03/01/2026, 09:16:45
आइतबार, फागुन १७, २०८२

गाउँभरि ज्वरो सङ्क्रमण, दुई बालकको मृत्यु


बैतडी, फागुन १६ गते ।ज्वरोको लक्षण देखिएको एकै घरका दुई जना बालकको पाँच दिनको फरकमा मृत्यु भएको छ । मृतक बालकमा उच्च ज्वरो आउने, रिङटा लाग्ने, ओठ सुक्ने र बान्ता हुने लक्षण देखिएको छ ।

गाउँभरि केही दिनदेखि ज्वराका बिरामी फेला परेपछि स्वास्थ्यकर्मीको टोली गाउँ जाने तयारीमा छन् । जिल्लाको पुर्चौडी नगरपलिका–१०, विजयपुरको महरा गाउँका १० वर्षीय बालक विकास महराको शनिबार बिहान ८ बजे मृत्यु भएको छ । फागुन ११ गते उहाँको दाइ १३ वर्षीय विनो महराको त्यसैगरी मृत्यु भएको थियो ।

मृतक बालक हिजो मात्र बुवाको साथमा स्वास्थ्य संस्थामा उपचार गर्न गएको स्थानीय गलेश्वर माविका शिक्षक उद्धव महराले बताउनुभयो । उहाँले गाउँमा केही दिनदेखि ज्वराका बिरामी बढ्दै गएको जानकारी दिनुभयो ।

ज्वरो आएर एकै घरमा दुई जना बालकको मृत्यु भएपछि स्वास्थ्यकर्मीको टोली लिएर गाउँतर्फ गइरहेको पुर्चौडी नगरपलिकाका स्वास्थ्य शाखा प्रमुख विनोबहादुर कुँवरले बताउनुभयो ।

ज्वरोको लक्षण देखिएर दुई जना बालकको मृत्यु भएपछि जिल्ला अस्पताल बैतडीबाट डाक्टर सिजन खड्काको नेतृत्वमा प्रयोगशाला (ल्याब) सहित पाँच जना स्वास्थ्यकर्मी महरा गाउँका लागि हिँडेको अस्पतालका सूचना अधिकारी हरिश पन्तले बताउनुभयो ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..