले शैक्षिक सुधारको लागि सामुदायिक विद्यालयका शिक्षक, कर्मचारी र विद्यार्थीहरूको हाजिरी ७ दिनभित्र पूर्ण रूपमा डिजिटल बनाउन निर्देशन दिएकी छिन् ।

चालु आर्थिक वर्षमा सम्पन्न काम साथै थालिएका असल अभ्यासको जानकारी लिँदै डंगोलले शिक्षा विभाग र सूचना प्रविधि विभागलाई निर्देशन दिएकी छिन् । विभागीय र क्षेत्रगत कामको नतिजाका लागि नीतिगत रूपमा गर्नुपर्ने सहजीकरण विषयमा जानकारी लिने क्रममा मंगलबार डंगोलले शिक्षा विभागका अधिकारीसँग छलफलमा जुटेकी थिइन् ।

नियमितता विद्यार्थीको मात्र होइन । शिक्षक र कर्मचारीको पनि चाहिन्छ । दिवा खाजालाई डिजिटल हाजिरीसँग आबद्ध गराउनुपर्छ । एसईईको नजिक आउन लागेका छौँ । गत वर्ष प्राप्त नतिजा क्रमशः बढाउँदै लैजानुपर्छ,’  उनले भनिन्,  ‘तयारी कक्षा,अतिरिक्त कक्षा, शिक्षक र कक्षा थप लगायत आवश्यक पर्ने कुनै पनि काममा कमजोरी हुन नदिनु तथ्यले नतिजामा सुधार देखाउनुपर्छ । यसमा छुट सुविधा कसैलाई दिनु हुँदैन ।

छलफलका क्रममा भृकुटीमण्डपमा रहेको पुस्तकालयमा गरिएको सहयोगबाट प्राप्त भएको नतिजा, सामुदायिक विद्यालयको पूर्वाधार परीक्षणको प्रतिवेदन, शिक्षामा सीपलगायत कार्यक्रमको गुणस्तर र यसको सुधारका पक्षमा छलफल भएको थियो ।

साथै दर्ता भएका तर,सञ्चालनमा नरहेका विद्यालयको खारेज प्रक्रिया,सामाजिक विकास विभागअन्तर्गत व्यवसायमा दर्ता भएर सञ्चालित प्रारम्भिक बाल विकासका कक्षाहरूको व्यवस्थापन, विद्यालय स्तरका खेल र अतिरिक्त क्रियाकलाप लगायत विषय समेटिएका थिए ।

छलफलका क्रममा प्रशासकीय अधिकृत सरोज गुरागाईं, प्रशासन विभागका प्रमुख ध्रुवकुमार काफ्ले, सूचना प्रविधि विभाग प्रमुख अनिरुद्र नेपालसहित अधिकारी सहभागी रहेका थिए ।