01/05/2026, 15:50:36
सोमबार, पुष २१, २०८२

वीरगञ्जमा विरोध प्रदर्शनमा झडप हुँदा प्रहरीले चलायो अश्रुग्यास


वीरगञ्ज, पुस २० गते  । पर्साको वीरगञ्जमा विरोध प्रदर्शनको क्रममा प्रहरीसँग झडप हुँदा प्रहरीले केही अश्रुग्यास प्रहार गरेको छ ।

आइतबार बिहानैदेखि मुस्लिम समुदायले बिहानैदेखि सडकमा टायर बालेर प्रदर्शन गरेका हुन् । वीरगञ्जको घण्टाघर, मुर्ली, मालपोत चोक, छपकैया इदगाह चोक लगायतका स्थानमा उनीहरूले सडकमै टायर बालेर नाराबाजी गरेका थिए ।

छपकैयाको इदगाह चोकमा प्रदर्शनकारी र प्रहरीबीच सामान्य झडप समेत भएको थियो। प्रदर्शन उग्र बनेपछि स्थिति नियन्त्रणमा लिन ५ राउण्ड अश्रू ग्यास प्रहार गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदीपराज पाठकले जानकारी दिए ।

‘प्रदर्शनका कारण केहिबेर तनाव उत्पन्न भएको थियो, अहिले स्थिति नियन्त्रणमा छ,’ उनले भने । प्रदर्शनकारीले इदगाहचोकमा आगो बालेर त्रिभुवन राजपथ सडक अवरूद्ध गरेपछि वीरगञ्ज महानगरपालिकाको दमकलले आगो निभाएर बाटो सञ्चालन गरेको थियो ।

शनिबार धनुषाको धनुकमला नगरपालिका–६,सखुवा मरानस्थित मस्जिदमा अज्ञात समूहले तोडफोड गरेको थियो । सामाजिक सञ्जालमार्फत उक्त घटना फैलिएपछि वीरगञ्जमा पनि प्रदर्शन भएको हो । प्रदर्शनमा सहभागी अगुवाहरूले तोडफोड गर्नेलाई तत्काल पक्राउ गरी कारबाही गर्नुपर्ने माग राखेका छन् ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..