01/01/2026, 11:27:02
बिहिबार, पुष १७, २०८२

धनुषामा अनलाइन ठगी गर्ने गिरोह पक्राउ

वैदेशिक रोजगारीमा रहेका व्यक्तिहरूले आफन्तको नाममा रेमिट्यान्समार्फत पठाएको रकम निकाल्ने क्रममा सेवाग्राहीबाट नागरिकताको प्रतिलिपी तथा अनधिकृत रूपमा फोटो सङ्कलन गरी ती कागजातको दुरुपयोग गर्दै सिम कार्ड निकालेर वालेट खाता खोली क्यूआर कोडमार्फत अनलाइन ठगी


जनकपुरधाम, पुस १७ गते । धनुषा प्रहरीले डिजिटल वालेटमार्फत अनलाइन ठगी गर्ने ६ जना गिरोहलाई पक्राउ गरेको छ । धनुषा जिल्ला प्रहरी कार्यालयद्वारा बुधबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा डिजिटल वालेट मार्फत क्यूआर कोड दुरुपयोग गरी सर्वसाधारणलाई ठगी गर्दै आएको एक गिरोहलाई पक्राउ गरेको जनाएको हो ।

प्रहरीका अनुसार वैदेशिक रोजगारीमा रहेका व्यक्तिहरूले आफन्तको नाममा रेमिट्यान्समार्फत पठाएको रकम निकाल्ने क्रममा सेवाग्राहीबाट नागरिकताको प्रतिलिपी तथा अनधिकृत रूपमा फोटो सङ्कलन गरी ती कागजातको दुरुपयोग गर्दै सिम कार्ड निकालेर वालेट खाता खोली क्यूआर कोडमार्फत अनलाइन ठगी गर्दै आएको गिरोहका एक समूह प्रक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा धनुषाधाम नगरपालिका–९ धारापानी चौकस्थित मामा भान्जा ट्रेडर्स (आइएमई) का सञ्चालक विनोद भन्ने विशाल भुजेल, सोही स्थानका दिपशिखा मोबाइल पसलका सञ्चालक सन्तोष मण्ड, धनौजी गाउँपालिका–२ का साधु राम ररुपेशकुमार साह, जनकपुरधामस्थित शिव चौक क्षेत्रमा डेरा गरी बस्ने बलराम मण्डल र निक्कीकुमार राम रहेका छन् ।

ति गिरोहको साथमा विभिन्न कम्पनीका १९ थान मोबाइल, चार थान ल्यापटप, एप्पल कम्पनीको आइ प्याड एक थान, ठगी कार्यमा प्रयोग भएका सिम कार्डहरु २० थान, इन्टरनेटको राउटर तीन थान र सिम कार्डका विवरण खुल्ने ५५ थान कभर बरामद गरिएको धनुषाका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता गणेशबहादुर बमले बताउनुभयो ।

प्रवक्ता बमका अनुसार आईएमईबाट रकम निकाल्न आउँदा नागरिकताको प्रतिलिपि र फोटो आवश्यक पर्ने भन्दै विशेष गरी महिलालाई झुक्याएर कागजात सङ्कलन गरिएको थियो । ती कागजातको दुरुपयोग गरी अनाधिकृत रूपमा वालेट खाता सञ्चालन गरी ठगी गरिएको पाइएको हो ।

उहाँले भन्नुभयो, “रेमिट्यान्सबाट पैसा निकाल्दा फोटो आवश्यक हुँदैन, तर ती मनी चेन्जरले जानाजानी फोटो अनिवार्य गरेका थिए । उनीहरूले विशेष गरी महिलालाई लक्षित गरेका थिए । यस गिरोहमा सूचना प्रविधि तथा प्रविधिसँग नजिक भएका व्यक्तिहरू संलग्न रहेकाले यस्तो ठगी सम्भव भएको हो ।

अनुसन्धानका क्रममा विभिन्न व्यक्तिको नाममा खोलिएका वालेट अकाउन्टबाट हालसम्म ३९ लाख २० हजार ६५ रुपियाँभन्दा बढीको कारोबार भएको पाइएको छ । धारापानी क्षेत्रका २९ जनाको नाममा खोलिएका अकाउन्टमा करिब ४ लाख रुपैयाँ हाल पनि ब्लक अवस्थामा रहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाविरुद्ध हाल तीन जनाले जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दिएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी गणेश बहादुर बमले जानकारी दिनुभयो ।

ठगी गर्ने तरिका

प्रहरीका अनुसार क्यूआर सेवा केन्द्रका सञ्चालकले प्रति अकाउन्ट एक हजार पाँच सयदेखि २ हजार रुपियाँ लिएर अनाधिकृत वालेट अकाउन्ट सञ्चालन गरी मोबाइल पसले सन्तोष मण्डललाई उपलब्ध गराउने गरेका थिए । सन्तोष मण्डलले सेवाग्राहीको मागभन्दा बढी सिम कार्ड दर्ता गरी ती सिम प्रयोग गरेर अकाउन्ट भेरिफिकेसन तथा क्यूआर कोड तयार गरी साधु रामलाई बिक्री गर्ने गरेका थिए ।

साधु रामले ती अकाउन्ट आफ्नै मोबाइलमा लगइन गरी अन्य ठगीमा संलग्न व्यक्तिहरूलाई पठाउने, प्राप्त रकमबाट २५–३० प्रतिशत कमिसन राखी बाँकी रकम वितरण गर्ने गरेको खुलेको छ ।

त्यसैगरी बलराम मण्डल, रुपेश र निक्कीले सामाजिक सञ्जालमा नक्कली फेसबुक आईडी बनाएर लत्ता–कपडा, फर्निचर, मोटरसाइकल लगायतका सामग्रीको विज्ञापन गरी सर्वसाधारणलाई ठगी गर्ने गरेका थिए ।

– लक्ष्मी चौधरी