01/15/2026, 20:03:35
बिहिबार, माघ ०१, २०८२

जङ्गली हात्ती गाउँमा पस्दा तीन घरमा क्षति


ढल्केबर, माघ १ गते । धनुषाको धनुषाधाम नगरपालिका–६, हरिपुर गाउँमा जङ्गली हात्तीले तीन वटा घरमा क्षति पुर्‍याएकाे छ । बुधबार राति करिब ११ बजे गाउँ चार वटा जङ्गली हात्ती गाउँ प्रवेश गरेर तीन वटा घरमा क्षति पुर्‍याएकाे हो ।

इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक लक्ष्मण केसीका अनुसार हात्तीले सुकुमाया मिजार, प्रेम लामा र खले मिजारको कच्ची घरमा क्षति पु¥याएका हुन् । हात्तीले घरको कच्ची बेरा भत्काएर भित्र भण्डारण गरी राखिएको अन्न तथा जाँड बनाउन राखिएको कच्चा पदार्थ खाइदिएको प्रहरीले जनाएको छ । घटनामा मानवीय क्षति भने नभएको प्रहरीको भनाइ छ ।

रातिको समयमा हात्ती गाउँ पसेको सूचना पाउनासाथ प्रहरी टोली घटनास्थल पुगेको र स्थानीयवासीको सहयोगमा हात्तीलाई गाउँबाट धपाइएको प्रहरी निरीक्षक केसीले बताउनुभयो । हात्ती गाउँबाट केही टाढा रहेको आँप बगान क्षेत्रमा गएर बसेको बताइएको छ ।

स्थानीय खले मिजारले हात्तीले घर भत्काउन थालेपछि ज्यान बचाउन घर छोडेर भागेको बताउनुभयो । हात्तीले घरको बेला भत्काएर भकारीमा भएको धान खाइदिएको उहाँले जानकारी दिनुभयो ।

डिभिजन वन कार्यालय धनुषाका वन अधिकृत अनिल साहले हात्ती अझै गाउँ नजिकै नै रहेकाले पुनः गाउँ पस्न सक्ने जोखिम रहेको बताउनुभयो । उहाँले स्थानीयलाई रातको समयमा विशेष सतर्कता अपनाउन, एक्लै बाहिर ननिस्कन र हात्ती देखिए तत्काल प्रहरी तथा वन कार्यालयलाई जानकारी गराउन आग्रह गर्नुभयो ।

– विजयकुमार साह