काठमाडौं, माघ २३ : आगामी माघ २३ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘रमिताको पिरती’ गत आइतबार सार्वजनिक ट्रेलरका कारण चर्चामा छ । नेपाली सिनेमामा प्रायः मुख्य भूमिका हिरोको हुने गर्छ तर यो सिनेमाको विषय रमितामा केन्द्रीत छ ।
साँचो पिरतीको खोजीमा रहेकी रमिताको जीवनमा आउने उतार चढाव सिनेमाको विषय हो । सिनेमामा रमिताको भूमिका आना शर्माले निर्वाह गरेकी छिन् । उनीसहित सिनेमामा धिरज मगर र विनय श्रेष्ठको अभिनय रहेको छ । यो सिनेमामार्फत गायक समीर श्रेष्ठले पनि अभिनय यात्राको सुरुआत गरेका छन् । यी तीनकै सेरोफेरोमा सिनेमा घुमेको छ ।
सिनेमामा आना अभिनेत्री मात्र नभई कार्यकारी निर्माताको भूमिकामा पनि छिन् । महिला केन्द्रीत सिनेमामा पहिलोपटक देखिएकी आनाले ब्रेकअपपछि आफूलाई चिन्ने, स्वीकार्ने र रोज्ने एउटा भावनात्मक यात्राको कथा ‘रमिताको पिरतीमा’मा रहेको बताइन् ।

‘रमिता पात्रको भावनात्मक यात्रालाई केन्द्रमा राखेर कथा अघि बढाईएको छ । सिनेमा ब्रेकअपबाट सुरु भएपनि यो केवल ब्रेकअपको कथा मात्र नभई, त्यसपछिको आत्मखोज, आत्मसम्मान र आत्म-स्वीकृतिको यात्रा हो । हामीले नियमित सिनेमा भन्दा केही फरक रुपमा निर्माण गर्ने कोसिस गरेका छौं,’ आनाले भनिन् ।
यो सिनेमामा देखिएको पात्र ‘रमिता’लाई तयार गर्न निर्देशक सुदिप्ताको सहयोग लिएकी थिइन् । ‘मैले छ महिना निर्देशकसँग बसेर यो पात्रलाई डेभलप गरेर, एक्सप्लोर गरेर एडप्ट गरेकी थिएँ, अहिले सिनेमा रिलिज हुने बेला आउँदा उत्साहित छु । यो सिनेमाको पात्र र भूमिका निकै खास छ । आश छ हामीले देखाएको स्टोरी पर्दामार्फत दर्शकसम्म पुग्ने छ,’ उनले भनिन् ।
आनाले सिनेमा निर्माणको सुरुआतमा कलाकारका रूपमा मात्र स्क्रिप्ट सुनेर प्रोजेक्टमा आबद्ध भएपनि पछि निर्देशक सुदिप्ता र निर्माता सागर लम्सालसँग नजिकबाट काम गर्दै कार्यकारी निर्माताको भूमिका पाएको बताइन् ।
‘सुरुमा हाम्रो कोर टिम नै सानो थियो । दैनिक मिटिङ, वर्कसप हुँदै सँगै निर्णय लिने अवस्थामा पुग्यौं । निर्माता सागरजीले म माथि विश्वास गरेर एक्जिक्युटिभ प्रोड्युसरको जिम्मेवारी दिनुभयो, जुन मेरो लागि सिकाइको ठूलो अवसर बन्यो,’ उनले भनिन् । यो भूमिकाले आफूलाई नयाँ किसिमको चाँप र रचनात्मक स्वतन्त्रता दुवै दिएको उनी बताउँछिन् । ‘जिम्मेवारी धेरै हुन्छ, तर क्रिएटिभ फ्रिडम पनि उत्तिकै रमाइलो रहेछ,’ उनले आफ्नो अनुभव सुनाइन् ।

सिनेमाले विशेषगरी जेन-जी पुस्ताका युवतीहरूलाई लक्षित गर्दै महत्वपूर्ण सन्देश दिने शर्माको विश्वास छ । ‘पहिला आफूलाई माया गर्नुपर्छ, आफूलाई केयर गर्नुपर्छ, अनि मात्र अरूलाई माया दिन सकिन्छ भन्ने सन्देश सिनेमाले दिन्छ,’ उनले भनिन् ।
सोसल मिडियाको प्रभाव, बाह्य भ्यालिडेसनको खोजी र त्यसले व्यक्तिको मानसिक अवस्थामा पार्ने असरलाई पनि सिनेमाले चित्रण गर्ने उनले बताइन् । रमिताको पात्र पनि एक चरणमा अरूको स्वीकृतिमा निर्भर हुने देखाइन्छ । जुन आजको पुस्तासँग गहिरो रूपमा सम्बन्धित रहेको उनको भनाई छ ।
सिनेमामा समिर र आनाले निभाएका पात्रहरूको प्रेम सम्बन्धलाई गीतमार्फत प्रस्तुत गरिएको छ । ती गीतहरू प्रेमको सुरुआती चरण र पात्रहरूबीचको कनेक्सन देखाउन केन्द्रित छन् । आनाको लागि ‘रमिताको पिरती’ विशेष हुनुका तीन कारण छन् । पहिलो यो पूर्ण रूपमा महिलाको कथा हो, दोस्रो महिला निर्देशकद्वारा लेखिएको र निर्देशित सिनेमा हो र तेस्रो पहिलो पटक कार्यकारी निर्माताको भूमिकामा काम गर्न पाएकी छन् ।
सन्तोष लम्साल कार्यकारी निर्माता रहेको सिनेमामा आरपी प्रोडक्सन एसोसिएट निर्माता, निर्देशक समेत रहेका सुवास कोइराला सह-निर्माता तथा सागर लम्साल निर्मातामा छन् ।
सिनेमामा सुशान्त केसी, समीर श्रेष्ठ, महेश काफ्ले, अस्मिता अधिकारी र कुशल पोखरेल को संगीत रहेको छ । शिशिर विशंखे डीओपी तथा सम्पादन सुनिल सिवाकोटी र कपिल पराजुलीको कलर अनि कृतिका बरालको कोरियोग्राफी छ । काठमाडौं उपत्यकामा सिनेमालाई रिच इन्टरटेनमेन्ट र एप्पल इन्टरटेनमेन्ट तथा उपत्यका बाहिर एफडी कम्पनीले वितरण गर्नेछ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!









