01/18/2026, 10:58:53
आइतबार, माघ ०४, २०८२

बढ्यो पेट्रोलियम पदार्थको भण्डारण


काठमाडौँ, माघ ४ गते । मुुलुकमा पेट्रोलियम पदार्थ (डिजेल, पेट्रोल र हवाई इन्धन) को भण्डारण क्षमता १० वर्षमा ३४ हजार किलोलिटरले बढेको छ । १० वर्षअघि ६८ हजार ११५ किलोलिटर क्षमताको इन्धन भण्डारण रहेकोमा अहिले बढेर एक लाख दुुई हजार १८४ किलोलिटर पुुगेको नेपाल आयल निगमले जनाएको छ ।

२०७२ असोजमा भारतले गरेको अघोषित नाकाबन्दीको पाठ सिकेर निगमले अहिले इन्धन भण्डारण क्षमता बढाएको हो । त्यतिबेला इन्धन भण्डारण क्षमता एक सातालाई पुुग्ने थियो । निगमका प्रवक्ता मनोजकुुमार ठाकुरले पेट्रोलियम पदार्थको भण्डारण क्षमता बढेर १२ दिनको बजार माग धान्ने भएको जानकारी दिनुुभयो । पाइप लाइनबाट डिजेल पेट्रोल आउन थालेपछि इन्धन भण्डारण बढेको उहाँले जानकारी दिनुुभयो ।

निगमका अनुसार अहिले पेट्रोल र डिजेलको माग १३ दिन, मटितेलको माग ४२ दिन र हवाई इन्धन १० दिनसम्म धान्न सक्ने गरी भण्डारण क्षमता छ । निगमसँग खाना पकाउने ग्यासको भण्डारण क्षमता भने शून्य रहेको छ । नेपाल एलपी ग्यास उद्योग सङ्घका अनुसार निजी व्यवसायीसँग बुलेटमार्फत सात हजार मेट्रिक टन खाना पकाउने ग्यास भण्डारण हुने गर्छ ।

२०७२ सालमा लामो समयसम्म भएको अघोषित नाकाबन्दीका कारण पेट्रोलियम पदार्थको आपूर्तिमा अवरोध हुुँदा बजारमा उपभोक्ताले अभाव खेप्नु परेको थियो । रक्सौलदेखि बाराको मोतीहारीसम्म पाइप लाइनबाट पेट्रोलियम पदार्थ आउन थालेपछि इन्धन भण्डारण पनि बढाइएको हो । निगमका अनुसार अमलेखगन्जमा १८ हजार किलोलिटर र पोखरामा १० हजार किलोलिटर क्षमताको इन्धन भण्डारण थपिएको छ । त्यस्तै झापाको भद्रपुर, दाङ र जनकपुरमा बन्डेड ट्याङ्की निर्माण गरी भण्डारण बढाइएको निगमले जनाएको छ । २०७६ भदौदेखि नियमित रूपमा पाइप लाइनमार्फत डिजेल आउन थालेकोमा पछिल्लो एक वर्षदेखि पेट्रोलसमेत आउन थालेको छ ।

इन्धन भण्डारणको क्षमता ६८ हजार ११५ किलोलिटर हुुँदा पेट्रोल भण्डारणको क्षमता १० हजार ८९२ किलोलिटर, डिजेलको भण्डारणको क्षमता ४४ हजार ७७३, मटितेलको क्षमता चार हजार ३२९ र हवाई इन्धनको क्षमता आठ हजार १२१ किलोलिटर थियो । निगमका अनुसार स्तरोन्नतिपछि नेपालमा पेट्रोलको भण्डारण गृहको क्षमता १० हजार ८९२ बाट वृद्धि भएर अहिले २८ हजार ५४२ किलोलिटर पुगेको छ । यस्तै डिजेलतर्फ ४४ हजार ७७३ किलोलिटरबाट वृद्धि भएर अहिले ६० हजार ४०१ किलोलिटर र हवाई इन्धनतर्फ आठ हजार १२१ किलोलिटरबाट वृद्धि गरी नौ हजार १२० किलोलिटर क्षमताको भण्डारणगृहमा स्तरोन्नति गरिएको छ ।

मटितेल प्रयोग नभएर उपभोग दर घटेकाले यसको भण्डारण क्षमता भने घटाइएको छ । विगतको चार हजार ३२९ किलोलिटर क्षमताको भण्डारणगृहलाई घटाएर अहिले चार हजार १९५ किलोलिटरमा सीमित पारिएको निगमले जनाएको छ । निगमको कुल भण्डारण क्षमतामध्ये १० प्रतिशतका दरले १० हजार २२७ किलोलिटर इन्धन हरेक समय भण्डारणगृहमै राख्नु पर्छ । निगमका अनुसार १० हजार २२७ किलोलिटर इन्धन भण्डारणगृहको ट्याङ्कीबाट प्राविधिक रूपमा निकाल्न वा झिक्न मिल्दैन । यो परिमाणबाहेकको ९२ हजार ५२ किलोलिटर प्रयोग गर्न मिल्ने हुुन्छ । २०७५ सालमा सरकारले ९० दिनलाई पुग्ने गरी इन्धन भण्डारणगृह निर्माण गर्ने नीति घोषणा गरे पनि जुुन कार्यान्वयनमा आउन सकेन ।

पाँच वर्षअघि वार्षिक रूपमा १० देखि १५ प्रतिशतका दरले इन्धनको खपत बढ्ने गरेकोमा हाल घटेको निगमले जनाएको छ । निगमका अनुसार आर्थिक वर्ष २०८०÷८१ मा पेट्रोल दुई प्रतिशत, डिजेल एक प्रतिशत, हवाई इन्धन ११ प्रतिशत र ग्यास दुई प्रतिशत खपत बढेको छ । पछिल्लो समय विद्युतीय गाडीको प्रयोग बढ्दै गएकाले पनि इन्धन खपतमा सामान्य कमी आएको निगमले जनाएको छ ।

– लक्ष्मी सापकोटा