01/15/2026, 23:26:50
बिहिबार, माघ ०१, २०८२

विशेष महाधिवेशनका नाममा हर्कत गरियो : नैनसिंह महर


काठमाडौँ, माघ १ : अनेक चरणका द्विपक्षीय र बहुपक्षीय छलफल तथा रस्साकस्सीपछि पनि कांग्रेसको विभाजन टर्न सकेन। संस्थापन र विशेष महाधिवेशन — दुवै पक्षले आ–आफ्नो बाटो तय गरेपछि कांग्रेसीहरू अनौठो मनोदशामा छन्।

यही पृष्ठभूमिमा संस्थापन पक्षका नेता नैनसिंह महरसँग गंगा बीसीले गरेको संक्षिप्त कुराकानीः

अन्ततः कांग्रेस एकताबद्ध हुन सकेन नि ?

खासगरी कांग्रेसको चार वर्षमा हुनुपर्ने नियमित महाधिवेशन समयमा पदाधिकारीहरूले सम्पन्न गर्न सकेनन्। अर्को, गत जेठको बैठकमा महामन्त्री लगायत पदाधिकारीले एक वर्ष म्याद थप्नुपर्छ भन्ने आशय राखे। क्रियाशील सदस्यता वितरण र नवीकरण गर्ने जिम्मेवारी महामन्त्रीकै थियो, तर त्यसमा काम हुन सकेन।

जेन–जी आन्दोलनपछि पार्टी सभापतिमाथि सांघातिक हमला भएको र पार्टीका धेरै नेताका घर तथा व्यापारिक प्रतिष्ठान जलेको अवस्थामा देशलाई निकास दिनुपर्ने थियो। त्यसका लागि अरू पार्टी, जेन–जी लगायत सबैसँग पार्टीले छलफल गर्नुपर्ने थियो। तर त्यो नगरी विशेष महाधिवेशनको कुरा उठाइयो।

दुई महामन्त्रीले ‘कार्यवाहक सभापति दिए कुरा मिलाउँछौँ, विशेष महाधिवेशन माग्दैनौँ’ भन्नुभएको थियो। शेरबहादुर देउवाले कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई दिनुभयो। त्यसपछि उहाँहरूले अझै विशेष महाधिवेशन माग गर्नुभयो । आफैं विशेष महाधिवेशन बोलाउनुभयो। सभापतिको एकताबद्ध बनाउने प्रयास सफल हुन सकेन र अन्ततः विभाजन भयो। यसले कांग्रेसलाई मात्रै होइन, आम जनतालाई पनि निराश बनाएको छ।

तपाईंहरूका तर्फबाट पनि विभाजन रोक्ने प्रयास सफल हुन सकेन नि ?

पार्टी सञ्चालन ‘हाइ कमान्ड’ बाट गर्ने, निर्वाचनको टिकट बाँड्न संसदीय बोर्ड गठन गर्ने, विशेष महाधिवेशनको स्वामित्व लिने विषय केन्द्रीय कार्यसमितिमा छलफल गरेर निर्णय लिने सहमति थियो। धेरै कुरा मिलिसकेको अवस्थामा उहाँहरूले नेतृत्व चयनका लागि मनोनयन सुरु गरेपछि कुरा बिग्रियो। पार्टीले अनुशासनको कारबाही अगाडि बढाउनुपर्ने दुर्भाग्यपूर्ण अवस्था आयो।

विशेष महाधिवेशनमा ५४ प्रतिशतभन्दा बढी प्रतिनिधि सहभागी छन्, उनीहरूले गरेको निर्णय नै आधिकारिक होला नि ?

कांग्रेसले महाधिवेशन घोषणा गरिसकेको छ। विशेष महाधिवेशनलाई आधिकारिक भनेर बाहिर प्रचारबाजी गर्न खोजिएको छ। तर कानुनी र व्यावहारिक सन्दर्भले पनि यसमा अंग पुगेको छैन। विशेष महाधिवेशनका सन्दर्भमा महामन्त्रीहरूले केन्द्रको अधिकार भन्दै साथीहरूलाई भ्रममा पार्ने प्रयास गर्नुभएको छ।

देश थिलोथिलो परेको बेला, चुनावको मुखमा जनतालाई निराश हुने गरी विशेष महाधिवेशनका नाममा हर्कत गरियो। विशेष महाधिवेशनमा भनिएको जति संख्या नै उपस्थित छैन। दुवै महामन्त्रीले साथीहरूलाई भ्रममा पार्नुभयो। साथीहरूको भावनामाथि पनि कुठाराघात भएको छ।

निर्वाचन आयोगमा अद्यावधिक गर्न जानेबारे तयारी के छ ?

निर्वाचन आयोगमा हामीले महामन्त्रीलाई अनुशासनको कारबाही गरिएको उल्लेखसहित जानकारी पठाइसकेका छौँ। कांग्रेस निर्वाचन आयोगमा शेरबहादुर देउवाको नाममा दर्ता छ र हालै मात्र महामन्त्रीसहितको उपस्थितिमा प्रतिनिधिसभाको समानुपातिक सूची र राष्ट्रिय सभाका उम्मेदवार दर्ता गराइसकेका छौँ। त्यस कारण हामीले केही गर्नुपर्दैन। जसलाई समस्या पर्छ, उनीहरूले विचार गर्ने विषय हो।

राजनीतिक दलसम्बन्धी ऐनअनुसार बहुमत केन्द्रीय समिति जहाँ छ, त्यही आधिकारिक हुन्छ। चुनावचिह्न र झन्डा पनि त्यसैको हुन्छ। निर्वाचन आयोगमा यससम्बन्धी विभिन्न नजिरहरू छन्।

– गंगा बीसी