काठमाडौँ, माघ ४ गते । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा सदस्य निर्वाचन कार्यतालिका अनुसार अघि बढिरहेको बताउनुभएको छ । आयोगबाट स्वीकृत कार्यतालिका अनुसार माघ २ गते सबै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेको बताउँदै कार्यवाहक प्रमुख भण्डारीले तयारीका हिसाबले ९० प्रतिशत काम सकिएको बताउनुभयो ।
निर्वाचन आयोगमा चुनावको तयारी सम्बन्धमा गृहमन्त्री ओमप्रकाश अर्यालसँगको शनिबार भएको छलफलमा भण्डारीले आयोगले प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्य निर्वाचनको दुवै तयारीलाई एकसाथ अघि बढाएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “आयोगबाट स्वीकृत कार्यतालिका अनुसार निर्वाचनको काम नियमित र तालिका अनुसार अघि बढिरहेको छ । निर्वाचन कार्यालयहरू स्थापना भइसकेका छन् । अब निर्वाचन तयारीका हिसाबले हामी ८०–९० प्रतिशतसम्म पुगेका छौँ ।”
उहाँले निर्वाचन आचारसंहिता पालनालाई प्रभावकारी बनाउने पनि बताउनुभयो । आचारसंहिता कार्यान्वयनलाई आयोगले सूक्ष्म रूपमा अनुगमन गर्ने र विगतका अनुभवका समेत आधारमा कार्यान्वयन गर्ने पनि बताउनुभयो । छलफलमा गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचन सुरक्षा प्रत्याभूतिमा सरकारले कुनै कमी हुन नदिने बताउनुभयो । मन्त्री अर्यालले मन्त्रालय र आयोगबिच समन्वयमा हुनुपर्ने कामलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता पनि जनाउनुभयो ।
उहाँले भन्नुभयो, “मन्त्रालय र आयोगबिच दोहोरो समन्वय हुनुपर्ने विषय पहिचान गरी सहकार्य हुन्छ । सुरक्षा व्यवस्थामा सरकारका तर्फबाट पर्याप्त रूपमा तयारी छ । निर्वाचन तयारी, मतदान प्रक्रिया र मतगणनासम्मको एकीकृत सुरक्षा योजना अनुसार सुरक्षाको प्रत्याभूति सरकारले गर्छ ।”
आयोगका सचिव कृष्णबहादुर राउतले आयोगले हालसम्म गरेका मुख्य कामको जानकारी दिनुभएको थियो । सचिव राउतले समानुपातिक निर्वाचनको काम तालिका अनुसार अघि बढिरहेको र प्रत्यक्षतर्फको काममा आयोग अघि बढेको बताउनुभयो । उहाँले राष्ट्रिय सभा सदस्य निर्वाचनको मतपत्र छपाइ सकिएको जानकारी दिँदै सम्बन्धित कार्यालयमा पठाउने चरणमा रहेको बताउनुभयो । राष्ट्रिय सभामा १८ जना सदस्यका लागि हुने निर्वाचनमा एक जना निर्विरोध भइसक्नुभएको र १७ जनाका लागि चुनाव हुने उहाँले बताउनुभयो ।
राउतका अनुसार समानुपातिकतर्फ शुक्रबारसम्म ६१ लाखभन्दा बढी मतपत्र छपाइ भइसकेको छ । दुई करोड आठ लाख हारहारीमा मतपत्र छपाइ हुनुपर्नेमा दैनिक औसत दस लाख हाराहारीमा छपाइ भइरहेको पनि जानकारी उहाँले दिनुभयो । माघ ९ गते प्रत्यक्षतर्फको उम्मेदवारी टुङ्गो लागेसँगै मतपत्रको डिजाइन स्वीकृत र छपाइ कार्य प्रारम्भ हुने उहाँले बताउनुभयो ।
निर्वाचन सामग्री खरिदको प्रक्रिया जिल्ला कार्यालयहरूलाई पनि हस्तान्तरण गरिएको र सोही अनुसार काम भइरहेको उहाँको भनाइ थियो । सरकार मातहतका संस्थासँग खरिदलाई प्राथमिकता दिएको जानकारी उहाँले दिनुभयो ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!









