01/07/2026, 12:14:59
बुधबार, पुष २३, २०८२

एमाले गुल्मीबाट प्रदीप ज्ञवाली र गोकर्ण विष्टको एकल नाम सिफारिस


बुटवल, पुस २१ : नेकपा एमालेले गुल्मीबाट पार्टीका उपाध्यक्ष गोकर्ण विष्ट र नेता प्रदीप ज्ञवालीको नाम छुट्टाछुट्टै निर्वाचनबाट एकल रूपमा सिफारिस गरेको छ ।

एमालेको आइतबार सम्पन्न क्षेत्रीय समितिको बैठकले गुल्मी क्षेत्र नं २ बाट उपाध्यक्ष गोकर्ण विष्टको एकल नाम सिफारिस गरेको हो । यसअघि ज्ञवालीको नाम क्षेत्र नं १ को क्षेत्रीय कमिटीले सर्वसम्मत रूपमा छनोट गरेर पठाएको थियो । क्षेत्र नं १ बाट ज्ञवालीको नाम मात्र प्रस्ताव भएको थियो । तर, क्षेत्र नं २ बाट आकांक्षी धेरै भए पनि क्षेत्रीय कमिटीले विष्टको नाम एकल सिफारिस गर्ने निर्णय गरेको हो ।

क्षेत्र नं २ मा उम्मेदवारका लागि उपाध्यक्ष विष्टसहित रामकुमारी झाँक्री, राजेन्द्र अर्यालसहित ६ जना आकांक्षीको नाममा छलफल भएको थियो । तर, क्षेत्रीय संयोजक रितबहादुर थापाले जितका लागि विष्ट नै लोकप्रिय उम्मेदवार देखिएकाले एकल सिफारिस गरिएको बताए ।

चर्चामा र आकांक्षीमा धेरै नाम भए पनि जित्ने उम्मदवार विष्ट मात्र हो,’ उनले भने, ‘त्यसैले क्षेत्रीय कमिटीमा प्राप्त दुईतिहाइभन्दा बढी सुझावका आधारमा उहाँको नाम एकल सिफारिस गरिएको हो ।

गुल्मी–२ मा २०५६ देखिका संसदीय निर्वाचनमध्ये २०६४ बाहेक सबै चुनाव विष्टले जित्दै आएका छन् । २०६४ मा माओवादीले जितेको थियो । गत २०७९ को निर्वाचनमा कांग्रेस, माओवादी र एकीकृत समाजवादीका तर्फबाट उम्मेदवार बनेकी रामकुमारी झाँक्रीलाई पनि विष्टले पराजित गरेका थिए ।

समाजवादी छाडेर एमाले रोजेकी झाँक्रीले पनि गुल्मी–२ बाटै चुनाव लड्ने आकांक्षा राख्दै आएकी थिइन् । तर, विष्टको एकल नाम सिफारिस भएपछि झाँक्रीलाई अप्ठ्यारो परेको छ ।

– घनश्याम गौतम