कृष्णयजुर्वेदको तैत्तिरीय शाखाका अतिविशिष्टतम् उपासना पद्धतिका साथै तन्त्रशास्त्रका अत्यन्त रहस्यमय मन्त्र, यन्त्र र पूजाविधानद्वारा उपास्य रहने भगवान् श्री पशुपतिनाथको पूजा पद्धतिमा निगमागमको मिश्रमार्गको प्रयोग हुने गरेको छ । यसप्रकारको पूजाविधानमा अत्यन्त गुढ शास्त्रीय दर्शन, जटिलतम साधना पक्ष र वैज्ञानिक वैशिष्ट्य अन्तर्निहित रहेको छ । यसरी सम्पादन गरिने पूजाको वैशिष्ट्य र गाम्भीर्यले नै राष्ट्रदेवको शास्त्रीय र लौकिक महत्वबारेमा थप विषयबोध गराउँछ ।
उपासनामा वैदिक मान्यता
वेदलाई अनादि (सनातन), अपौरुषेय दोषरहित र सुव्यवस्थित शास्त्रका रूपमा सनातनीहरूले लिइआएको पाइन्छ । शुक्लयजुर्वेदाचार्य डा. आमोदवर्धन कौण्डिन्न्यायनले वेदलाई चार पुरुषार्थमध्ये विशेष गरी धर्म र मोक्षका विषयमा र तिनका अनुकूल रूपमा अर्थ र कामका विषयमा पनि ज्ञान दिने, अनादि कालदेखि गुरुशिष्य परम्पराले आएको, गुरुले शुद्धकुलीन द्विजातिलाई विधिपूर्वक पढाइने तथा ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद गरी चार प्रकारमा बाँडिएको शब्दराशिलाई वेदका रूपमा परिभाषित गर्नुभएको छ । उहाँ भन्नुहुन्छ, वेदमा शब्द अर्थको वाचकका रूपमा मात्र नरहने अपितु त्यसमा अरू महत्त्वपूर्ण कुरासमेत निहित हुने भएकाले वेदमा शब्द र शब्द क्रम अपरिवर्तनीय हुन्छन् । मन्त्र र ब्राह्मण भन्ने प्रमुख दुई विभाग प्रत्येक प्रकारका वेदमा हुन्छन् । त्यसैले मन्त्र र ब्राह्मण वेद हो भन्ने पनि गरिन्छ, ‘मन्त्रब्राह्मणयोर्वेदनामधेयम्’ (आपस्तम्बश्रौतसूत्र २४।१।३१, कातीयप्रतिज्ञासूत्र १।२) ।
प्रायः वैदिक कर्ममा प्रयोग गरिने वेद वाक्यलाई मन्त्र र त्यसको व्याख्या गरिएको वेद भागलाई ब्राह्मण भन्छन् । मन्त्र ऋक् यजुः र साम गरी तीन प्रकारका छन् । छन्दोबद्ध मन्त्र ऋक्, गद्यवाक्य यजुः र गीति साम भनिन्छन् । वेदका मन्त्रसंहितामा विभिन्न कर्ममा प्रयुक्त हुने मन्त्रहरूको सङ्कलन हुन्छ । ब्राह्मण ग्रन्थमा वैदिक यज्ञहरूको विस्तृत विधान गरिएको हुन्छ । श्रौतसूत्रमा चाहिँ ती यज्ञहरूको प्रयोग गर्ने विधि र क्रम बताइएको हुन्छ । जन्मदेखि मृत्युसम्मका संस्कारको र गृह्ययज्ञहरूको साङ्गोपाङ्ग विधि बताउने मूल शास्त्र गृह्यसूत्र हो । वैदिक सनातनीहरूका धार्मिक नियम चाहिँ धर्मसूत्रमा बताइएका हुन्छन् । मुख्यतः वेद भन्नाले मन्त्रसंहिता र ब्राह्मण ग्रन्थ बुझिने भए पनि कुनै एउटा वेदका शाखाभित्र वेदमन्त्रसंहिता, ब्राह्मण ग्रन्थ, श्रौतसूत्र, गृह्यसूत्र, धर्मसूत्र, प्रातिशाख्य र परिशिष्ट ग्रन्थको समूह हुन्छ ।
आफ्ना शाखाका श्रौतसूत्र, गृह्यसूत्र र धर्मसूत्रसमेतका सूत्रग्रन्थहरू वेदमन्त्रसंहिता र ब्राह्मण ग्रन्थ जस्तै गुरुमुख गरी विधिपूर्वक अध्ययन गरिने हुनाले वैदिक परम्परामा अरू शाखाका वेदभन्दा पनि बलिया प्रमाण मानिन्छन् र संस्कार तथा आचारका मूल ग्रन्थका रूपमा अनुसरणीय हुन्छन् । वैदिक कालमा ऋग्वेदका २१, यजुर्वेदका १०१ (शुक्लयजुर्वेदका १५ र कृष्णयजुर्वेदका ८६), सामवेदका एक हजार र अथर्ववेदका नौ गरेर जम्मा ११३१ वटा शाखाहरू प्रचलनमा रहेका थिए । वर्तमानमा शुक्लयजुर्वेदका प्रमुख दुई शाखाहरू : माध्यन्दिनीय र काण्व शाखाहरू एवं कृष्णयजुर्वेदका प्रमुख चार शाखाहरू : तैत्तिरीय, मैत्रायणीय, काठक र कपिष्ठ–कठ शाखा प्रचलनमा रहेका छन् ।
वर्तमानमा नेपालमा शुक्लयजुर्वेदका दुई वटै शाखा र सामवेदका केही शाखा मात्र प्रचलनमा छन् (प्राडा प्रमोदवर्धन कौण्डिन्न्यायनसँगको कुराकानीमा आधारित) । शुक्लयजुर्वेदका माध्यन्दिनीय र काण्व शाखा दुई शाखाका शाखाध्यायीहरूले श्रावण शुक्लपूर्णिमामा गर्ने उपाकर्मको विधि सामवेद अन्तर्गतका शाखाध्यायीले उपाकर्म भाद्र शुक्लपञ्चमीमा गर्ने गरेको बुझिन्छ तर नेपालका सामवेदका शाखाध्यायीहरूले अरूसँग अर्थात् नेपाली शुक्लयजुर्वेदीहरूसँग आफ्नो व्यवहार मिलाउन जनैपूर्णिमाको दिनमा नै उपाकर्मको विधान सम्पादन गर्ने गरेको पाइन्छ । ऋग्वेद र अथर्ववेदका शाखाध्यायी नेपालमा रहेनरहेको हालसम्म थाहा पाइएको छैन ।
श्री पशुपतिनाथको उपासना कृष्णयजुर्वेदको तैत्तिरीय शाखाको विधिविधान अनुसार हुने गरेको पाइन्छ । कृष्णयजुर्वेदका शाखाको प्रचलनमा राजोपाध्याय ब्राह्मणहरूमा प्राचीनकालमा रहेको सुनिन्छ तर यथेष्ठ प्रमाणका आधारमा सोको पुष्टि हुन नसकेको स्थिति छ । सोकै सदृश्य मैथिल ब्राह्मणहरूमा पनि कृष्णयजुर्वेदीय तैत्तिरीय शाखाध्यायीहरू रहेको भन्ने विषय कर्णगोचर भएको छ । यद्यपि यो विषय अनुसन्धेय रहेको छ । तैत्तिरीय शाखाका अध्यायीहरू नेपालमा नपाइएका हुँदा दाक्षिणात्य भारतीय भट्टहरूले पशुपतिनाथको उपासना गर्दै आएका छन् । नेपालको पशुपति ज्योर्तिपीठमा कृष्णयजुर्वेदी तैत्तिरीय शाखाध्यायी भइकन आगममा श्रीविद्यार्चनाधिकार पाएका द्रविण ब्राह्मणहरूलाई नै अर्चक नियुक्त गरिनु अनुशीलनीय छ ।
शिवस्व, देवस्व वा राजस्वको अवियोग, अशौचको मान्यता, आमिषभोजी (मांसाहारी) निषेधलगायतका विषयले यस विषयलाई थप अनुसन्धेय बनाएको छ । पशुपतिनाथको पुजारीको नियुक्तिका लागि भौगोलिक पक्षलाई अत्यन्त महत्वपूर्ण आधारका रूपमा लिने गरिएको पाइएको छ, यस विषयमा थप अनुसन्धानको आवश्यकता रहेको छ । दक्षिण भारतको पञ्चद्रविण ब्राह्मण कुलमा जन्मेका जन्मसिद्धि हिन्दु ब्राह्मण मात्र पशुपतिनाथको पुजारीका रूपमा नियुक्त हुन सक्छन् । यथा–
कर्नाटकमहाराष्ट्रा आन्ध्राद्रविडजातिजाः ।
विन्ध्याद् दक्षिणतो जाताः प्रायश्चित्तं विधाय च ।।
अर्चां पशुपतेश्चैव मरणान्तञ्च पूजयेत् ।
मृतस्तादृश एवान्यश्चाधिकारी तदा भवेत् ।।
(पशुपति दर्शन, सोमयाजी, २०५६)
(भावार्थः विन्ध्याचल पर्वतको दक्षिणमा जन्म लिएका कर्नाटक, महाराष्ट्र, आन्ध्र तथा द्रविणदेशका सपत्निक गृहस्थ ब्राह्मणले प्रायश्चित्त पूर्वक श्री पशुपतिनाथको पुजारी हुनुपर्ने प्रचलन रहेको छ र उपयुक्त भनाइ विभिन्न वंशावलीमा समेत उल्लेख रहेको छ ।)

‘भट्ट’ शब्द संस्कृत भाषाको ‘भर्तृ’ शब्दबाट प्राकृत भई प्रयोग भएको मानिन्छ, जसको अर्थ विद्वान्, पण्डित, प्राज्ञ आदि हुन्छ । पशुपतिनाथका दाक्षिणात्य ब्राह्मणहरूको वास्तविक थर ‘भट्ट’ होइन । यो केवल उपाधि मात्र हो । यसरी नियुक्त हुने ब्राह्मणहरूको थर र गोत्र छुट्टाछुट्टै रहन सक्छ । पशुपतिनाथको प्रधानार्चकलाई ‘रावल’ पनि भन्ने गरिएको पाइन्छ । मूल भट्टले औपचारिक लेखनमा रावल शब्दको प्रयोग गर्ने गर्छन् । वंशावलीमा भट्ट पुजारीभन्दा पहिले मूल पुजारी हुने व्यक्तिहरू तान्त्रिक, साधक, विद्वान् वा सन्यासी नै देखिन्छन्, जसलाई रावल भन्ने सम्मानित पद र विशेष अधिकार पनि दिएको कुरा अन्वेषणबाट थाहा पाइन्छ (भाषा वंशावली, राष्ट्रिय अभिलेखालय र देवमाला वंशवली, योगी नरहरिनाथबाट प्रकाशित) ।
पशुपतिका पुजारीहरूको जेसुकै थर भए पनि जनजिब्रोले ‘भट्ट’ भन्न रुचाएको देखिन्छ । नियुक्त हुने व्यक्तिले आफ्नो थर जेसुकै रहेता पनि आफ्नो थरलाई ‘भट्ट’ नै लेख्ने गरेको पाइन्छ । यद्यपि आफ्नो थर नै लेख्ने भट्टहरू पनि नभएका होइनन् । पशुपतिनाथको दक्षिणपट्टिको उन्मत्त भैरवको स्थापना गर्ने दाक्षिणात्य पुजारी नारायण भट्टले आफ्नो गोत्र बाधुल भएको र जन्मस्थान भारतको उडिसा प्रान्त रहेको उल्लेख एक शिलालेखमा गरेका छन् । अतः भट्ट शब्दले कुनै थर गोत्र नजनाई विशेष उपाधि जनाउने गर्छ ।
पशुपतिनाथका पुजारीहरूलाई ‘भट्ट’ भनिए झैँ श्री पशुपतिनाथलाई परमभट्टारक वा भट्टारक र पशुपतिनाथको शिरमा आराध्य रहने श्री शक्तिश्वरीलाई पराभट्टारिका वा भट्टारिका भनेर आगम पूजा पद्धतिमा उल्लेख गरिएको पाइन्छ । परमभट्टारकको अर्थ परमस्वामी र पराभट्टारिकाको अर्थ परमस्वामिनी हो । यसरी भट्टको मालिक नै परमभट्टारक पशुपतिनाथ हुनुहुन्छ र भट्टहरूको प्रख्यापनका कारण हुनुहुन्छ । यहाँनेर भट्टलाई परमात्मा (पशुपति) र आत्मा (पशु) को सेतुका रूपमा बुझ्न जरुरी छ ।
पशुपतिको तान्त्रिकोपासना
शक्ति उपासनाको अविच्छिन्न परम्परा रहेको नेपाललाई मेरुतन्त्र, कुब्जिकातन्त्र, मन्थानभैरव, तन्त्रचूडामणि, शाक्तानन्दतरङ्किणी, बृहन्नीलतन्त्र, महापीठ निरूपण आदि आगमग्रन्थहरूले तन्त्रको सिद्धपीठका रूपमा प्रस्तुत गरेको छ । उड्डीयाण, कामरूप, पूर्णगिरि र जालन्धर आदि पीठहरूको वर्णनशास्त्रमा पाइन्छ । त्यस्तै वाराणसी, ज्वलन्ती, मायावती, मधुपुरी, अयोध्या र काञ्चीकामाकोटीलाई उपर्युक्त चार पीठमा सम्मिलित गरेर दशपीठको वर्णन पनि शास्त्रमा पाइन्छ । यथाक्रमले ५०, ५१, ५४, १०८ आदि भिन्न भिन्न सङ्ख्यामा पीठहरूको निर्देश पुराणहरू र आगम ग्रन्थहरूमा गरिएको छ । शास्त्रमा उत्तमोत्तम शाक्तपीठका रूपमा वर्णित नेपालमा सम्पूर्ण पशुहरूका मालिक, पार्थिव जगत्का अधीश्वर र कल्याणका प्रतिमूर्ति भगवान् श्रीपशुपतिनाथको अवस्थिति रहेको छ । यथा–
नयपालाख्यपुर्यां तु प्रसिद्धायां महीतले ।
लिङ्गं पशुपतीशाख्यं सर्वकामफलप्रदम् ।।
शिरोभागस्वरूपेण शिवलिङ्गं तदस्ति हि ।।
–शिवपुराण कोटीरुद्रसंहिता १३ । १३–१९
नेपालको मूल तन्त्र परम्परा शाक्तचारले अभिसिञ्चित छ, सोको प्रत्यक्ष प्रतिविम्बन भगवान् श्री पशुपतिनाथको पूजामा पनि नपरेको होइन । शाक्त चार अन्तर्गत नेपालमण्डलमा क्रमाम्नायको अत्यन्त सूक्ष्म अभ्यास भइरहेको तथ्य यहाँनेर उल्लेख गर्नु वाञ्छनीय नै हुन्छ । भारतलगायत अन्यत्रका परम्परामा एकै पटकमा कुनै एक स्वेष्टदेवताको दीक्षा लिएर आजीवन साधना गर्ने प्रचलन रहेको छ । सोको निरन्तरतालाई नै क्रमका रूपमा व्याख्या गर्ने गरिएको पनि पाइन्छ ।
सामान्यार्थमा क्रम भन्नाले नरोकिई चल्दै आउने प्रक्रिया वा सिलसिलालाई बुझाउँछ । ‘क्राम्यते क्रमते वा सर्वं’ विग्रहमा कत्र्रर्थक ‘अच्’ प्रत्यय र “क्राम्यन्ति वस्तूनि जडाजडसाधारणानि यस्मिन्’ विग्रहमा ‘घञ्’ प्रत्यय लागेर क्रम शब्दको निर्माण हुन्छ । काललाई गतिशीलता प्रदान गर्ने स्वयम् गतिशील संवित् चक्रस्वरूप वस्तु विशेषलाई क्रम भनिन्छ ।
क्रम दीक्षाले सुसज्जित भएर साधना गर्ने प्रचलन नेपालमण्डलको प्राचीन तान्त्रिक प्रचलन हो । गृहस्थाश्रममा नै बसेर पुरुषार्थ चतुष्टय अर्थात् धर्म, अर्थ, काम र मोक्ष (मुक्ति) प्राप्ति गरी इहलोक र परलोकलाई समेतलाई उन्नत गराइने तन्त्रसाधनामा पुरुषार्थको क्रमसमेतको घनिष्ठतम् सम्बन्ध रहेको प्रतीति हुन्छ । आगमदीक्षा लिँदा गुरुबाट मन्त्रग्रहण गरिन्छ । तन्त्रमा निहित विषय अत्यन्त गोपनीय र गुरुमुखैकगम्य हुनाले त्यसबारेमा सार्वजनिक रूपमा प्रसार गर्नका लागि बन्देज हुन्छ । दीक्षाग्रहण गराएर शिष्यलाई विधिविधान समग्र दिने यसमा व्यवस्था रहेको छ ।
शाक्ताचार अन्तर्गतको नेपालमण्डलको परम्परामा सर्वप्रथम तन्त्रको दीक्षा ग्रहण गर्नु केही समयअगाडि स्वप्नमन्त्र लिने परम्परा छ । विधिपूर्वक स्वप्नमन्त्र ग्रहण गरी सकेपश्चात् स्वप्नको शुभाशुभ विवेचना गरी आगम दीक्षा लिने गरेको पाइन्छ । यसरी स्वप्नमन्त्र लिँदा अधाम्नायको रहस्यदेवीको तन्त्रदीक्षाको क्रम पूरा हुन्छ । क्रम दीक्षामा यी रहस्य देवीको स्वप्नमन्त्र ग्रहण गरेपश्चात् अर्थोन्नतिको मार्ग उद्दीप्त हुने मान्यता रहेको छ । शक्तिसहित भएका गुरुबाट आगमको मन्त्रग्रहण गर्दा पूर्वाम्नायको मन्त्रयोगको प्रकरण पूर्ण हुन्छ । यस आम्नायकी देवीलाई प्रकाशित साहित्यमा पूर्णेश्वरी, भूवनेश्वरी आदिका नामबाट सम्बोधन गरिएको पाइन्छ ।
जब साधकले योग्य गुरुका सान्निध्यमा गएर तन्त्रको मन्त्र ग्रहण गर्छ, उसको पूर्ववत् अवस्थामा रहेको मानसवृत्तिमा मन्त्रका प्रभावले चित्त निर्मल हुन्छ । मनमा स्वेष्टदेवताका प्रति, गुरुका प्रति, तन्त्रशास्त्रका प्रति अजस्र श्रद्धाभाव उत्पन्न हुन्छ । यसरी पैदा भएको श्रद्धा अविनत रूपमा भक्तिमा परिणत हुन्छ । यो अवस्था नै भक्तियोग हो । भक्तियोगका अधिष्ठात्रीलाई प्रकाशित साहित्यमा निशेश्वरी, दक्षिणकाली आदि नामले सम्बोधित गरिएको पाइन्छ । मनमा जब भक्ति प्रस्फुरण हुन्छ, तब साधक श्रद्धासिक्त भई त्यसलाई आफ्नो व्यवहारमा चरितार्थ गर्न थाल्छ । नित्य, नैमित्तिक र काम्य पूजोपासना र यागानुष्ठान गर्ने, सत्सङ्कादि गर्ने, रुचि अनुसारको कुनै पनि क्रियाहरू गर्ने कामहरूमा साधक संलग्न हुन जान्छ । यसैलाई कर्मयोग भनिन्छ र यस योगकी अधिश्वरी कुब्जिका हुन् भनी लेखिएको पाइन्छ । कर्मयोगबाट ज्ञानको प्रादुर्भाव हुन्छ ।
ज्ञानाम्नायलाई तन्त्रमा उत्तराम्नायका रूपमा वर्णन गरिएको छ । यसको अधीश्वरीलाई तन्त्र साहित्यमा गुह्वेश्वरी, सिद्धेश्वरी आदिका नामबाट चर्चा गर्ने गरिएको पाइन्छ । जब साधकले ज्ञानको प्राप्ति गर्छ, तब उसको चित्तावस्था अनतिरेका भाव (अभेद अवस्था) मा आरूढ हुन्छ । यो अवस्थालाई त्रिपुरसुन्दरी अधिष्ठित ऊध्र्वाम्नाय अर्थात् मुक्तिको अवस्थाका रूपमा शास्त्रमा वर्णन गरिएको पाइन्छ । यसै सन्दर्भमा कुलार्णवतन्त्रको उल्लासको देहायको श्लोकहरू स्मरणीय रहेका छन् । कुलार्णवतन्त्रमा पूर्वाम्नाय सृष्टि, दक्षिणाम्नाय स्थिति, पश्चिमाम्नाय संहार र उत्तराम्नाय अनुग्रहको प्रतीक हुन् भनी उल्लेख गरिएको पाइन्छ । त्यसै गरी पूर्वाम्नाय मन्त्रयोग, दक्षिणाम्नाय भक्तियोग, पश्चिमाम्नाय कर्मयोग र उत्तराम्नाय ज्ञानयोग रहेको तन्त्रशास्त्रले इङ्कित गरेको छ ।
क्रम परम्पराको तन्त्र साधनामा माथिल्लो तहमा
त्रिपुरासुन्दरीको दीक्षाग्रहण हुँदा श्री पशुपतिनाथको शिरोवक्त्रमा त्रिपुरासुन्दरीको यन्त्र लेख्ने विधान राखिएको हो । दाक्षिणात्य भट्ट ब्राह्मणले आफ्नो दीक्षाविधान अनुसारको उपासना गरी भगवान् श्री पशुपतिनाथको लिङ्गविग्रहको उध्र्वपट्टि सर्वाराध्या शक्तिश्वरी श्री त्रिपुरासुन्दरीको प्रतीकस्वरूप यन्त्रराज अर्थात् श्रीचक्रको लेखन एवं स्थापना पूजा हुनेबित्तिकै भगवान् श्री पशुपतिनाथको श्री विग्रह शक्तिपीठ बन्छ । श्रीयन्त्र लेख्नुभन्दा अघि तत्पुरुष, सद्योजात, अघोर, वामदेव र ईशान नाम गरेका पञ्चमूर्तिको रुद्र सूक्तबाट अभिषेक एवं अर्चना गरिए पनि श्री यन्त्र लेखेपछि चारमुख उपास्य नभई देवीसिंहासनको खुट्टा बन्छन् । सद्योजातादि पञ्चवक्त्रहरूका माथि रहने ईशानमुख रूपी फल्याकमा कामकामेश्वर–महाकामेश्वरीको युगल मूर्ति बस्छन् ।
श्री विद्या उपासनाका मुख्य नौ वटा क्रममध्ये महाक्रममा पुगेपछि मात्रै तीन वटा पाशुपतविद्या–लघुपाशुपत, मध्यमपाशुपत र महापाशुपत विद्याको उपदेश हुन्छ । महापाशुपत विद्यालाई महाक्रम र निर्वाणदीक्षा अर्थात् सर्वाधिकार दीक्षासँग जोडिएको पाइन्छ । महाक्रमको माथिल्लो स्तरमा पुगेपश्चात् क्रमैसँग आद्याकाली, श्यामाकाली, दक्षिणकाली, एकजटा, नीलसरस्वती, महोग्रतारा, शारदा, बालात्रिपुरा, बालात्रिपुरसुन्दरी, सिद्धिलक्ष्मी, सिद्धिकराली (गुह्यकाली), कामकलाकाली, उन्मनी, अन्नपूर्णा, भुवनेश्वरी, कुब्जिका, वीर कुब्जिका, वज्र कुब्जिका, पञ्चदशी, षोड्शी र महाषोड्शीको मन्त्र ग्रहण गरेपछि षडन्वयशाम्भव भएर गुरुबाट पूर्णाभिषेक लिइन्छ । त्यसपछि मात्रै माथि उल्लिखित तीन वटा पाशुपत विद्याग्रहण गर्ने अधिकार प्राप्त हुन्छ । यसबाट के कुरा सिद्ध हुन्छ भने महापाशुपत विद्या प्राप्त गर्न साधक श्रीविद्याको महाक्रममा दीक्षित हुनु अनिवार्य छ । यसो भएकाले नै श्री विद्या परम्परामा निष्णात दाक्षिणात्य भट्टहरूलाई श्री पशुपतिनाथको प्रधान अर्चकका रूपमा नियुक्त गर्ने परम्परा यहाँ बसेको हो ।
तसर्थः श्री पशुपतिनाथको पूजा विधानमा अत्यन्त गुढ शास्त्रीय दर्शन, जटिलतम साधना पक्ष र वैज्ञानिक वैशिष्ट्य अन्तर्निहित रहेको छ । यसरी सम्पादन गरिने पूजाको वैशिष्ट्य र गाम्भीर्यले नै राष्ट्रदेवको शास्त्रीय र लौकिक महत्त्वबारेमा थप विषयबोध गराउँछ ।
– सन्दीप सापकोटा
What if you could work from Anywhere?
Explore More with something that can change your Life!











