
महोत्तरी, फागुन १५ गते । प्रतिनिधि सभाको आसन्न निर्वाचनका बेला नक्कली (जाली) नोटको कारोबार बढ्ने जोखिम उच्च छ । खास गरी भारतसँग सीमा जोडिएका तराई मधेशका क्षेत्रमा त्यस्तो जोखिम उच्च रहने गर्छ । सोही सम्भावनालाई ख्यालमा राख्दै जाली नोटको कारोबार न्यूनीकरण गर्न नेपाल राष्ट्र बैङ्क जनकपुरले जलेश्वरमा सचेतना कार्यक्रम गरेको छ ।
राष्ट्र बैङ्कका अनुसार निर्वाचन नजिकिँदै जाँदा बजारमा ठुलो परिमाणमा नगद चलनचल्ती हुने, गाउँ गाउँसम्म रकम ओसारपसार बढ्ने तथा अस्थायी रूपमा खुल्ने शिविर र प्रचारप्रसारका कार्यक्रममा नगद प्रयोग अधिक हुने भएकाले जाली नोट प्रचलनमा आउने सम्भावना रहन्छ ।
नेपाल राष्ट्र बैङ्क जनकपुरका निर्देशक डिलाराम सुवेदीले निर्वाचनमा जाली नोटको प्रयोग हुन सक्ने जोखिमलाई लक्षित गर्दै जनचेतनामूलक कार्यक्रम आयोजना गरिएको बताउँदै यस्तो कार्यक्रम देशव्यापी गरिने जानकारी दिनुभयो । निर्वाचनका समयमा नगद कारोबार उल्लेख्य रूपमा बढ्ने भएकाले सर्वसाधारण, व्यापारी तथा वित्तीय संस्थाहरूलाई जाली नोटबाट जोगाउन विशेष अभियान सञ्चालन गरिएको निर्देशक सुवेदीले बताउनुभयो ।
बिहीबार आयोजित कार्यक्रममा शिक्षक श्यामसुन्दर ठाकुरले काम विशेषले बैङ्कबाट रकम झिक्दा सोबाट केही थान जाली नोट फेला परेको र पछि आफूले बैङ्कबाट नोट साटेको बताउनुभयो । बैङ्कबाट रकम झिक्दा आफूले पनि जाली नोट चिन्न नसकेको तर जनकपुरस्थित राष्ट्र बैङ्कमा जाँदा कर्मचारीले एउटा नोट नक्कली रहेको र सोबारे सोधपुछ गर्दै जाँदा आफूलाई समेत नक्कली नोटबारे जानकारी भएको शिक्षक ठाकुरले जानकारी गराउनुभयो ।
नेपाल राष्ट्र बैङ्क जनकपुरका कर्मचारीले विद्यार्थी, सुरक्षा निकायका प्रतिनिधि, उद्योगी व्यापारी, बैङ्क तथा वित्तीय संस्थाका प्रतिनिधिलगायत स्थानीयको सहभगितामा जाली नोट पहिचान गर्ने, जाली नोट फेला परिहाले भने के गर्ने तथा जाली नोटको कारोबार गर्नेलाई कानुनी दण्ड सजायबारे सचेतना गराएका थिए ।
बैङ्कका निर्देशक सुवेदीले रकमको कारोबार गर्नेले जाली नोटबारे जानकारी राख्ने हो भने प्रवेशद्वारमै नक्कली नोट रोक्न सकिने र यसले अनुसन्धान तथा नक्कली नोटको दुरुत्साहन रोक्न सकिने भएकाले जनचेतनामूलक कार्यक्रम गरिएको बताउनुभयो ।
सो कार्यक्रममा प्रतिनिधि सभा निर्वाचन, २०८२ मा उम्मेदवारी दिनुभएका केही उम्मेदवारको समेत उपस्थिति रहेको थियो ।कार्यक्रममा बैङ्कका उपनिर्देशक अमिष ढुङ्गेल, सहायक निर्देशक गङ्गेशकुमार झाले नक्कली र सक्कली नोटबारे जानकारी गराउनुभएको थियो ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!

















