
काठमाडौँ, माघ ४ गते । तीन वर्षअघि हातेमाइक बोकेर गाउँ–गाउँ डुल्दै एक्लै भोट मागेर स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचित हर्कराज राई (साम्पाङ) ले श्रम संस्कृति पार्टी गठन गरेका छन् । उनी धरान उपमहानगरपालिकाको मेयरबाट राजीनामा दिएर राष्ट्रिय राजनीतिमा होमिने तयारीमा छन् । प्रधानमन्त्री बन्ने लक्ष्य लिएका साम्पाङले सुनसरी–१ बाट उम्मेदवारी दिने भन्दै घरदैलो अभियान नै थालिसकेका छन् ।
चुनावी अभियान चलाइरहेका उनीसँग धरान पुगेर डीपी उपाध्याय, गौरव पोखरेल र एलिना राईले गरेको संवाद :
धरानलाई त अन्यत्रभन्दा पहिल्यै चुनाव लागिसकेछ, जनतासँग के भनेर भोट माग्दै हुनुहुन्छ ?
जनतासँग खास ठूलो कुरा भनेको छैन । देश बचाउनुपर्छ र बनाउनुपर्छ भनिरहेको छु । देशमा दशकौंसम्म भाषण मात्रै सुन्ने सुनाउने काम भयो, अब काम गर्नतर्फ लाग्नुपर्छ भन्ने विचार सुनाउँदै हिँडिरहेको छु ।
जनताले गत स्थानीय निर्वाचनमा तपाईंलाई पाँच वर्षका लागि चुनेका थिए । तर, यतिबेलै घरदैलोमा जाँदा बीचमै छाडेर किन प्रतिनिधिसभा जानुपर्यो भनेर सोधिरहेका छैनन् ?
देशमा जेन–जीको आन्दोलन भयो, जुन कसैले सोचेको थिएन । २०८४ मा गर्नुपर्ने चुनाव यसरी अगाडि आउँछ भन्ने मैले पनि सोचेको थिइनँ । अप्रत्याशित ढंगबाट भएको जेन–जी आन्दोलनपछि देश दुर्घटनाग्रस्त भएको छ, मैले बुझ्दा । त्यो दुर्घटनाग्रस्त देशलाई सम्हाल्नका लागि एउटा इमानदार व्यक्तिको खाँचो देख्छु । र, त्यस्ता व्यक्तिहरू मैले अरू देखिनँ । जो दशकौं अघिदेखि राजनीति गरिरहनुभएको छ, उहाँहरूबाट पनि त्यो खाँचो टर्दैन । उहाँहरूमा निष्ठा, लगन र भिजन देखिएन ।
नयाँहरूमा पनि मैले खास त्यस्तो केही देखिनँ । जेन–जीको आन्दोलनमा पनि सबै नेताहरूको भागाभाग भएको थियो । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई बोलाइरहेका थिए, जेन–जीले । उनी पनि डरले जान सकेनन् । पाँच–छ महिनापछि अहिले निस्किनुभएको होला । त्यस्तोमा यो देश चलाउँछु भन्ने हिम्मत गर्ने मान्छे नै देखिएन । देशमा नेतृत्व नै रहेनछ भन्ने मैले बुझें । त्यसैले म आफैं अगाडि बढ्नुपर्छ भन्ने निष्कर्षमा पुगें । देश बचाउने कुरामा म धरान उपमहानगर मात्रै चलाएर बसेर पनि हुन्थेन । त्यसैले पार्टी खोलेर अघि बढ्नु मेरो बाध्यता हो ।

उपमहानगरको मेयरबाट कहिले राजीनामा दिने तयारी गर्नुभएको छ ? कुन निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिनुहुन्छ ?
६ गते मनोनयन दर्ता गर्नुअघि राजीनामा दिइसकेको हुन्छु । मैले यही (धरान) क्षेत्रबाट लड्छु भनेर भनेको छु । धरानका जनतालाई मैले पूर्ण रूपमा सेवा पनि गर्न पाइनँ, बाध्यता नै त्यस्तै भयो । तर धरानकै जनताले मलाई यहाँ ल्याइपुर्याउनुभएको हो । आज म जे छु, धरानका जनताकै मतको कारणले छु ।
उहाँहरूको सेवा सुविधाका लागि विगतमा म केन्द्रमा गएर स्वतन्त्र मेयरका रूपमा लड्दै आएको थिएँ । त्यसबेला केन्द्रले हेर्ने दृष्टिकोण फरक थियो । उहाँहरूले बजेट पनि भनेको जस्तो दिनुभएन । अनेक विषय छन् तर नगर प्रमुख भएको कारणले मैले बिलौना गर्ने ठाउँ पनि छैन । तर, अब आफैं सिंहदरबारमा पुगेर देश जोगाउने गरी सुनसरी–१ बाट उम्मेदवारी दिँदै छु ।
तपाईंले प्रधानमन्त्री बन्छु भनेर सार्वजनिक रूपमा भनिरहनुभएको छ, त्यो कसरी सम्भव छ ? तपाईं नेतृत्वको पार्टीले कति ठाउँमा उम्मेदवारी दिन्छ र कति ठाउँमा जित्छ ? जनताले तपाईंको पार्टीलाई किन रोज्छन् ?
श्रम संस्कृतिका तर्फबाट सबै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने घोषणा गरिसकेका छौं । अहिले पनि नेताहरू टिकट लिन धरानमा आइरहनुभएको छ । जुनै टिकटको पनि पैसा लाग्ने रहेछ तर श्रम संस्कृति पार्टीको उम्मेदवार बन्न टिकटमा पैसा लाग्दैन । धमाधम टिकट वितरण पनि भइरहेको छ । हामीलाई भोट किन दिनुपर्छ प्रश्नको उत्तरचाहिँ गफ गर्ने मान्छे चुन्ने कि काम गर्ने मान्छे भन्ने हो । जहाँसम्म म परिचित छु, स्थापित छु या छैन, त्यो त जनताले भन्ने हो । जति म परिचित छु, मेरो कामले परिचित छु ।
तपाईं बोलीको कारणले पनि परिचित हुनुहुन्छ भन्छन् नि ? धेरैले मेयर सा’ब रुखो बोल्नुहुन्छ भन्छन् । किन त्यस्तो बोल्नुहुन्छ ?
कडाभन्दा पनि यथार्थ बोल्छु । सत्य कुरा बोल्न मलाई डर लाग्दैन । हिचकिचाहट पनि लाग्दैन, लाज पनि लाग्दैन । त्यसले मान्छेलाई मेरो बोली अलिकति कडा जस्तो लाग्छ ।
कतिपयले त्यस्तो कडा नबोलिदिए हुन्थ्यो पनि भन्छन् नि ?
त्यस्तो भनेको सुन्छु । त्यसले त्यस्तो फरक पार्दैन । काम गर्ने मान्छेले बनाएको पार्टी र काम गर्ने मान्छेहरूको संगठनले यो देशमा काम गर्ने मौका पाउनुपर्छ । र, त्यो काम गर्ने मौकाचाहिँ हामी आफैंले फेरि मनको गीत गाएर, एकल प्रयास गरेर मात्रै हुँदैन । सार्वभौम नेपाली जनताले भोट दिनुपर्छ । जनताले हामीलाई जिताइसकेपछि हामी काम गर्छौं ।
प्रधानमन्त्रीका लागि एउटा पार्टीको सभापति र अध्यक्ष हुनुपर्छ । आफैं प्रधानमन्त्री बन्नका लागि नै वास्तवमा पार्टी खोल्नुपर्छ र चुनावी अभियानमा दौडिनुपर्छ । ऊसँग भिजन हुनुपर्छ । तर, यहाँ नयाँ दोकानहरूजस्तै पार्टीहरू खुलिरहेका छन् । उनीहरूले हामीलाई समर्थन गर्ने, गठबन्धन गर्ने, सहमति र सम्झौतामा जाऔं भनिरहेका छन् । ‘मचाहिँ सक्दिनँ’ भनेर खुलेर आउनुभएको छ, उहाँहरू । श्रम संस्कृति पार्टीचाहिँ ‘हामी आफैं गर्छौं’ भनेर आएका छौं ।
यस्तो सुन्दा कतिपयलाई ‘घमण्डी भयो’ भन्ने पर्दोरहेछ । तर, श्रम संस्कृति पार्टी मैले किन खोलेको त ? अरूलाई प्रधानमन्त्री बनाउनलाई त होइन । अरूसँग गठबन्धन गरौंला, एक साता सँगै बसेर मन नमिले छुट्टै बसौंला भन्नका लागि त होइन । त्यसैले अब ‘म प्रधानमन्त्री बन्नैपर्छ’ भनेर हिँडेको छु । जनताले मलाई प्रधानमन्त्री बनाउनैपर्छ भनेर भन्नुको कारण पनि त्यही हो । म प्रधानमन्त्री बने भनें यो देशमा कामै काम मात्रै हुन्छ ।

झापा–५ बाट उम्मेदवारी दिन लाग्नुभएका बालेन्द्र शाहलाई पनि रास्वपाले प्रधानमन्त्रीको उम्मेदवार बनाउने भनेको छ । तर, तपाईंले एमाले अध्यक्ष केपी शर्मा ओली र शाहलाई त्यहीँ हराइदिन्छु भन्नुभएको छ । के आधार छ ?
प्रतिस्पर्धामा आइसकेपछि आफ्नो प्रतिस्पर्धीलाई हराउनै पर्छ । आफू विजयी बन्नै पर्छ भन्ने ‘नेचर’ रहनुपर्छ । म त्यसमा प्रस्ट छु । हामी उम्मेदवार खडा गर्छौं र त्यो उम्मेदवारले नै जित्छ । हामी केपी ओलीलाई पनि हराउँछौं, बालेनलाई पनि हराउँछौं । म त्यहाँ गएर एकचोटि भाषण मात्रै गर्दिएपछि सकिन्छ ।
झापामा तपाईंको त्यस्तो संगठन संरचना छ र ?
मेरो सांगठनिक संरचना त म एक्लै थिएँ, धरानमा उम्मेदवारी दिँदा । एमालेले १२ हजार, कांग्रेसले आठ हजार, माओवादीको चार/पाँच हजार कार्यकर्ता भएको गफ लगाउँथे । म एक्लो थिएँ । संगठन र ‘पोलिटिक्स’ फरक हो । राजनीति भनेको अर्कै चीज हो । म राजनीतिमा जितेको मान्छे हो । त्यतिखेर पनि जितेको थिएँ, आज पनि जितेको छु ।
आज गाउँ–गाउँमा उहाँहरूले संगठन विस्तार गर्न नै सक्नु हुन्न । एउटा भेलाका लागि गाडीबाट मान्छे ल्याउनुपर्छ । त्यसैले एउटा व्यक्तिले मात्र पनि ‘पोलिटिक्स’ जित्न सक्छ । त्यसको उदाहरण म आफैं हुँ । त्यतिबेला म बिहान निस्किन्थें, कहाँ जाने भन्ने थाहा हुँदैनथ्यो । जहाँ जान्थें, खुसी लाग्थ्यो, कराएर हिँड्थे । अहिले एमालेकै कार्यकर्ताहरूले ‘माटो’ मा भोट हाल्नु हुन्छ । किनभने देशको माया लाग्दैन र उहाँहरूलाई ?
उहाँहरू दुवै जनालाई हराउने तपाईंहरूको उम्मेदवारचाहिँ को हो ?
उम्मेदवार को भन्ने नै होइन, उहाँहरूचाहिँ को हो र फेरि ? एक जना केपी ओली, एक जना बालेन होइन ? केपी ओलीले के गर्नुभएको छ ? थाहा छ तपाईंलाई ? खोज पत्रकारिता त गर्नुभएको होला । उहाँले केही पनि गर्नुभएको छैन । खानेपानी चाहिएको गाउँमा खानेपानी दिन छोडेर उहाँले, हुन त त्यहाँको विकासको मैले विरोध गरेको होइन तर एउटा समग्र देशको प्रधानमन्त्री जस्तो मान्छेले प्राथमिकता हेर्नुपर्छ । आफ्नो कार्यकर्ता कहाँ छ, आफ्नो आधार इलाका कहाँ हो, त्यहाँ मात्रै विकास गर्ने होइन । अहिले जसले पनि त्यस्तै गरेको देखिन्छ । सबैतिर प्राथमिकता दिनुपर्ने हो । जस्तै, उहाँहरूले धराने जनताको खानेपानीका लागि बजेट छुटाउनु भएन । प्रचण्ड प्रधानमन्त्री हुँदा पनि गर्नु भएन ।

तपाईं एक पटक गाग्री नै लिएर पनि सिंहदरबार पुग्नुभएको थियो । किन ?
केपी ओली प्रधानमन्त्री हुँदा पनि धराने जनतालाई सहयोग गर्नु भएन । गठबन्धन सरकारको प्राथमिकतामा परेन । उहाँहरूको प्राथमिकता पहिल्यै अग्लो डाँडामाथि भ्युटावर बनाउनेतर्फ मात्र थियो । त्यसैले उहाँहरूले केही गर्नुभएको छैन । त्यसैले बालेन्द्रदेखि उहाँहरू– दे आर नथिङ (उहाँहरू केही पनि होइन) ।
बालेन्द्र शाहको प्रसंग पनि जोड्नुभयो । उहाँ किन उम्मेदवारी दिन झापा–५ मा आउन लाग्नुभएको होला ?
बालेन्द्रजीलाई आफू ‘पपुलर’ छु, म गएपछि चुनाव जितिहाल्छु भन्ने लाग्यो होला । ‘केपी ओलीलाई हराउनुपर्छ’ भन्ने उहाँको विचार होला । तर उहाँको जोखिम छ । उहाँ पहिले उठ्नुभएको काठमाडौंमै उठ्नुभयो भने हार्नुहुन्छ । किनकि, उहाँले गरेको काम केही पनि छैन । मकै पोल्नेलाई धपाउने, कवाडी व्यवसायीलाई दुःख दिने, सुकुम्बासीलाई दुःख दिनेबाहेक उहाँले केही गर्नुभयो ? गर्नुभएको छैन । जबकि, उहाँको बजेट २६/२७ अर्ब भन्ने सुनेको छु । मैले त त्यति पैसा पाउने हो भने त (धेरै काम गर्ने थिएँ) । म त बिनापैसामै काम गरिरहेको छु ।
श्रम संस्कृति पार्क हेर्न सक्नुहुन्छ । बिनाबजेटको कस्तो राम्रो–राम्रो पार्कहरू बनाइरहेको छु । अब यस्तो नेता चाहिन्छ कि त्यस्तो चाहिन्छ ? जो २६ अर्बको बजेट बोकेर बसेको छ तर केही पनि गर्न सक्दैन । उहाँले त फोहोर पनि उठाउनुभएको थिएन । म एकचोटि काठमाडौं जाँदा ‘फोहोरै फोहोर रहेछ, टाउको दुखेर, डाइरिया चलेर, श्रमदान गरेर पुर्याइदिऊँ कि के हो’ भनेर लेखेको थिएँ । त्यसपछि उहाँलाई अलिकति ‘इगो हर्ट’ भएछ । अनि फोहोर सोहोर्नुभयो । नत्र उहाँलाई त्यही फोहोरले नै तह लगाउँथ्यो ।

तर, उहाँले तपाईंलाई त सामाजिक सञ्जालमै ‘आई लभ यु’ लेख्नुहुन्छ नि ?
‘डिफिटेड मेन्टालिटी’ (पराजित मानसिकता) भन्छ, त्यसलाई ।
नयाँ पार्टीहरूबीच गठबन्धन गर्ने र छुट्टिने क्रम पनि चलिरहेको छ । तपाईंले अहिले उहाँलाई केही होइन भने पनि फेरि छुट्टै गठबन्धन त गर्नु हुन्न नि ? जेन–जीको एउटा टोलीले त्यो प्रस्ताव तपाईंलाई राखेका रहेछन् नि ?
हामी गठबन्धन गर्दैनौं । प्रस्ताव राख्न त के हुन्छ र ? तर, श्रम संस्कृति कोहीसँग मिल्दैन । तर कोही मान्छे हाम्रो पार्टीमा आएर टिकट लिन्छु भन्यो भनेचाहिँ उसलाई दिन्छौं ।
बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टीसँग तपाईंको दूरी व्यक्तिगत रूपमा हो कि वैचारिक रूपमा ? किन तपाईं उहाँप्रति आक्रामक देखिनुभएको हो ?
म आक्रामक छैन । त्यस्तो आक्रामक छ र कहाँ छु र ?
सामाजिक सञ्जालमा हराउँछु भनेर लेखिराख्नु हुन्छ, विरोध गरिरहनु हुन्छ ?
सामाजिक सञ्जालमा त्यस हिसाबमा त मैले अहिले मात्रै लेखेको हो र ? पहिलेदेखि नै उहाँहरूसँग मिल्दैनौं भनेको हो । किनभने, उहाँहरूसँग हाम्रो उद्देश्य मिल्दैन । गन्तव्य नमिलिसकेपछि बाटो छुट्टिन्छ । गन्तव्य फरक हुने पार्टीहरूले सत्ताका लागि मात्रै गठबन्धन गरेर हुँदैन । सत्ता गठबन्धन गर्ने, संख्या मिलाउने, पालैपालो कुर्सीमा बस्ने खालको सम्झौतामा मात्र हामी जाँदैनौं ।
बालेन्द्र शाह र रवि लामिछानेको सहकार्य सत्ताका लागि मात्र हो भन्न खोज्नुभएको ?
त्यति हो, जति कुलमानजीले अहिले के भन्दै हुनुहुन्छ ? उहाँलाई पनि मान्छेले केही हदसम्म विश्वास गरेका होलान् । अहिले कुलमानजीले भनिरहनुभएको छ, चरम स्वार्थीहरू रहेछन् त्यहाँ । सत्ताका लागि जे पनि गर्ने रहेछन् । मलाई यस्तो गर्नुभयो, मेरो पार्टी विलय गराइदिनुभयो भन्ने कुरा आएका छन् ।

त्यसो भए कुलमान घिसिङको ‘उज्यालो नेपाल पार्टी’ सँगचाहिँ तपाईंहरूको गठबन्धन हुने सम्भावना छ ? बालेन्द्र र रवि लामिछानेले पनि सम्पर्क गर्नुभएको थियो होला ?
उहाँहरू (बालेन्द्र र रवि) ले सम्पर्क गर्नुभएको रहेछ । मचाहिँ अलि व्यस्त हुन्छु र त्यति फोन उठाउदिनँ । हाम्रो टिमका साथीहरूलाई सम्पर्क गर्नुभएको रहेछ । अहिले प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्नुभएको छ । अरूले पनि घोषणा गरिरहेका छन् । प्रधानमन्त्री साह्रै सस्तो भयो, अचम्म लाग्छ । मन्त्री त्यस्तै सस्तो भयो । त्यसैले अब नेपाली जनताले माटोमा भोट हाल्नु हुन्छ । तपाईंले जे बुझ्नुस्, अहिले त्यो लहर छ । तपाईंहरूले यसो ‘फिल्ड सर्भे’ पनि गर्नुस् । अहिले १० जनालाई सोध्नुहुन्छ भने मलाई लाग्छ, ६ देखि ७ जनाले चुनाव चिह्न माटो नै भन्नु हुन्छ ।
त्यो परिस्थिति धरानमा मात्रै हो कि देशैभरि हो ?
देशैभरि छ । तपाईंले रास्वपा–रास्वपा भन्नुभयो । तर म सोध्छु, कहाँ जित्नु हुन्छ उहाँहरूले ? कहीँ देख्नु हुन्छ ?
उहाँहरूले त बहुमत ल्याउँछौं, प्रधानमन्त्री बनेर सरकार चलाउँछौं भन्नु हुन्छ नि ?
त्यो त जसले पनि भन्छ । तर, यथार्थ फरक हुन्छ । उहाँहरूलाई बहुमत दिनुपर्ने आधारै छैन । पहिला, उहाँहरूलाई प्रतिपक्षमा रहनु भनेर जनताले मत दिएर पठाएका हुन् । तर, गठबन्धन गर्नुभयो । जसका विरुद्ध उहाँ चुनाव लड्नुभो, उहीसँग गठबन्धन गरेर सरकारमा जानुभयो । अनि सरकारको कुर्सीमा पुग्ने मात्रै रहेछ नि त उहाँहरूको उद्देश्य । वैचारिक भिन्नता छ भनेर विरोध गरेजस्तो मात्र गरेर हुन्छ त ? हुँदैन नि, होइन ? भ्रष्टाचारी हो भने, त्यही नै भन्नुपर्छ । ‘भ्रष्टचारी हो’ भन्ने अनि ‘तँलाई साथ दिन्छु’ पनि भन्नु त भएन नि । त्यसैले उहाँहरूले पहिला नै गल्ती गरिसक्नुभएको छ ।
दे डिड नथिङ (केही गर्नु भएन उहाँहरूले) । रविजी गृहमन्त्री हुनुहुन्थ्यो, उहाँले के गर्नुभयो ? केही पनि गर्नुभएन । केही गर्न नसक्ने मान्छेहरूलाई फेरि हामीले किन भोट दिने भनेर जनताले सोचिराख्नुभएको छ ।
अब उहाँमार्फत बालेनजी आउने भन्ने कुरा छ, यो पनि मिथ्या हो । बालेनजी चुनाव पनि जित्नु हुन्न । उहाँ राजनीतिक ‘क्यारेक्टर’ नै होइन । उहाँले कहिल्यै, कुनै दिन, कुनै आमसभामा गएर आफ्नो विचार राख्नुभएको छ ? उहाँको राजनीतिक विचार के हो ? के आफ्नो कुनै मतदातालाई अहिलेसम्म भेट्नुभयो ? भद्रकुमारी घले, त्यत्रो वृद्धा आमा, पाँच/छ घण्टा उहाँको अफिस अगाडि रुँगेर बस्दासमेत भेट्नु भएन भनेर एकचोटि छ्यापछ्याप्ती समाचार आएको थियो नि । त्यसैले गर्दा उहाँ ‘लिडर’ नै होइन ।
त्यसो भए उहाँ के हो त ?
आई डन्ट नो, अ गेमर मे बी । गेमर होला ।
त्यस्तो थियो भने कसैले ‘गेमर’ लाई किन देशको प्रधानमन्त्रीको उम्मेदवार बनाउँथ्यो होला ?
त्यो त अब देशी/विदेशी ‘इन्ट्रेस्ट’ होला । त्यो हुन सक्छ । किनभने जुन खालको सरकार अहिले चलिरहेको छ, जे भइरहेको छ, त्यसमा बालेनजीको हात छ । कुलमानजीले मलाई भन्नुभयो ।
तपाईंले चुनावी अभियानमा पनि देशी/विदेशी चलखेललाई एजेन्डा बनाउनुभएको छ, तपाईंलाई साँच्चै लाग्छ, जेन–जी आन्दोलनमा त्यस्तो चलखेल भएको थियो ? कि शंका मात्र गर्नुभएको हो ?
विदेशी खेल किन छैन ? छ नि । अहिले चुनाव हुनुभन्दा पहिला दक्षिणतिर साथीहरू जानुको कारण, तटतिर कोही जानुको कारण, यस्ता कुराहरू धेरै छन् । अस्ति जेन–जी आन्दोलन पछाडि को प्रधानमन्त्री हुन्छ भन्ने सूचना अन्तर्राष्ट्रिय मिडियाबाट बाहिर आउनुको कारण पनि केलाउन सकिन्छ । विदेशी मिडियाले १७–१८ दिन पहिले नै भनेको कुराले पनि विदेशी चलखेलको संकेत दिन्छ । चोरले ‘म चोर हो’ भनेर लेखेर हिँड्छ र ? ‘तँ चोर हो’ भन्दा पनि होइन भनेर बचाउ गर्छ । त्यसैले यी सारा विषयलाई हामीले महसुस गरिराखेका छौं, त्यसले चाहिँ त्यही ‘इन्डिकेट’ गर्छ । र, बालेनजी ‘लिडर’ होइन, ‘लिडर’ भनेको त ‘पब्लिक’ सँग हुन्छ । ‘पब्लिक’ को कुरा सुनिरहेको हुन्छ, ‘पब्लिक’ सँग हुन्छ । ‘पब्लिक’ को सेवा सुविधा के छ ? दुःखसुख के छ ? भनेर सोधिरहेको हुन्छ । हैन ? अनि कहिले ननिस्किने व्यक्ति त ‘लिडर’ हुँदैन ।
त्यसो भए वैचारिक कारणले नै तपाईं उहाँहरूसँग मिल्न नसक्नुभएको हो ?
वैचारिक त हो नै । अर्को कुरा नैतिक पनि हो । मचाहिँ देशभक्त मान्छे हो । म प्रस्ट छु । म जे बोल्छु, त्यसमा प्रस्ट छु । मैले अहिले श्रम संस्कृतिमा सबैलाई त्यही सिकाइरहेको छु । तीन करोड नेपालीलाई अब म साँचो बोल्न सिकाउँछु, साँचो कुरा बोल्नुपर्छ ।

तपाईंको चुनावी क्षेत्रमा जाऔं । कसलाई आफ्नो प्रतिस्पर्धी देख्नुहुन्छ ?
मेरो प्रतिस्पर्धी त कोही देख्दिनँ । मैले ८० प्रतिशत भोट ल्याएर जित्नेछु । नागरिकको दुःखसँग म यति नजिक छु कि त्यस्तो नतिजा निश्चित छ । खानेपानी खुवाउँछु भनेर मैले चुनाव जितेको हो । बजेट माग्न कतिचोटि गएँ । एकचोटि त गाग्री नै बोकेर गएँ, उहाँहरूले दिनु भएन । पछि श्रमदान गरेर पानी आउने बनाइयो । त्यतिबेला मेरो हातभरि फोकैफोका उठेको थियो । त्यतिखेर दुनियाँलाई ‘सहयोग गर्नुस् है’ भनेर आह्वान गरेका थियौं ।
मैले पानी खुवाएर लगाएको गुन यहाँका जनताले बिर्सिनु हुन्छ जस्तो लाग्दैन । नत्र यतिखेर गाग्रीको लाइन हुन्थ्यो । पहिले मेयरको कार्यालय अगाडि सचिवालयको टेबलमा त २९ वटा ट्यांकरको नम्बर हुन्थ्यो । भ्याइनभ्याइ ट्यांकरको व्यवसाय । अहिले त्यो बन्द भयो । पानी लिएर यहाँ ट्यांकीमा हालेर खुवाउनुपर्ने तर जंगलबाटै बाइपास गरेर बेचेर चलाइरहेका थिए । ट्यांकरले व्यवसाय गरिरहेको थियो । मैले जितेको तीन दिनदेखि श्रम गरें । खोलाखोली धाएँ । यति दुःख गरेको छु मैले, जनताका लागि । काम गरेर ‘वर्ल्ड रेकर्ड’ राख्ने मान्छे हो म । जनताका धारामा आउने पानीको पाइप जल्दाखेरि रातदिन जंगलमा बास बस्दै आगो निभाउने मान्छे हो । संसारमा कुनै पनि मेयरले त्यस्तो गरेको छैन, म दाबी नै गर्छु ।
जनताको बस्ती बगाउन खोज्दा भेलमा गएर आफ्नो ज्यान जोखिममा राखेर भेलमा पसेर बस्ती जोगाउनेदेखि यावत् काम गरेको छु । एकचोटि डेंगीको ‘ब्रेकआउट’ भयो, त्यतिखेर मलाई आफ्नै कार्यपालिकाका साथीहरूले पनि असहयोग गर्नुभयो तथापि हरेक घरमा पुगेर लामखुट्टेको लार्भा मार्दै पनि हिँडें । बिहानदेखि बेलुकासम्म पानीमा हुन्थें । त्यतिबेला म बिरामीचाहिँ भइनँ । नगलेको देख्दा आफूलाई प्लास्टिकको मान्छे हुँ कि जस्तो लाग्छ, ढुंगाको मान्छे हुँ कि जस्तो लाग्छ । त्यति दुःख गरेर काम गरेको हो ।
तपाईंले प्रधानमन्त्री बन्ने घोषणा गरिसक्नुभएको छ । पहिलो दल बन्छौं पनि भन्नुभयो । कति ठाउँमा जित्छु भन्ने सोच्नुभएको छ । अरू पार्टीले कति ठाउँमा जित्लान् ?
म अर्काको घरमा चियोचर्चो गर्दिनँ । अरूले जतिसुकै ल्याऊन् तर बहुमत हाम्रो आउँछ । अरूको बहुमत आउँदैन, आउनु हुँदैन । पुरानाले गर्दा देश भत्कियो । नयाँले गर्दा देश जल्यो । बालेनजीहरू हैन सिंहदरबार जलाउँछु भन्दै स्टाटस लेख्ने ? उहाँले नै हैन त जेन–जीले आन्दोलनमा जानुपर्छ भनेर स्टाटस लेखेर दुनियाँभरको गर्ने भित्रभित्र ? उहाँकै टिमको सुधन गुरुङले ‘त्यो सबै कुरा मैले गरेको’ भनेर सरकार गठन गर्दाखेरि कुलमानजी भर्सन मैले सुनेको छु । यो त बालेन सरकार हो नि, अहिले पनि । उहाँ अगाडि नआएको मात्रै हो, त्यतिखेर । भयंकर डराउनु हुँदोरहेछ उहाँ ।
त्यति साह्रै डराएर पनि राजनीति हुँदैन । पुरानोले के भनेर भोट माग्ने, कोठाका कोठा पैसा देखियो । ट्रिपरका ट्रिपर पैसा ओसारेको भन्ने देखियो । कोही नेताको छोरीको घरमा, कोही नेताकै घरमा, होइन ? एनजीओको पूरै षड्यन्त्र छ । बालबच्चालाई गोली मारियो । त्यसखालको दमन राज्यले गरेको छ । अहिले तत्कालीन गृहमन्त्रीले मैले होइन भनिरहेका छन्, त्यसो भए कसले हो त ? यस खालको देशलाई आगोको भट्टीभित्र हालिदिने मान्छेलाई चुनावमा भोट दिन्छन् त नेपालीले ? पुरानोलाई के भनेर जिताउने ? केपी ओलीलाई के भनेर जिताउने ?
शेरबहादुर देउवालाई के भनेर जिताउने ? पाँचचोटि प्रधानमन्त्री बन्नुभयो, अब छैटौंचोटि प्रधानमन्त्री बन्नुस् भनेर भोट हाल्ने होइन । राष्ट्रियता र स्वाधीनताको सवालमा म अत्यन्तै धेरै प्रखर रूपमा मुखरित भएर निस्केको मान्छे हुँ । कुलमान, रवि र बालेनलाई मैले चुनौती पनि दिएको छु, एउटा आन्दोलन एमसीसीको विरुद्धमा गरेर निकाल्नुस् । त्यस पछाडि म पनि सोच्छु । एमसीसीविरुद्ध त उहाँहरूले ‘नो एमसीसी’ भनेर लेख्नै सक्नु हुन्न । स्वाधीनताको पक्षमा नउभिएको मान्छे, यो सीमा मिचिँदा नदुख्ने मान्छे नेता हुन सुहाउँछ ? त्यसले नेपालीको सेवा गर्छ ? रविजीबारे मुकुल ढकालको कुरा त तपाईंले पनि सुन्नुभयो होला । त्यत्रो आरोप लाग्दा उहाँले प्रतिवाद पनि गर्नु भएन ।
तर धेरैले कोशी पूर्वचाहिँ हर्क साम्पाङको प्रभाव राम्रो हुन सक्छ, पहिचानको विषय उठाउनेहरू तपाईंको साथमा छन् तर देशभरि होइन भन्नेहरू पनि छन् नि ?
म राष्ट्रिय राजनीति गर्छु, क्षेत्रीय राजनीति गर्दिनँ । म धार्मिक र जातीय राजनीति पनि गर्दिनँ । म ‘बेस्ड अन ह्युमिनिटी’, मानवताका आधारमा राजनीति गर्छु । प्राथमिकीकरण भनेको के हो भन्ने मलाई जति सायद कसैलाई थाहा होला । चितवनमा चाहिँ अलिकति तुलनात्मक हिसाबले मान्छे थोरै किन भयो भने त्यहाँ जानकारी नै नदिईकन आयोजकले मलाई बोलाउनुभएको रहेछ ।
बुटवलको कार्यक्रम देख्नुभयो ? बुटवल कोशीदेखि पूर्व थियो र ? काठमाडौंको सिफलमा पनि निकै नै हुनुहुन्थ्यो होला नि ? त्यस्तो केही चासै नलागेको भए त किन आउँथे त मान्छे ? त्यसैले जुन कुरा उहाँहरूले भन्दै हुनुहुन्छ, त्यो गलत हो । तर यति हो, अब समय थोरै भएको र विविध सीमितताका कारणले म पश्चिमतिर जान भ्याइराखेको छैन । तर, हामी पश्चिमतिर पनि जान्छौं । त्यसैले ‘एभरेज’ मा राम्रै भोट आउँछ भन्छु ।

कतिपयले तपाईंको विचारचाहिँ प्रस्ट छैन, त्यसैले तपाईंसँग छलफल गर्न पनि गाह्रो भयो भनिरहेका छन् । तपाईंले चाहिँ ‘हर्कवाद’ भनेर प्रचार गरिरहनुभएको छ । खासमा के भन्न खोज्नुभएको हो ?
‘हर्कवाद’ मा मेरो नामको कुनै पनि व्याख्या आउँदैन । ‘हर्कवाद’ भनेको वास्तवमा हाम्रै देशको एउटा वाद हो । प्रकृति, संस्कृति र प्रविधिको संयोजनबाट जीवन चल्छ भने देश पनि यसैगरी चल्छ भन्ने मान्यता हर्कवादले राख्छ । जीवनचाहिँ नचल्ने, देश मात्र चल्ने अमूर्त कुरा हो । हाम्रो देशमा सबै कुरा एकतातिर, जीवनचाहिँ अर्कातिर फर्किरहेको देख्छु । राजनीति जीवनसँग अत्यन्तै नजिकबाट जोडिनुपर्छ ।
हामीकहाँ के भयो भने मार्क्सवाद भन्यौं, तर मार्क्सवाद पढेको मान्छेले बिनास्रोतको सम्पत्ति जोडेर दसतले घर बनाउँछ । त्यो मार्क्सवादमा चाहिँ भ्रष्टाचार गरेर घर बनाऊ भनेर लेखेको छ र ? त्यो च्याप्टरचाहिँ लुकाइएको छ जस्तो लाग्यो मलाई । होइन भने, किन त्यही नेता, मार्क्सवादको विश्लेषकले बिनास्रोतको घर जोडेर बस्छ, सम्पत्ति जोड्छ । त्यसले गर्दा उहाँहरूले विदेशीवाद पढिराख्नुभएको छ । त्यो वाद कि त उहाँहरूलाई पूर्ण रूपमा थाहा छैन, कि त ‘भ्रष्टाचार गर्नुपर्छ, अत्याचार गर्नुपर्छ’ भन्ने च्याप्टर लुकाएर उहाँहरूले व्याख्या, विश्लेषण गर्नुभएको छ । दुईमध्ये एउटा भएको छ ।
त्यसैले अस्पष्ट वादलाई घोकेर बसेर गर्ने राजनीतिभन्दा आफ्नो बारीमा के फलेको छ, सिँचाइ छ कि छैन भन्ने कुरा हेर्ने वाद हो, हर्कवाद । श्रम संस्कृतिले आफ्नो पार्टीको झन्डा बनाएन । किन बनाएन ? किनकि, श्रम संस्कृतिले नेपाली झन्डाप्रतिको मोह नेपाली जनतामा घटेको महसुस गरेको छ । त्यसैले हामीले स्वदेशी वादको कुरा गरेको हो, जसले प्रकृतिको कुरा गर्छ, संस्कृतिको कुरा गर्छ । ढुंगा र माटोको कुरा गर्छ, अनिवार्य उत्पादनको कुरा गर्छ । हाम्रो शासनमा हामी विद्यालय तहमै अन्न उत्पादन गर्न सिकाउँछौं, हामीले खाने खानेकुरा हामीले उत्पादन गर्न सक्नुपर्छ । उद्योग खोल्नुपर्छ, उत्पादन गर्नुपर्छ । श्रम र प्रकृतिलाई जोड्नुपर्छ ।
– डीपी उपाध्याय, गौरव पोखरेल र एलिना राई
What if you could work from Anywhere?
Explore More with something that can change your Life!









