शिक्षक र विद्यार्थीबिचको सम्बन्ध नै शिक्षा प्रणालीको केन्द्र हो । विद्यालयमा आधुनिक पुस्तक, प्रविधि र आकर्षक कक्षा भए पनि शिक्षक विद्यार्थीबिच विश्वास, सम्मान र नैतिकतामा आधारित सम्बन्ध छैन भने शिक्षा प्रभावकारी हुँदैन । वास्तविक सिकाइ जब विद्यार्थीले शिक्षकमा भरोसा गर्छन् र शिक्षकले विद्यार्थीलाई सम्मानपूर्वक बुझ्छन् त्यति बेला मात्र सम्भव हुन्छ ।
शिक्षक हुनु केवल पाठ पढाउने काम मात्र होइन । यसमा बालबालिकाको मनोविज्ञान बुझ्ने, उनीहरूसँग सहज घुलमिल हुने र आवश्यकता अनुसार आफ्नो व्यवहार रूपान्तरण गर्न सक्ने क्षमता पनि समावेश हुन्छ । स्वस्थ, विश्वासपूर्ण र सम्मानमा आधारित शिक्षक विद्यार्थी सम्बन्ध भएको शिक्षण संस्थामा शिक्षकले विद्यार्थीलाई समान रूपमा प्रेरित गर्दै गुणस्तरीय शिक्षा दिन सक्छन् ।
अमेरिकी शिक्षाविद् जान डेवीले भनेका छन्, ‘शिक्षा आफैँ जीवन हो’ । यही जीवन–प्रक्रियालाई सही दिशा दिन शिक्षक विद्यार्थी सम्बन्धले महìवपूर्ण भूमिका खेल्छ । शिक्षकलाई हामी केवल ज्ञानदाताका रूपमा होइन, जीवनमार्ग देखाउने मार्गदर्शक, मनोविश्लेषक र नैतिक आदर्शका रूपमा पनि हेर्दछौँ । शिक्षकको व्यवहारले विद्यार्थीको सोच, भावना र मूल्यमान्यतामा गहिरो प्रभाव पार्छ । शिक्षक विद्यार्थी सम्बन्धमा नैतिकता कमजोर भयो भने, विद्यार्थीको मानसिक विकास र सिकाइ प्रव्रिmयामा नकारात्मक असर पर्न सक्छ । शिक्षक विद्यार्थी सम्बन्धको गुणस्तर सुधार्नु मात्र शिक्षा प्रणालीको सुधार होइन, यो भविष्य निर्माण गर्ने मार्ग पनि हो ।
शिक्षक विद्यार्थी सम्बन्धको अवधारणा
शिक्षक विद्यार्थी सम्बन्धमा सुधार ल्याउन दुवै पक्ष सक्रिय हुनु पर्छ । जब शिक्षकले शिक्षणलाई आधुनिक, संवादमुखी र व्यावहारिक बनाउँछन् र विद्यार्थीले त्यसलाई सकारात्मक रूपमा आत्मसात् गर्छन्, तब परम्परागत शिक्षा प्रणाली रूपान्तरण भई प्रभावकारी र उदाहरणीय बन्न सक्छ । शिक्षक–विद्यार्थी सम्बन्ध बुझ्नका लागि शिक्षाशास्त्री पाउलो फ्रेरेका विचार मार्गदर्शक छन् । उनका अनुसार शिक्षा केवल एकतर्फी ज्ञान हस्तान्तरण होइन; यो संवाद, आपसी सम्मान र सहकार्यमा आधारित प्रक्रिया हो । शिक्षक र विद्यार्थीबिच उमेर, अनुभव र भूमिकाका कारण शक्ति असन्तुलन देखिन सक्छ तर यो सम्बन्ध दमनकारी हुनु हुँदैन । बरु यसले विद्यार्थीलाई स्वतन्त्र रूपमा सोच्न, प्रश्न गर्न र आफ्ना क्षमता पहिचान गर्न प्रेरित गर्नु पर्छ । फ्रेरेका दृष्टिमा शिक्षक र विद्यार्थी दुवै एकअर्काबाट सिक्ने सहयात्री हुन् ।
विद्यार्थी र शिक्षक एकअर्काका परिपूरक भएकाले उनीहरूबिचको स्वस्थ सम्बन्ध नै सिकाइको वास्तविक आधार हो । विद्यार्थीले आफ्ना जिज्ञासा, अनुभव र विचार निडर भएर व्यक्त गर्न सक्ने वातावरण बनेमा यो सम्बन्ध अझ मजबुत हुन्छ । विश्वास, सकारात्मकता र खुला संवादमा टेकेको सम्बन्धले सिकाइलाई सहज, प्रेरणादायी र प्रभावकारी बनाउँछ ।
शिक्षकको व्यवहार, भाषा र दृष्टिकोणले विद्यार्थीको आत्मविश्वास, आत्मसम्मान र पहिचान निर्माणमा ठुलो प्रभाव पार्छ । विद्यार्थीले पनि सम्मानजनक व्यवहार, सक्रिय सहभागिता, प्रश्न गर्ने क्षमता र सहकार्यको भावना विकास गर्नु पर्छ । शिक्षक विद्यार्थी सम्बन्ध पारस्परिक सम्मान र विश्वासमा आधारित भएर मात्र टिक्छ । सकारात्मक व्यवहार गर्ने शिक्षक र उत्तरदायी विद्यार्थीबिचको सम्बन्धले विद्यार्थीभित्र सिक्ने चाहना, आत्मबल र सामाजिक क्षमताको विकास गर्छ । यो सम्बन्ध केवल कक्षाकोठाको औपचारिकता होइन; विद्यार्थीको सम्पूर्ण व्यक्तित्व विकाससँग जोडिएको मानवीय र पारस्परिक प्रक्रिया हो ।
फिनल्यान्डमा, जहाँ विश्वकै उत्कृष्ट शिक्षा प्रणाली छ, शिक्षक विद्यार्थी सम्बन्ध विश्वास, सहानुभूति, पेसागत दुरी र खुला संवादमा आधारित हुन्छ । शिक्षकलाई ‘सहशिक्षण सहयात्री’ का रूपमा हेरिन्छ र विद्यार्थीलाई स्वतन्त्र रूपमा सोच्न र निर्णय गर्न प्रोत्साहित गरिन्छ । यसले सिकाइलाई केवल पाठ्यपुस्तकमा सीमित नराखी जीवन–कौशल र आलोचनात्मक सोचसँग जोड्छ ।
नैतिकता र मर्यादाको महत्व
नैतिकता केवल सही र गलत छुट्याउने ज्ञान मात्र होइन; यसले व्यक्तिलाई आफ्नो पेसाप्रति इमानदार, जिम्मेवार र सचेत बनाउँछ । शिक्षकका लागि नैतिकताले अझ गहिरो अर्थ राख्छ, किनभने शिक्षकको व्यवहारले विद्यार्थीको सोच, भावना र भविष्यमा प्रत्यक्ष प्रभाव पार्छ । शिक्षण उच्च नैतिक जिम्मेवारीसहितको पेसा हो ।
नेपाल सरकारद्वारा जारी शिक्षक सेवा आचारसंहिताले शिक्षकलाई विद्यार्थीप्रति सधैँ सम्मानजनक, निष्पक्ष र सुरक्षित व्यवहार गर्न स्पष्ट निर्देशन दिएको छ । शिक्षकलाई आफ्नो शक्ति र पदको दुरुपयोग नगरी विद्यार्थीको शारीरिक, मानसिक र भावनात्मक सुरक्षा प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएको छ । यसले शिक्षक विद्यार्थी सम्बन्धलाई स्वस्थ र मर्यादित बनाउने आधार तयार गर्छ । शिक्षक विद्यार्थी सम्बन्धमा मर्यादा भङ्ग हुँदा विद्यालयको सम्पूर्ण सिकाइ वातावरण नै बिग्रन सक्छ । यस्तो अवस्थामा विद्यार्थीमा डर, हीनभावना र असुरक्षाको भावना बढ्छ, जसले पढाइ, व्यवहार र आत्मविश्वासमा नकारात्मक असर पार्छ ।
सानो देखिने तर गैरजिम्मेवार व्यवहारले पनि विद्यार्थीको जीवनमा दीर्घकालीन नकारात्मक प्रभाव पार्न सक्छ । शिक्षकले आफ्नो भूमिका, अधिकार र सीमारेखा स्पष्ट बुझेर मर्यादित दुरी, सम्मानजनक संवाद र पेसागत आचरण निरन्तर पालन गर्नु पर्छ । डा. सर्वपल्ली राधाकृष्णनका शब्दमा ‘शिक्षकको प्रभाव अनन्त हुन्छ ।’ त्यसैले शिक्षकको हरेक व्यवहार र निर्णय विद्यार्थीको भविष्यका लागि निर्णायक बन्छ ।
परम्परा र चुनौती
नेपालमा शिक्षक विद्यार्थी सम्बन्ध परम्परागत रूपमा गुरु शिष्य संस्कृतिमा आधारित रहँदै आएको छ । यस सम्बन्धमा शिक्षकप्रति गहिरो सम्मान र आज्ञापालनलाई ठुलो मूल्य दिइन्छ । यसले विद्यालयमा अनुशासन, मर्यादा र जिम्मेवारीको भावना विकास गर्न सहयोग गरेको छ । यसै परम्पराले कहिलेकाहीँ विद्यार्थीलाई खुला रूपमा प्रश्न गर्न, जिज्ञासा व्यक्त गर्न र आलोचनात्मक सोच विकास गर्न बाधा पु¥याएको देखिन्छ ।
पछिल्ला वर्षमा सञ्चार माध्यममा प्रकाशित केही घटनाले शिक्षक विद्यार्थी सम्बन्धप्रति गम्भीर चिन्ता बढाएका छन् । शारीरिक दण्ड, मानसिक र लैङ्गिक दुव्र्यवहारका आरोपले विद्यालयप्रति विद्यार्थीको सुरक्षासम्बन्धी चिन्ता जन्माएको देखिन्छ । यस्ता परिदृश्यले शिक्षकप्रति विद्यार्थी तथा अभिभावकको विश्वास क्षीण पार्दै विद्यालयको सिकाइ वातावरणमा नकारात्मक प्रभाव पार्न सक्छन् ।
विद्यालयमा सुरक्षित र सहयोगी वातावरण नहुँदा विद्यार्थीको शैक्षिक प्रगति मात्र होइन, उनको समग्र व्यक्तित्व विकास प्रभावित हुन्छ । डर र असुरक्षामा बस्ने विद्यार्थी आफ्नो क्षमता प्रयोग गर्न सक्दैनन् । नेपालमा शिक्षक तालिममा नैतिक शिक्षा, बाल मनोविज्ञान र पेसागत सीमाबारे पर्याप्त प्राथमिकता नदिँदा शिक्षा प्रणाली नै प्रभावित भएको देखिन्छ । अहिले हाम्रो चुनौती भनेको शिक्षक विद्यार्थी सम्बन्धलाई सम्मान र अनुशासनसँगै संवाद, सुरक्षा र विश्वासमा आधारित बनाउनु हो ।
शिक्षक विद्यार्थी सम्बन्धसम्बन्धी अन्तर्राष्ट्रिय अभ्यास हेर्दा पनि यसलाई आचारसंहिता, बाल सुरक्षा मापदण्ड र स्पष्ट सीमारेखाभित्र राखिएको पाइन्छ । यसले विद्यार्थीको मनोवैज्ञानिक सुरक्षलाई प्राथमिकता दिन्छ । फिनल्यान्ड, क्यानडा, जापान जस्ता देशमा यो सम्बन्ध विश्वास, पारदर्शिता, सहानुभूति र पेसागत दुरीमा आधारित हुन्छ । युनेस्कोले पनि नैतिकता, बाल अधिकारको सम्मान र सुरक्षित वातावरणलाई गुणस्तरीय शिक्षाको आधार मान्छ । मर्यादित र नैतिक शिक्षक–विद्यार्थी सम्बन्धले विद्यार्थीको सिकाइ, आत्मविश्वास र व्यक्तित्व विकासमा दीर्घकालीन सकारात्मक प्रभाव पार्छ ।
सकारात्मक प्रभाव र सम्भावना
सकारात्मक, नैतिक र मर्यादित शिक्षक विद्यार्थी सम्बन्धले विद्यार्थीको समग्र विकासमा महत्वपूर्ण भूमिका खेल्छ । यस्तो सम्बन्धले विद्यार्थीमा आत्मविश्वास जगाउँछ, नयाँ कुरा सिक्ने जिज्ञासा बढाउँछ र सिर्जनशील सोच विकास गर्न प्रेरित गर्छ । जब विद्यार्थीले कक्षाकोठामा आफू सुरक्षित, सम्मानित र स्वीकारिएको महसुस गर्छन्, तब उनीहरू नडराई प्रश्न गर्न, आफ्ना विचार व्यक्त गर्न र आफ्नो क्षमतालाई पूर्ण रूपमा प्रयोग गर्न सक्षम हुन्छन् ।
शिक्षा जर्नल नेपालमा प्रकाशित एक अध्ययन अनुसार विद्यार्थीले आफूलाई सम्मानित र सुरक्षित महसुस गर्ने कक्षाकोठामा सिकाइ उपलब्धि अन्य कक्षाको तुलनामा उल्लेखनीय रूपमा उच्च देखिएको छ । यस्तो वातावरणमा विद्यार्थीको उपस्थिति दर, सहभागिता र सिकाइप्रतिको रुचि बढ्छ । यसले पढाइ मात्र होइन, विद्यार्थीको मानसिक स्वास्थ्य र सामाजिक व्यवहारमा पनि सकारात्मक असर पार्छ ।
शिक्षकको प्रेरणादायी र जिम्मेवार व्यवहारले विद्यार्थीको करियर छनोट, जीवन दृष्टिकोण, मूल्यमान्यता र सामाजिक उत्तरदायित्वमा दीर्घकालीन प्रभाव पार्छ । धेरै विद्यार्थीले आफ्नो जीवनमा कुनै न कुनै शिक्षकलाई आदर्श मानेर अगाडि बढेका हुन्छन् । यस अर्थमा शिक्षकको भूमिका कक्षाकोठाभन्दा पर फैलिएको हुन्छ । शिक्षक जिउँदो पाठ्यपुस्तक हुन् । शिक्षकले के भन्छन् भन्दा बढी, कसरी बोल्छन, कसरी व्यवहार गर्छन् र कस्तो चरित्र देखाउँछन् भन्ने विद्यार्थीका लागि सबैभन्दा प्रभावकारी पाठ बन्छ । शिक्षक विद्यार्थी सम्बन्धलाई नैतिकता, मर्यादा र मानवीयतामा आधारित बनाउनु शिक्षा सुधारको एक महत्वपूर्ण आवश्यकता मात्र होइन, ठुलो सम्भावना पनि हो ।
निष्कर्ष
शिक्षक विद्यार्थी सम्बन्ध केवल ज्ञान साटासाटको औपचारिकता होइन; यो नैतिकता, भावना र सामाजिक जिम्मेवारीमा आधारित मानवीय सम्बन्ध हो । यसको गुणस्तरले नै सिकाइको प्रभावकारिता निर्धारण गर्छ । नेपालमा यस सम्बन्धलाई सुदृढ बनाउन शिक्षक तालिममा पेसागत नैतिकता, बाल अधिकार, बालमनोविज्ञान र जिम्मेवार व्यवहारलाई प्राथमिकता दिनु आवश्यक छ । विद्यालयले पनि व्यवहारमै देखिने आचारसंहिता, सुरक्षित वातावरण र आपसी विश्चास निर्माण गर्नु पर्छ । मर्यादित र नैतिक शिक्षक विद्यार्थी सम्बन्धले मात्र गुणस्तरीय शिक्षा, जिम्मेवार नागरिक र दीर्घकालीन रूपमा सशक्त राष्ट्रनिर्माणको आधार तयार गर्छ ।
– रविप्रसाद बराल
What if you could work from Anywhere?
Explore More with something that can change your Life!










