
काठमाडौँ, फाल्गुन ३ : उद्योगी एवं राजनीतिकर्मी विनोद चौधरी नेपालका एक मात्र खर्बपति हुन् । पछिल्लो डेढ दशकदेखि उनी राजनीतिको केन्द्रमा छन् । दुई पटक समानुपातिक र एक पटक प्रत्यक्ष निर्वाचित हुादै उनी तीन पटक सदनमा पुगेसकेका छन् । कांग्रेसको विशेष महाधिवेशनअघि राजनीतिबाट बाहिरिने सोच बनाएका चौधरी अहिले कांग्रेसको केन्द्रीय सदस्य मात्र बनेका छैनन्, संसदीय निर्वाचनमा नवलपरासीबाट दोस्रो पटक प्रतिस्पर्धा गर्दै छन् ।
नेपालमा चुनावी रौनक, राजनीतिक दलले घोषणापत्रमा दिनुपर्ने प्राथमिकता, देश विकासको खाकालगायत विषयमा चौधरीसँग उमेश चौहानले गरेको कुराकानी :
अहिले देशैभर चुनावी माहौल छ । कतिपय उम्मेदवार जेरी पकाइरहेका छन् । पसलअगाडिको डमीसँग समेत भोट मागिरहेका छन् । अघिल्लो निर्वाचनमा तपाईंले पनि चारपाईमा बसेर कुराकानी गरेको, थाल माझेको, मोटरसाइकलपछाडि बसेर दौडधुप गरेको देखिएको थियो । जबकि तपाईंको अवस्था त्यो होइन । उम्मेदवारलाई आफू जे होइन, त्यो किन बन्नुपर्छ ?
अरू निर्वाचन क्षेत्रको टिप्पणी गर्न चाहन्नँ । २०७९ को निर्वाचनको मेरो प्रचारप्रसारको प्रसंगबाट सुरु गर्छु । त्यतिबेला म मोटरसाइकल चढेर हिँडें, ट्र्याक्टरमा पनि घुमें, चौपाइमा पनि बसें । यसको कारण छ । त्यतिबेला मेरोबारेमा धेरै नकारात्मक प्रचार गरिएको थियो । विनोद चौधरी निकै धनी मान्छे हो, चुनाव जितेपछि उसलाई तिमीहरूले भेट्न पाउँदैनौ । उसले तिमीहरूको फोन उठाउँदैन । जहिले पनि आकाशमा उडिरहेको हुन्छ । तिमीहरूकहाँ आउने फुर्सद हुँदैन । यसरी मविरुद्ध नकारात्मक भाष्य फैलाउन खोजिएको थियो । ती भाष्य सत्य होइन भनेर नागरिकलाई बुझाउनु थियो ।
विनोद चौधरी सानो ठिमीको स्कुलमा पब्लिक बस चढेर, कहिले बसको ढोकामा झुन्डिएर, कहिले पांग्रामा खुट्टा टेक्दै बसको झ्यालबाट भित्र पसेर यात्रा गरेको मान्छे हो । मैले सरकारी स्कुल पढें । धुलो माटौमै खेलेर हुर्किएँ । यसकारण मलाई चटाईमा बस्न र मोटरसाइकल चढ्न कुनै समस्या छैन भनेर नागरिकलाई बुझाउन चाहेको हुँ । यसलाई कसैले अभिनयका रूपमा चित्रण गर्छन् भने गलत र मप्रति अन्याय होला । किनकि म सुरुदेखि नै अहिलेको अवस्थामा थिइनँ । समाजका अन्य नागरिकले भोगेका सबै कठिनाइ मैले पनि भोगेर आएको हुँ । यसकारण एक पटक फेरि मेरो जीवनलाई समाजको धरातलसँग जोड्ने प्रयास गरेको हुँ ।
म निर्वाचित भएको तीन वर्ष भइसक्यो । यो अवधिमा मेरो जीवनशैली बदलिएको भए तपाईंले अहिले भनेका विषय सायद सही प्रमाणित हुन्थ्यो होला । तर म बदलिएको छैन । निर्वाचित भएर आएपछि पनि मेरो निर्वाचन क्षेत्रमा निरन्तर गएको छु । दैनिक रूपमा मतदातासँग सम्पर्कमा हुन्छु । उनीहरूका सुखदुःखमा सँगै छु । टाढिएको छैन ।
चटक, अभिनय र चर्का नाराका पनि सीमा हुन्छन् । त्यसरी एक पटक नागरिकलाई झुक्याउन सकिएला । तर धेरै दिन टिक्दैन । किनकि सामाजिक सञ्जालको संसारमा ती सबै सुरक्षित हुन्छन् । उम्मेदवारको लक्ष्य र उद्देश्य उसको पृष्ठभूमिसँग मेल खाँदैन भने जनताले पत्याउँदैनन् । म सधैं भन्ने गर्छु र आज पनि दोहोर्याउँछु ।
मैले राजनीति गर्ने समाज सेवाका लागि हो । मलाई नाम र दामका लागि राजनीति गर्नुपर्ने बाध्यता छैन । यही देशले मलाई ठूलो चिनारी दियो । यो ठाउँमा मैले देखेका र जानेका विषयबाट समाजमा सकारात्मक प्रभाव ल्याउन चाहन्छु । निजी व्यवसायको कुरा गरौं, चौधरी ग्रुपले नेपालको सबैभन्दा पहिलो बहुराष्ट्रिय कम्पनी बनायो । तर, त्यसको मुख्य कार्यालय नेपालमै राख्यौं । यो आफ्नो देशप्रतिको माया हो ।
राजनीतिशास्त्र र समाजशास्त्रमा एउटा जार्गन छ– ‘पोभर्टी पोर्न’ । कतिपय सञ्चारमाध्यमले विपन्नता/गरिबीलाई अलि बढी प्रचार गर्छ, दयाभाव र सहानुभूति देखाउँछ भनेर आरोप लाग्छ । फेरि, समृद्ध/धनीप्रति ईर्ष्या गर्ने र पक्कै बदमासी गरेको होला भनेर नकारात्मक मनोविज्ञान बनाउने प्रवृत्ति छ । उद्यमीका साथै सामाजिक/राजनीतिक कार्यकर्ता पनि भएको हुनाले यस्ता पक्षमा सन्तुलन मिलाउन कत्तिको सजिलो/अप्ठ्यारो छ ?
हाम्रो देशको राजनीतिक पृष्ठभूमि र विभिन्न कालखण्डको राजनीतिक परिवर्तनले नागरिकलाई कस्तो ‘स्कुलिङ’ दियो भनेर गहिरिएर हेर्नुपर्छ । खासगरी वामपन्थी झुकाबले बढी काम गरेको जस्तो देखिन्छ । किनकि सम्पत्ति आर्जन अपराध हो भनेर हेर्ने गरिएको छ । विकृत काम नगरेसम्म सम्पन्नता प्राप्त हुँदैन भन्ने भाष्य बनाइएको छ । सबैलाई बराबर तुल्याउनुपर्छ, अर्काले ठूलो घर बनायो भने उसको एक तला घटाउनुपर्छ, आफ्नो तला थप्ने होइन भन्ने जस्ता मानसिकता छ ।
विगतमा म एमालेका तर्फबाट संविधानसभा सदस्य थिएँ । तर, मैले एमालेको सदस्यता लिएको थिइनँ । त्यतिबेला मैले वामपन्थी विचार राख्ने दलहरूसँग काम गरेको छु । त्यसभन्दाअघि पञ्चायती शासन (एक दलीय सरकार) मा पनि मैले काम गरेको छु । सम्पत्ति कमाउने र समृद्धिविरुद्धका नारा सजिलै बिक्दोरहेछ । त्यसलाई बिकाउने काममा हामी सबै लाग्यौं । त्यसैको परिणाम अहिले देखिएको हो । अब राज्यले समृद्धिलाई उत्सव मनाउन किन नसक्ने ? सफल व्यक्तिलाई सम्मान गर्न किन पछि हट्ने ? सफल बनेका व्यक्तिबाट सिकेर अरू १० जना सफल व्यक्ति बनुन् भन्ने आकांक्षा राख्ने कि त्यसलाई नै सिध्याइदिने ?
२३ र २४ भदौमा भएको जेन–जी आन्दोलनमा भौतिक रूपमा पीडितमध्ये म र मेरो परिवार पनि एक हो । तर, मैले त्यसलाई कहिल्यै पनि केन्द्रबिन्दुमा राखिनँ । जेन–जीको आन्दोलन बितेका ३५ वर्षमध्ये (२०४८ देखि २०५१ सम्मलाई छाडेर) बाँकी अवधि अर्थतन्त्र सुधार र सुशासनका लागि अपेक्षित काम हुन सकेन । २०४८–५१ को अवधिमा भने अर्थतन्त्र रूपान्तरणका लागि धेरै काम भएका छन् । जीडीपीका धेरै महत्त्वपूर्ण खम्बाहरू त्यतिबेलै पहिचान गरिएको हो । तर बाँकी अवधिको नियतिका कारण आज विदेशमा अध्ययनकै लागि डेढ खर्ब खर्च गर्नुपरेको छ । शिक्षामा राम्रो गर्न सकेको भए र विदेशी विश्वविद्यालय नेपालमै ल्याउन सकेको भए आज हामी भारत, चीन, श्रीलंका तथा बंगलादेशलगायतका विद्यार्थीलाई नेपाल भित्र्याउन सक्थ्यौं । विडम्बना, ७०/८० लाख युवा विदेश नगई नेपालका घरको चुलो बल्दैन ।
रेमिट्यान्सबाट पैसा आयो । तर त्यो परिवारको अनुहार मलिन देख्छु । संघीयता आइसकेपछि वडावडामा राम्रो घर बनेको देख्यो कि त्यो घरका मानिस विदेश गएका छन् भन्ने अनुमान लगाउन सकिन्छ । त्यो परिवार हिजो झुपडीमा बस्दा जति खुसी थियो, आज छैन । किनकि उसको घरको एउटा महत्त्वपूर्ण सदस्य आफूसँग छैन । किनकि उसलाई बाध्यता छ । देशमा बसेर काम पाउँदैन । त्यसले अरू पनि विभिन्न प्रकारका सामाजिक विकृतिहरू जन्माएको छ ।
भौतिक पूर्वाधारको कुरा गर्दा हामीले एउटा रेल चलाउन सकेका छैनौं । पूर्व–पश्चित राजमार्ग र एयरलाइन्सको अवस्था त्यस्तै छ । आफूले राम्रोसँग सञ्चालन गर्न नसके पनि छोड्न चाहँदैनौं । ओगटेरै बसिरहन्छौं । यसरी थुप्रिएका विकृतिहरूकै कारण जेन–जी आन्दोलन भएको हो । भर्खरका भाइबहिनीबाट अन्दोलनका रूपमा विस्फोट भएको हो ।
कुनै बेलामा गणेशमान सिंहले भनेको हामीले सुनेका छौं– नेतृत्व त्यो हो जो आफूले ‘लिड’ गर्छ, आफ्नोपछाडि भीड छ कि छैन भनेर टाउको गनेर बस्दैन । आफ्नोपछाडि भएको भीडले जे सुन्न चाहिरहेको छ, त्यही बोल्दैन । उसको मन, विवेक र इमानदार संकल्प बोल्छ ।
आज राजनीतिक दलहरूले आगामी पाँच वर्षमा नेपालको मुहार फेर्ने खालको खाका बनाएर अघि बढ्नुपर्नेछ । विदेशमा रहेका लाखौं नेपालीले नेपालमै फर्किएर काम गरेर बस्ने वातावरण बन्ला भन्ने कल्पना पनि गर्न छोडिसके । अब उनीहरूलाई नेपालमै फर्केर गरिखान पाउने वातावरण बनाउन सक्नुपर्छ ।
एक पटक विदेशमा काम गरेर फर्केको मान्छेले सकारात्मक पुँजी र सीपसँगै सकारात्मक संस्कार पनि बोकेर आएको हुन्छ । एउटा उद्यमी बन्न कति गाह्रो छ, निर्माण गर्न कति अप्ठेरो छ भन्ने देखेको हुन्छ । अलिकति सम्पन्नता भयो भने उसलाई त्यहाँको सरकारले कसरी सम्मान गर्छ भन्ने पनि देखेको हुन्छ । नेपालमा विकासको खाका मात्र होइन, समाजको मानसिकतामै परिवर्तन गर्ने खालको नीति बनाउनुपर्छ ।

२०६५ मा संविधानसभा सदस्य बनेयता तपाईं राजनीतिको केन्द्रमै हुनुहुन्छ । यतिञ्जेल मूलभूत रूपमा कांग्रेस र एमालेका बीचमा हाम्रो जनमत विभाजित थियो । तपाईंलाई के लाग्छ, कांग्रेस मानसिकता र एमाले मानसिकता उस्तै–उस्तै हो वा फरक छ ? फरक छ भने केमा छ ? डेलिभरी, शैली वा सिद्धान्तमा ?
मूलतः कुनै राजनीतिक सिद्धान्तमा परिवर्तन देखिँदैन । जो पनि जोसँग पनि मिल्न, जोसँग मिलेर चुनाव लड्न र सरकार बनाउन, राज्यसत्ताको भागबन्डा गर्न तयार देखिए । कुनै दल विशेषको सिद्धान्त, दृष्टिकोण र दूरदृष्टि भन्ने त प्रश्नै आएन । नत्र ३६ वर्षमा ३० वटा सरकार त बन्ने थिएन होला । यद्यपि, म पनि त्यसकै एक भाग थिएँ । तर कुनै कार्यकारी पदमा बसिनँ । सांसद रहँदा मैले मेरा विषयलाई सडक र सञ्चारमाध्यममा पनि राखें । कहिल्यै राजनीतिक दल र व्यक्तिगत स्वार्थको कुरा गरिनँ ।
२०४८ देखि २०५१ सम्म गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा रामशरण महत र महेश आचार्यलगायत नेता सरकारमा हुनुहुन्थ्यो । त्यसबेला अर्थतन्त्रमा ठूलो संरचनात्मक रूपान्तरणका काम भयो । त्यसमा आईएमएफको पनि भूमिका थियो । विश्व बजार नै खुला र उदार हुँदै निजी क्षेत्रमैत्री अर्थतन्त्रको बाटोतिर अघि बढिरहेको थियो ।
नेपालमा त्यो झन् तीव्र भयो, किनकि हामीले धेरै वर्षसम्म थुनछेक गरेर राखेका थियौं । त्यसलाई चिर्न सकेकाले अर्थतन्त्रले फड्को नै मार्यो । तत्कालीन तीन वर्षको दौरानमा एयरलाइन, सञ्चार, होटल तथा पर्यटन, शिक्षा, स्वास्थ्य, बैंक तथा बिमालगायत धेरै क्षेत्रमा निजी क्षेत्रले लगानी गर्ने अवसर पायो ।
लामो समयदेखिको सरकारी एकाधिकार अन्त्य भयो । हरेक क्षेत्रमा लगानी खुल्यो, बहुराष्ट्रिय कम्पनीहरू आउन थाले, नेपालको निर्यात बढ्यो । तर त्यसपछि दलहरूले यस्तोउस्तो गर्यौं भन्ने ठाउ देख्दिनँ । किनकि, यस अवधिमा अर्थतन्त्र र राजनीतिमा कुनै तात्त्विक परिवर्तन मैले देखिनँ । यो नै सबैभन्दा ठूलो समस्या/कमजोरी हो । अब ‘नयाँ कांग्रेस’ ले फेरि मुलुकलाई अग्रगामी दिशा दिने गरी काम गर्छ ।
तपाईंले ‘नयाँ कांग्रेस’ भन्नुभयो । रास्वपा र उज्यालो नेपालभन्दा पनि नयाँ भन्न खोज्नुभएको हो ?
आज नेपालमा सबैभन्दा नयाँ पार्टी नै कांग्रेस हो । विशेष महाधिवेशनपछि कांग्रेसले आफ्नो स्वरूप र नेतृत्व बदलेको छ । जसअनुरूप पार्टीको सबै तह र तप्कामा नेतृत्व परिवर्तन भएको छ । आसन्न निर्वाचनका लागि १०६ जना नयाँ अनुहार हुनुहुन्छ । हामीले ४८ घण्टामा १६५ वटै क्षेत्रका लागि टिकट बाँडेका थियौं । त्यसमा एक जनाले पनि प्रश्न गरेका छैनन् । टिकट वितरण समिति सदस्यमा म पनि थिएँ । यो परिवर्तन होइन ?
अहिलेको यो पार्टी आगामी पाँच वर्षका लागि एउटा स्पष्ट खाका बनाएर अघि बढेको छ । हामी सम्भव नहुने र झूटा नारा लिएर नागरिकसमक्ष गएका छैनौं । गर्न सकिने काममा मात्र हाम्रो प्रतिबद्धता छ । किनकि गर्न नसकिने कामबारे बोल्ने आवश्यकता छैन । जुन काम गर्न सक्छौं, त्यति बोल्ने र गरेर देखाउने हो । ताकि नेपालीले बुझून्, कांग्रेसले अब केही गर्नेवाला छ । यस्तो दृष्टिकोण र स्वरूप अरू कुन पार्टीसँग तपाईंले दाँज्न सक्नुहुन्छ त ? अब सबभन्दा नयाँ भएन त यो पार्टी ?
डेढ दशकदेखि तपाईं राजनीतिमा हुनुहुन्छ । आफूसँग भएको अनुभव, रणनीति, ‘पब्लिक रिलेसन’ मुलुक निर्माणमा उपयोग गर्न चाहनुहुन्छ । तर, राजनीतिक दलका नेताहरू तपाईंसँग भएको सम्पत्ति वा पुँजीका कारणले नजिकिन चाहन्छन् । उनीहरू तपाईंसँग भएको करिब पौने तीन खर्ब रुपैयाँ पार्टीमा लगानी गरोस् भन्ने चाहन्छन् । तपाईं र अरू नेताबीच यही मनोविज्ञानको द्वन्द्व देखिन्छ, होइन त ?
त्यहाँ स्वार्थको द्वन्द्व छ । किनकि अर्थतन्त्र बुझेकालाई अर्थमन्त्री, विश्वविद्यालयमा राम्रो गरेकालाई शिक्षामन्त्री, स्वास्थ्यमा राम्रो गरेकालाई स्वास्थ्यमन्त्री बनायो भने स्वार्थको द्वन्द्व हुन्छ भन्ने भाष्य सिर्जना गर्न खोजिएको छ । जबकि यो पूर्ण रूपमा विपरीत तर्क हो । योग्य मान्छेलाई सोही जिम्मेवारी दिँदा पो त्यो क्षेत्र रूपान्तरण हुन्छ । बिग्रिने होइन । बरु योग्य मान्छेलाई जिम्मेवारी दिँदा तलमाथि खेलोफड्को गर्ने ठाउँ हुँदैन, आफ्नो दुकान बन्द हुन्छ भन्ने डर होला । यसकारण हामीजस्ता मान्छेहरू राजनीतिमा अल्पमतमा छौं ।
यस्ता मान्छेहरू खोजीखोजी राजनीतिमा ल्याउनुपर्ने हो । जुन कुरा कांग्रेसले मनन गरेको छ । यो हाम्रो घोषित नीति हो । गएको १८ वर्षमा मैले कुनै कार्यकारी पद पाइनँ । किनकि विगतमा एफएनसीसीआई, आजको सीएनआई, चौधरी ग्रुप, सीजी कर्भ ग्लोबललगायत विभिन्न सामाजिक परियोजनामा मैले काम गरें । केही न केही अनुभव र दृष्टिकोण त मसँग पनि होला । केही गर्नै नसकेको त्यति नालायक त म थिइनँ होला ।
त्यसको पछाडि के कारण लुकेका हुन सक्छन्, त्यो पनि तपाईं विश्लेषण गर्नुस् । त्यही विश्लेषण र त्यही सोचबाट अहिलेको बदलिएको राजनीतिको ‘ल्यान्डस्केप’ हेर्नुस् । अहिले सबै पार्टीमा नयाँ मान्छेहरू आउनुभएको छ । नयाँ आउने मानिसहरूका बीचमा भोलि स्वस्थ प्रतिस्पर्धा हुनुपर्छ ।
सबै आ–आफ्नो क्षेत्रमा स्थापित छन् । राज्यलाई योगदान दिन्छु भनिरहेका छन् । यो परिवर्तन होइन र ? ढिलो भयो, देशले ठूलो मूल्य चुकाउनुपर्यो, यद्यपि हामीजस्ता मानिसलाई राजनीतिमा ल्याउनुपर्छ र अघि बढाउनुपर्छ भन्ने नेताहरू पनि थिए । तर उनीहरू अल्पमतमा परे । वा, ती नेताहरूको अरूसँगको स्वार्थ बाँझियो, उनीहरू निर्णायक ठाउँमा पुग्न सकेनन् । यस्तो स्थिति भोलिका दिनमा कांग्रेसमा मात्र होइन, अरू कुनै पनि पार्टीमा नहोस् ।
तीन पटक सभासद/सांसद भइरहँदा तपाईंले चाहेअनुसार आफ्नो अनुभव र दृष्टिकोण पूर्ण रूपमा उपयोग गर्न सक्ने गरी कार्यकारी भूमिकामा बस्ने अवसर आयो कि आएन ?
जुनसुकै पार्टीमा रहँदा पनि मैले कहिल्यै कुनै सर्त राखिनँ । सायद मेरो कमजोरी त्यही नै थियो । राजनीति बार्गेनिङबाटै चल्ने रहेछ । तर मैले त्यो कहिल्यै पनि उचित ठानिनँ । मान्छेको प्रतिभा र क्षमतालाई अवसर दिनुपर्छ भन्ने हो । यदि देशमा केही गर्छु र सरकार बनाउँछ भने यो पक्ष विचार गर्नुपर्छ । ३० वर्षको दौरानमा एफएनसीसीआईको म सबैभन्दा कान्छो अध्यक्ष हुँ ।
नेपाल उद्योग परिसंघलाई पनि आज एउटा ‘थिंक ट्यांक’ का रूपमा स्थापित गरेका छौं । मैले कैयौं राष्ट्रिय र अन्तर्राष्ट्रिय मञ्चहरूमा सम्मानजनक रूपमा नेपालको प्रतिनिधित्व गरेको छु । आज विश्वका ठूला सम्मेलनहरूमा वक्ताका रूपमा बोलाउँछन् । मेरा दुई–चार वटा कुरा सुन्छन् । तर, ठूलो स्तरमा परिवर्तन गर्न तपाईं कार्यकारी पदमा हुनै पर्छ । तपाईंको हस्ताक्षर चल्नै पर्छ । चर्का भाषण दिएको र सुझावका ठूला ठेली बुझाएको भरमा परिवर्तन हुँदैन । मैले भूमिका किन पाइनँ ? त्यसको जवाफ सम्बन्धित नेताहरूले दिनुहोला ।
पछिल्लो पटक जनताबाट चुनिएको ३६ महिना भयो । त्यहाँ सकेजति काम गरेको छु । यद्यपि धेरै गर्न बाँकी छ । यदि मेरो कुनै एउटा इच्छा बाँकी छ भने त्यो एउटा स्वाभिमानी र सम्पन्न नेपालको नागरिक भएर मर्नु नै हो । जेन–जीको आन्दोलनपछि त्यत्रो ठूलो नोक्सान र विध्वंस सहेर पनि मेरो आत्मबल रत्तिभर पनि काँपेको छैन ।
आर्थिक रूपमा सम्पन्न मानिसले निर्वाचनमा टिकट पाउन सुरुमा पार्टीका नेतालाई पैसा बुझाउनुपर्ने, निर्वाचन क्षेत्रमा खर्च गर्नुपर्ने, स्थानीय संघसंस्थाका समूहलाई पैसा दिनुपर्ने अवस्था छ । जितेपछि पहिलो दिनदेखि लगानी उठाउनुपर्ने र अर्को चुनावका लागि थप खर्चको पनि जोहो गर्नुपर्ने प्रवृत्ति छ । यस्तो स्थितिमा सुशासन र जवाफदेहिता निर्माण गर्ने, लगानी ल्याउने र रोजगारी सिर्जना गर्ने सम्भावना देख्नुहुन्छ ?
यो समस्या समाधानका लागि समग्रतामै संरचनात्मक सुधार जरुरी छ । अहिले स्थिति केही बदलिएको छ । हिजोसम्म राजनीतिमा यस्तो विकृति अत्यधिक थियो । निर्वाचनका लागि राम्रा–नराम्रा सबै काम गर्ने प्रवृत्ति थियो । आफूले धान्नै नसक्ने किसिमको खर्च नगरीकन चुनाव लड्न नसक्ने र जितिसकेपछि कुनै न कुनै बाटोबाट प्रतिफल प्राप्त गर्नुपर्ने अवस्था थियो । यसरी देश बन्दैन, पार्टी पनि बन्दैन ।
त्यसैले पार्टीभित्र पनि निर्वाचन खर्चका विकल्पहरूमा चर्चा हुने गरेको छ । सरकारले नै खर्च बेहोर्ने चर्चा पनि चलेको हुन्छ । केहीले स्वस्फूर्त रूपमा सहयोग गर्छु भनेका हुन्छन्, भोलि त्यसको शोधभर्ना नलिने गरी । मानौं, तपाईंले एक सय वटा स्कुल बनाइदिन सक्नुहुन्छ भने राज्यलाई के नोक्सान भयो ? पाँच वटा हेल्थ पोस्टमा राज्यले दिनेभन्दा राम्रो सुविधा दिन सक्नुहुन्छ भने कसलाई हानि भयो र ? विभिन्न प्रकारका ट्रेनिङहरू सञ्चालन गर्न सक्नुभयो भने के हानि भयो र ? केवल आज गरेको सहयोगका लागि भोलि विकृति निम्तिनु भएन । कुनै अनैतिक किसिमका सर्तहरू अघि सार्नुपर्ने वा स्विकार्नुपर्ने स्थिति आउनु भएन । यसमा सबै दल र नेता सचेत हुनुपर्यो ।
कसैले व्यक्तिगत रूपमा धेरै खर्च गर्छु भन्छ भने त्यो अलग कुरा भयो । त्यसबाहेक उम्मेदवारहरूले अनैतिक रूपमा खर्च नगरी चुनाव लडेर जित्छु भन्ने अवस्था छ कि छैन ?
अहिलेसम्म त्यो विकृति बिलकुल जरैसम्म घुसेको छ र त्यसलाई सुधार्नका लागि एउटा आमूल रूपान्तरण आवश्यकता छ । त्यसलाई परिवर्तन गर्ने जिम्मेवारी पार्टीको हो । पार्टीले नै स्रोतको परिचालन, व्यक्तिहरूको छनोट, कार्यकर्ता र नेताको छनोट, सिद्धान्तहरूको छनोटमा वैज्ञानिक तरिकाको सुधार नगरी सुखै छैन ।
तपाईंका लागि राजनीति नौलो विषय होइन । पहिलो संविधानसभामा सदस्य भएदेखि २०८२ मा पुनः सांसदकै लागि उम्मेदवार बन्दासम्म राजनीतिप्रतिको आकर्षण अझ बढेको छ, स्थिर छ वा घटेर गएको छ ?
पहिलो संविधानसभाले संघीयताको सिद्धान्तमा आधारित नेपाललाई अगाडि बढाउने काम गर्यो । त्यो अत्यन्तै जरुरी थियो । संघीयताका बारेमा विभिन्न टीकाटिप्पणीहरू हुने गर्छन् । जसरी ७५३ वटा स्थानीय सरकार बने, ती नभएका भए निकै ठूलो विद्रोहको आगो बल्थ्यो । उनीहरूलाई रिसोर्स दिनेदेखि स्थानीयस्तरमा विकासको अधिकार संविधानले दियो । यो निकै रूपान्तरणकारी काम थियो । यो प्रक्रियामा कतै न कतै हामीहरू पनि जोडियौं । त्यसमा म पूर्ण रूपले सन्तुष्ट छु । तर, संविधान पूर्ण रूपले लेख्ने काममा म सरिक हुन सकिनँ । राजनीतिक घटनाक्रमहरू घट्दै गए । मैले पार्टी कसरी चलिराछ भन्ने देखें । देश र सरकार कसरी चलिरहेका छन्, कस्ता प्रवृत्तिले ठाउँ पाइरहेका छन्, कस्ता प्रवृत्तिलाई रोक्ने दुष्प्रयासहरू गरिएका छन्, विकासका नाममा कस्ता गतिविधि अघि बढिरहेका छन् ? त्यो सबै देखेर म निराश थिएँ । लगभग निर्वाचन नै नलड्ने सोचमा थिएँ ।
आँटेका निकै ठूला काम पनि पूरा गर्ने आँट, सामर्थ्य मैले भगवान्बाट पाएको छु । तर, राजनीतिमा सफल हुने एउटा इच्छा अपूरो रह्यो भनेर चुनावै नलड्ने मनस्थितिमा पुगिसकेको थिएँ । तर त्यस पटक विशेष महाधिवेशनको माध्यमबाट आएको नयाँ कांग्रेसमा मैले परिवर्तनको सम्भावना देखें । त्यो परिवर्तनमा निःसर्त रूपमा उभिनै पर्छ भन्ने लाग्यो र निर्वाचनमा होमिएँ । म यत्रो वर्षसम्म राजनीतिमा किन रहें त ?
तिमीले के गर्यौ भनेर कसैले मलाई प्रश्न गर्यो भने मसँग जवाफ थिएन । आज छ । यो नयाँ कांग्रेस जुन ढंगबाट उभिएको छ, त्यसका लागि एउटा महत्त्वपूर्ण भूमिका खेल्ने मौका पाएँ । देश र युवाहरूको हित तथा युवाका अपूरा आकांक्षालाई मूर्त रूप दिएर कार्यान्वयन गर्न निर्वाचनको प्रतिस्पर्धामा होमिएको हुँ । त्यस अर्थमा म एकदमै उत्साहित छु । रत्तिभर पनि मेरो आत्मबल कमजोर भएको छैन । कांग्रेसका सभापति गगनकुमार थापा अब प्रधानमन्त्री बन्नै पर्छ ।

तपाईंले आफ्नो जीवनमा उद्यम गर्नुभयो । चौधरी ग्रुपलाई बहुराष्ट्रिय कम्पनी बनाएर अहिले छोराहरूलाई अघि बढ भन्नुभएको छ । किनकि त्यसमा तपाईंले भविष्य देख्नुभयो । राजनीतिमा पनि त्यस्तै भविष्य देख्नुहुन्छ र भविष्यमा छोराहरूमध्ये कोही राजनीतिमा ल्याउन चाहनुहुन्छ ?
म यसलाई यसरी भन्छु, मचाहिँ अब पूर्णकालीन राजनीतिमा प्रवेश गरें । छोराहरूले आ–आफ्नै जिम्मेवारी निभाएका छन् । उनीहरू आफ्नो समूहको व्यवसाय मात्र नभएर अरू संस्थागत भूमिकाहरू पनि निभाइरहेका छन् । अहिलेको प्राथमिकता यो ग्रुपको माध्यमबाट मुलुकलाई धेरैभन्दा धेरै योगदान दिने हो । हामीकहाँ २०–२२ हजार मान्छेले काम गरिरहेका छन् । रोजगारी अहिलेको सबैभन्दा ठूलो समस्या हो ।
पाँच लाख मान्छे रोजगारको बजारमा ओर्लिन्छन् । ५० हजारले पनि काम पाउँदैनन् । उद्यमशीलातको माध्यमबाट नेपाललाई समृद्ध बनाउन लाग्नुपर्छ भन्ने मेरो मान्यता हो । यद्यपि भोलिको दिनमा एउटा स्वस्थ र प्रतिस्पर्धी वातावरणमा देशलाई योगदान दिन सक्ने वातावरण बन्छ भने मेरा छोराहरू मात्रै होइन, हरेक राम्रा पृष्ठभूमिका मान्छे राजनीतिमा आउनुपर्छ ।
यसरी छुट्टै भर्याङ (छड्के बाटो) बाट नयाँ मान्छे राजनीतिमा आउँदा लामो समयदेखि पार्टीमा काम गरेकाले स्थान नपाउने र यसरी आउने व्यक्तिले नीति निर्माण तहमा बसेर आफ्नो स्वार्थ अनुकूल नीति बनाउन दबाब दिन्छन् भन्ने नजिर हामीकहाँ छ । यसकारण उद्योगी व्यवसायीलाई नीति निर्माण तहमा राख्न नहुने मानसिकता छ नि ?
यो भाष्य आफ्नो अनौपचारिक दोकान जोगाउनका लागि गरिने तर्कबाहेक केही होइन । एउटा मान्छे जुन क्षेत्रको विशेषज्ञ हो, उसलाई त्यही क्षेत्रको जिम्मेवारी दिनुपर्छ । जान्ने मान्छेलाई जिम्मेवारी दिँदा विकृति ल्याउँछ, स्वार्थ बाझिन्छ भन्नु हास्यात्मक तर्क हो । छड्के प्रवेश र विद्यार्थीकालदेखि नै राजनीति गर्नेहरूको बीचमा पनि कुनै द्वन्द्व छैन । एउटाको मूल्यमा अर्कालाई ठाउँ दिने होइन । दुइटैको बीचमा सन्तुलन चाहिन्छ ।
राजनीति सुशासन र उपलब्ध स्रोत साधनको उचित व्यवस्थापनका लागि हो । राजनीतिमा जेलनेल भोग्न सक्ने नेता पनि चाहिन्छ भने राष्ट्र परिवर्तन गर्न सक्ने परिवर्तनकारी पनि चाहिन्छ ।
यी दुई–दुई पक्षको ‘फ्युजन’ बिना कुनै देश बनेको छैन, बन्दा पनि बन्दैन । कति मुलुक छन्, जहाँ विभिन्न अलग–अलग पेसामा प्रमाणित रेकर्ड रहेका मान्छे राजनीतिमा आएर मुलुक बनाएका छन् । उनीहरूले राष्ट्रलाई योगदान दिँदै छन् । तर हामी साँघुरो मानसिकतामा छौं ।
आफ्नो कमजोरीलाई लुकाउन विज्ञलाई रोक्न खोजिरहेका छौं । यो नचिरेसम्म मुलुक बन्दैन । म सबै दलहरूले छड्के प्रवेशबाट योग्य मानिसलाई आमन्त्रण गरेर देश निर्माणमा योगदान दिन लगाउनुपर्छ । किनकि कुनै पनि स्वाभिमानी मानिस नेताको ढोकामा गएर मलाई यो पद दिनुस् भन्दैन । विगतमा दलको झोला नबोकेसम्म केही गर्न सकिने अवस्था थिएन । यही कारण मुलुक आज यो अवस्थामा छ ।
हामीसँग भएको साधनस्रोत उपयोग गर्न सकेनौं र हामी यो अवस्थामा छौं भन्नेहरू छँदै छन् । अर्को भाष्य पनि छ, समाजमा जति सुस्त भए पनि विकास भएको छ । तर हामीकहाँ नकारात्मकता धेरै छ । यही कारण मानिस निराश छन्, त्यसप्रति हामीले चिन्ता गर्नुपर्छ भन्ने तपाईंलाई लाग्छ कि लाग्दैन ?
२०४८ मा जीडीपीका सात वटा नयाँ क्षेत्र नखुलेका भए आजसम्म मुलुक चल्ने थिएन । मुलुकमा एक दशक माओवादी द्वन्द्व चल्यो । यद्यपि अहिलेसम्मको आर्थिक वृद्धिदर हेर्यौं भने औसत साढे चार प्रतिशत छ । हामीले वृद्धि नगरेको होइन । तर गिलास आधा खाली कि आधा भरेको भनेजस्तै हो । नागरिकलाई झुक्याउने हो भने त द्वन्द्वका बेलामा पनि साढे ४ प्रतिशतको वृद्धि गर्यौं भने भयो । तर कुनै बेलामा कोरिया नेपालजस्तै थियो ।
थाइल्यान्ड नेपालभन्दा गए गुज्रेको थियो । भारतका कैयौं राज्यहरू त नेपालको तुलनामा केही पनि थिएनन् । यूपी र बिहारसम्म केही पनि थिएनन् । अहिले तिनीहरूको तुलनामा हामी आज कहाँ छौं ? यसमा ध्यान दिनुपर्यो । नेपालीको हातहातमा मोबाइल छ र विद्युतीय गाडीहरू बजारमा प्रशस्तै चलिरहेका छन् भनेर भएन । नेपाल कुनै बेलामा हामी खाद्यान्नको मुख्य निर्यातकर्ता थियौं । डाक्टर बन्न श्रीलंका, इन्डिया र बंगलादेशका विद्यार्थीहरू आउँथे । नेपालको उत्पादन विश्वभर चिनिन्थे । आज नेपालको सफलताका कथाहरूलाई बिर्सिंदै गयौं । नेपालमा धेरै काम भएका होलान् तर तिनलाई निरन्तरता दिन र फराकिलो बनाउन किन सकेनौं ?
भारतको पनि तीन हजार अमेरिकी डलरको जीडीपी पुगिसक्यो । भुटानले ‘ग्रस ह्यापिनेस’ लाई विकासको आधार मान्न थालिसक्यो । उसको जीडीपी ६ हजार डलरभन्दा बढी छ । आजसम्म ४०–५० हजार मेगावाट बिजुली उत्पादन गर्नुपर्ने मुलुकले अहिलेसम्म चार हजार मेगावाट पनि विद्युत् उत्पादन गर्न सकेको छैन । पाँच हजार मेगावाटका आयोजना पीपीए नभएर थन्केका छन् । के हो यो ? अर्कोतिर, अहिले जन्मेका पिँढीले नेपाल मलाई चाहिँदैन, जसरी हुन्छ बाहिर पठाइदिनुस्, म आफैं दुःखसुख गर्छु, उतै बस्छु, तपाईंलाई पनि उतै झिकाउँछु भनेर बाबुआमालाई भनिरहेका छन् । त्यस्तो मानसिकता बोकेको युवा मनस्थिति र उसले गुमाएको आत्मविश्वासलाई तपाईं के भन्नुहुन्छ ? विकास भनेको भावना र आत्मविश्वास पनि हो ।
यसपालि तपाईंको दल कांग्रेसले कस्तो घोषणापत्र ल्याउँछ ?
मैले घोषणापत्र लेखनमा ‘फिडब्याक’ दिने काम गरिरहेको छु । किनकि म निर्वाचन लडिरहेको छु । कांग्रेसको घोषणापत्रमा नेपालको अर्थतन्त्रको विकासको खाका आउनेछ । सुशासन केन्द्रविन्दुमा रहन्छ । भ्रष्टाचाररहित सुशासन हाम्रो मान्यता हो । आर्थिक रूपमा चलायमान अर्थतन्त्र हामीले चाहेका छौं । किनकि विकासको अर्थ अन्ततः समाजका नागरिकको गोजीमा पैसा पुग्नु हो ।
तपाईंको सामाजिक सञ्जाल टिम निकै सक्रिय छ । त्यहाँ एउटा ‘पम्प्लेट’ छ, जसमा ‘अबकी बार एक सय पार’ भन्ने नारा छ । विगतमा भारतमा ‘अबकी बार चार सय पार’ भन्ने थियो । किन तपाईंहरूले त्यही नारा नक्कल गर्नुभयो । हाम्रो नवीनतम क्षमता साँघुरो भए होला ?
हामी नवप्रवर्द्धनमा त्यति कमजोर पनि छैनौं । तर त्यतिबेला भारतमा त्यो नारा निकै शक्तिशाली भयो । त्यसका प्रभाव यताको राजनीतिमा पनि पर्यो । कसैले ‘अबकी बार गगन सरकार’ भनेर पनि प्रस्तुत गर्नुभयो । तर, हाम्रा भावी प्रधानमन्त्री गगन थापाले ‘अबकी बार सय पार’ हुनुपर्छ भन्नुभयो । उहाँले आवेश र जोसमा आएर भन्नुभएको होइन । पूरै मूल्यांकन गरेर सन्तुलित रूपमा निकालिएको आँकडा हो ।
एक घण्टा बढीको कुराकानीमा तपाईं उद्यमी कम, नेपाली कांग्रेसका नेता बढी हाबी हुनुभयो । अब तपाईं पूर्णकालीन राजनीतिमा हो ?
विशेष अधिवेशनभन्दा अघि पार्टीभित्र र समग्र राजनीतिका बारेमा वितृष्णा आएकै हो । हामीजस्ता मान्छेलाई केही गर्न दिँदैनन् भनेर म पछि हटेको थिएँ । देश बनाउने मेरो सपना अधुरो हुने भयो भन्ने मानसिकतामा हिँडेको थिएँ । तर अहिले नयाँ परिस्थिति बन्यो र म त्यसमा पूरै होमिएँ ।
– उमेश चौहान (कान्तिपुर)
What if you could work from Anywhere?
Explore More with something that can change your Life!









