काठमाडौँ, माघ २४ : मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-१ रानीपौवामा आजदेखि स्की च्याम्पियनसिप सुरु भएको छ । नेपाल स्की संघ एसोसिएसनको आयोजना र स्की संघ मुस्ताङको संयोजनमा भएको उक्त प्रतियोगितामा देशभरको पाँच जिल्लाबाट करिब २८ जना खेलाडीले भाग लिएका छन् ।

हिउँमा खेलिने स्की खेलको विकास तथा प्रवर्धन गर्दै पर्यटन विकासमा योगदान पुर्याउने उद्देश्यले स्की संघले सन् २०१६ देखि स्की प्रतियोगिता सञ्चालन गर्दै आएको छ । पहिलो पटक रसुवाको क्यान्जेन भ्यालीबाट सुरु भएको प्रथम राष्ट्रिय स्की प्रतियोगिता त्यसपछिका संस्करण मुस्ताङको मुक्तिनाथ क्षेत्रमा हुँदै आइरहेको छ । मुस्ताङमा सन् २०१९, सन् २०२० र सन् २०२२ मा स्की प्रतियोगिता सम्पन्न भएको थियो ।

प्रतियोगिताका विजेतालाई स्वर्ण, रजत र कास्य पदकसहित पुरस्कृत गरिनेछ । सन् २०२२ पछि आयोजना हुन नसकेको स्की प्रतियोगिता जारी याममा मुक्तिनाथ क्षेत्रमा हिमपात भएपछि आयोजना गर्न सम्भव भएको हो । जारी याममा मुक्तिनाथ क्षेत्रमा चार पटक हिमपात भएको छ ।

मुक्तिनाथ क्षेत्रको सेताम्मे हिउँमा स्की खेलको रौनक सुरु भएपछि पर्यटक तथा स्थानीय नागरिकमा उत्साह छाएको छ । हिउँमा खेलिने स्की खेलको माध्यमबाट बेमौसमको पर्यटन घाटालाई कम गर्ने विश्वास गरिएको छ ।

What if you could work from Anywhere?
Explore More with something that can change your Life!










