काठमाडौँ, माघ २० गते । चालु आर्थिक वर्ष २०८२/८३ को छ महिनाका आर्थिक सूचकले देशको आर्थिक अवस्थामा राम्रो सुधार आउँदै गरेको देखाएका छन् । नेपाल राष्ट्र बैङ्कले सोमबार प्रकाशन गरेको चालु आवको छ महिनाको आर्थिक विवरण अनुसार आन्तरिकतर्फ मूल्यवृद्धि नियन्त्रण रहेको छ । त्यस्तै बाह्य क्षेत्रतर्फ निर्यात व्यापारमा राम्रो वृद्धि देखिएको छ । त्यसै गरी विप्रेषण आयमा पनि उच्च वृद्धि हुँदा वैदेशिक विनिमय सञ्चिति पनि राम्रो रहेको छ ।
प्रतिवेदन अनुसार २०८२ पुसमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति २.४२ प्रतिशत छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ५.४१ प्रतिशत थियो । पुसमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ०.०९ प्रतिशतले ऋणात्मक छ भने गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.८१ प्रतिशत छ । अघिल्लो वर्षको सोही अवधिमा यी समूहको मुद्रास्फीति क्रमशः ७.६७ प्रतिशत र ४.१९ प्रतिशत थियो ।
१४२ अर्बको निर्यात
नेपाल राष्ट्र बैङ्कका अनुसार कुल वस्तु निर्यात ४३.८ प्रतिशतले वृद्धि भई १४२ अर्ब दुई करोड रुपियाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ३१.८ प्रतिशतले वृद्धि भएको थियो ।
गन्तव्यका आधारमा भारत र अन्य मुलुकतर्फको निर्यात क्रमशः ५७.० प्रतिशत र १०.७ प्रतिशतले वृद्धि भएको छ । चीनतर्फको निर्यातमा भने ६६.७ प्रतिशतले कमी आएको छ ।
आयात पनि बढ्यो
समीक्षा अवधिमा कुल वस्तु आयात १४.२ प्रतिशतले बढेर ९३९ अर्ब दुई करोड रुपियाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ७.१ प्रतिशतले बढेको थियो । भारत, चीन र अन्य मुलुकबाट भएको आयात क्रमशः ५.९ प्रतिशत, २२.१ प्रतिशत र ३२.४ प्रतिशतले वृद्धि भएको छ ।
व्यापार घाटा १० प्रतिशतले वृद्धि
समीक्षा अवधिमा कुल वस्तु व्यापार घाटा १०.१ प्रतिशतले बढेर ७९७ अर्ब रुपियाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ४.४ प्रतिशतले वृद्धि भएको थियो । समीक्षा अवधिमा निर्यातआयात अनुपात १५.१ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १२.० प्रतिशत थियो ।
विप्रेषण १,०६२ अर्ब ९३ करोड
समीक्षा अवधिमा विप्रेषण आप्रवाह ३९.१ प्रतिशतले बढेर १,०६२ अर्ब ९३ करोड रुपियाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यो ४.२ प्रतिशतले बढेको थियो । २०८२ पुसमा मात्र विप्रेषण १९२ अर्ब ६२ करोड रुपियाँ रहेको छ । अघिल्लो वर्षको सोही महिनामा विप्रेषण १२२ अर्ब ४४ करोड रुपियाँ रहेको थियो । समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३२.३ प्रतिशतले बढेर सात अर्ब ५० करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह २.७ प्रतिशतले बढेको थियो ।
चालु खाता एवं शोधनान्तर स्थिति
समीक्षा अवधिमा चालु खाता ४२९ अर्ब ९१ करोड रुपियाँले बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १६५ अर्ब ६७ करोड रुपियाँले बचतमा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा एक अर्ब २३ करोडले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा तीन अर्ब तीन करोडले बचतमा छ ।
समीक्षा अवधिमा शोधनान्तर स्थिति ५०१ अर्ब २४ करोड रुपियाँले बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २४९ अर्ब २६ करोड रुपियाँले बचतमा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा एक अर्ब ८५ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा तीन अर्ब ५४ करोडले बचतमा छ ।
कुल विदेशी विनिमय सञ्चिति
२०८२ असार मसान्तमा २,६७७ अर्ब ६८ करोड रुपियाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २१.१ प्रतिशतले वृद्धि भई २०८२ पुस मसान्तमा ३,२४२ अर्ब ४५ करोड रुपियाँ पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८२ असार मसान्तमा १९ अर्ब ५० करोड रहेकोमा २०८२ पुस मसान्तमा १५.२ प्रतिशतले वृद्धि भई २२ अर्ब ४७ करोड पुगेको छ ।
सञ्चिति पर्याप्त
आर्थिक वर्ष २०८२/८३ को छ महिनासम्मको आयातलाई आधार मान्दा बैङ्किङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति २१.४ महिनाको वस्तु आयात र १८.१ महिनाको वस्तु तथा सेवाको आयात धान्न पर्याप्त रहने केन्द्रीय बैङ्कले जनाएको छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!








