बर्दिबास, माघ १९ : लोक तथा दोहोरी संगीतको क्षेत्रमा निरन्तर सक्रिय गायक बेल बहादुर परियारले आफ्नो नयाँ दोहोरी गीत ‘फूल खसिगो, माया बसिगो’ को म्युजिक भिडियो मंगलबार बर्दिबासमा सार्वजनिक गरेका छन् ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, महोत्तरीको आयोजनामा गौतम होटल, बर्दिबासमा आयोजित कार्यक्रममा मधेश प्रदेशकी पूर्व राज्य मन्त्री सारदा देवी थापा र बर्दिबास नगरपालिकाका मेयर प्रह्लाद कुमार क्षेत्रीले संयुक्त रूपमा भिडियो विमोचन गरे । विमोचनपछि भिडियो उपस्थित दर्शक–श्रोतामाझ प्रोजेक्टर मार्फत देखाइएको थियो ।

बेल बहादुर परियार र प्रतिमा अर्यालको स्वर रहेको गीतमा प्रेम, बिछोड र भावनालाई लोकलयमा बुन्न खोजिएको छ । शब्द तथा सङ्गीत स्वयं परियारकै रहेको गीतको एरेञ्ज, मिक्स र मास्टरिङ राजिव शाहले गरेका हुन् । भिडियोमा सन्जिब ठकुरी र सुजाता भट्टराईको अभिनय देख्न सकिन्छ । निर्देशन मिलन श्रेष्ठ, कोरियोग्राफी राजाराम सिंखडा तथा छायाङ्कन सन्तोष तिमल्सिनाले गरेका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै मेयर प्रह्लाद कुमार क्षेत्रीले स्थानीय कलाकारको सिर्जना स्थानीय मञ्चबाटै सम्मानित हुनु सकारात्मक सन्देश भएको बताए । उनले गायक परियारको प्रतिभालाई राष्ट्रियस्तरमा पुर्याउन नगरपालिकाले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
प्रमुख अतिथि सारदा देवी थापाले परियारको सांगीतिक यात्रालाई संघर्ष, धैर्य र साधनाको उदाहरणका रूपमा प्रस्तुत गरिन् । उनले अपेक्षित प्रचार नपाउँदा पनि सिर्जनाबाट विचलित नभएका कलाकारलाई अब मिडिया र समाजले चिनाउनुपर्ने धारणा राखिन् ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, महोत्तरीका अध्यक्षसमेत रहेका परियारले गीत विमोचनलाई आफ्नो लामो सांगीतिक यात्राको एउटा भावनात्मक क्षणका रूपमा वर्णन गरे । उनले कलाकारले भोग्दै आएको चुनौतीका बीच पनि दर्शक–श्रोताको माया नै सबैभन्दा ठूलो प्रेरणा भएको बताए ।
कार्यक्रममा कला–संस्कृतिप्रेमी, पत्रकार, समाजसेवी तथा राजनीतिक प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन बिनोद ढुङ्गेलले गरेका थिए ।

रेडियो नेपालबाट २०५१ सालमा ‘जाग नेपाली वीर नेपाली’ गीत गाएर औपचारिक सांगीतिक यात्रा थालेका परियारले सिन्धुलीका सुसेलीहरू, गरौं है रमाइलो, मिठो सम्झना, सुनको थैली चाँदीको झुम्कना जस्ता गीतमार्फत लोक संगीतमा आफ्नो पहिचान बनाउँदै आएका छन् । नयाँ गीत ‘फूल खसिगो, माया बसिगो’ पनि श्रोता–दर्शकको मनमा बस्ने विश्वास गरिएको छ ।
विमोचन कार्यक्रममा मिडिया पार्टनरका रूपमा ॐकार टेलिभिजनको लोकप्रिय अन्तर्वार्ता कार्यक्रम ‘पञ्चामृत’ रहेको थियो । गीतको म्युजिक भिडियो गायक परियारको युट्युब च्यानल ‘बेल बहादुर परियार अफिसियल’ मार्फत सार्वजनिक गरिएको छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!










