02/07/2026, 15:21:22
शनिबार, माघ २४, २०८२

दल परिवर्तन गर्दै चुनावी प्रतिस्पर्धामा ‘हेभिवेट’ उम्मेदवार


पश्चिम नवलपरासी, माघ  २४ : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सरगर्मी बढेसँगै पश्चिम नवलपरासीको चुनावी माहौल रोचक बन्दै गएको छ । निर्वाचनका लागि जिल्लाका दुई निर्वाचन क्षेत्रबाट २३ स्वतन्त्रसहित कुल ५५ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । यस पटकको निर्वाचनमा वर्षौंदेखि आबद्ध दल त्यागेर नयाँ चुनाव चिन्हका साथ मतदातामाझ पुग्ने उम्मेदवारहरूको संख्या उल्लेख्य देखिएको छ ।

क्षेत्र नम्बर १ः

त्रिपक्षीय भिडन्त र ‘सरप्राइज’ उम्मेदवार निर्वाचन क्षेत्र नम्बर १ मा मुख्य दलका उम्मेदवारहरू नै दल परिवर्तनको सूचीमा अगाडि छन् ।

हृदयेश त्रिपाठी : राजनीतिका चतुर खेलाडी मानिने त्रिपाठी यस पटक जनता समाजवादी पार्टी (जसपा) नेपाल बाट चुनावी मैदानमा हुनुहुन्छ । २०७४ मा एमालेको सूर्य चिन्हबाट जितेका र पछि आफ्नै नेतृत्वमा जनता प्रगतिशील पार्टी गठन गरेका त्रिपाठी फेरि नयाँ समीकरणका साथ चुनावी मैदानमा हुनुहुन्छ ।

विक्रम खनाल : नेपाली कांग्रेसका लुम्बिनी प्रदेशका पूर्व महामन्त्री खनाल यतिबेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार हुनुहुन्छ । कांग्रेसबाट टिकट नपाउने सङ्केत पाएपछि खनाल रास्वपाबाट चुनावी मैदानमा हुनुहुन्छ ।

सिन्धु जलेसा बुढाथोकी : नेकपा एमालेकी पूर्व सांसद बुढाथोकी हाल नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट उम्मेदवार बन्नुभएको छ । यस क्षेत्रमा नेपाली कांग्रेसका तर्फबाट उद्योगी विनोद चौधरी पनि पुनः चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ, जसले गर्दा यहाँको भिडन्त निकै चुनौतीपूर्ण हुने देखिन्छ ।

क्षेत्र नम्बर २ :

‘किल्ला’ फेर्दै र दल बदल्दै उम्मेदवार निर्वाचन क्षेत्र नम्बर २ मा पनि पुराना अनुहारहरू नयाँ दलबाट प्रतिस्पर्धामा छन् ।

देवेन्द्र पौडेल ‘सुनील’ : बागलुङ–२ लाई आफ्नो राजनीतिक किल्ला बनाउँदै आउनुभएका पूर्वमन्त्री देवेन्द्र पौडेल ‘सुनील’ यस पटक क्षेत्र परिवर्तन गरी पश्चिम नवलपरासी–२ बाट नेपाली कम्युनिष्ट पार्टी को उम्मेदवार बन्नुभएको छ । नेकपा (माओवादी केन्द्र) को पृष्ठभूमिबाट हाल नेकपाको साझा उम्मेदवार बनेका पौडेल प्रतिस्पर्धामा हुनुहुन्छ ।

नरेन्द्रकुमार गुप्ता : कांग्रेसको राजनीतिमा लामो समय बिताएका र रामग्राम नगरपालिकाको पूर्व प्रमुख समेत रहेका गुप्ता यतिबेला रास्वपा बाट उम्मेदवार हुनुहुन्छ ।

लेखनाथ खरेल : ३१ वर्ष नेकपा एमालेमा बिताएर बिचमा माओवादी केन्द्र प्रवेश गरेका खरेल पुनः एमाले मै फर्किएर उम्मेदवार बन्नुभएको छ । एमालेका आधिकारिक उम्मेदवार भगौति यादवले अन्तिम समयमा चुनाव नलड्ने घोषणा गरेपछि खरेलले ‘चिठ्ठा’ परेझैं टिकट पाउनुभएको हो ।

गोविन्द चौधरी : राष्ट्रिय मुक्ति पार्टी नेपालका तर्फबाट पूर्व शिक्षा, विज्ञान तथा प्रविधि राज्य मन्त्री गोविन्द चौधरी चुनावी दौडमा हुनुहुन्छ । विभिन्न मधेश केन्द्रित दलहरू हुँदै अहिले राष्ट्रिय मुक्ति पार्टीबाट उम्मेदवार बनेका चौधरीसँग पनि शिक्षा राज्यमन्त्रीको रूपमा कार्य गरेको अनुभव छ ।

मतदाताको गुनासो पद र टिकटका लागि चुनावको मुखमा दल बदल्ने प्रवृत्तिप्रति स्थानीय मतदाताहरूले भने असन्तुष्टि जनाएका छन् । “एउटै दलमा अडिग नरही चुनावको समयमा विचार र सिद्धान्त त्याग्ने प्रवृत्तिले राजनीतिक स्थिरता दिँदैन,’’ स्थानीय मतदाताले गुनासो छ ।

आगामी फागुन २१ गते हुने यस निर्वाचनका लागि सुरक्षा व्यवस्था कडा पारिएको छ भने जिल्लाभर ९७ मतदान केन्द्र र १२२ मतदान स्थल तय गरिएको छ । जिल्लाका दुई निर्वाचन क्षेत्रबाट २३ स्वतन्त्रसहित कुल ५५ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् ।

– पुरुषोत्तम सुवेदी