02/02/2026, 20:47:28
सोमबार, माघ १९, २०८२

रवि लामिछानेको राहदानी दुरुपयोगको रिट ‘हेर्न नभ्याउने’ हुँदै सर्‍यो


काठमाडौँ, माघ १९ : रास्वपा सभापति रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा पेसी तोकिए पनि हेर्न नभ्याउने हुँदै सुनुवाइ सरेको छ ।

सोमबार न्यायाधीशद्वय सपना प्रधान मल्ल र नृपध्वज निरौलाको संयुक्त इजलासमा १२ नम्बरमा पेसी तोकिएको थियो ।

राहदानी दुरुपयोगमा मुद्दा नचलाउने तत्कालीन महान्यायाधिवक्ताको निर्णयविरुद्ध २०७९ चैत २० गते दर्ता भएको रिटमा अन्तिम सुनुवाइका लागि पेसी तोकिएको थियो ।

युवराज पौडेलले लामिछानेविरुद्ध राहदानी कसुरमा मुद्दा चलाउनुपर्ने माग गर्दै रिट दायर गरेका थिए । लामिछानेविरुद्ध मुद्दा नचलाउने महान्यायाधिवक्ता दिनमणि पोखरेलको निर्णय कानुनविपरीत रहेको भन्दै उनले रिट दायर गरेका थिए ।

यसअघि यो मुद्दामा सर्वोच्चले तीन पटक फाइल मगाउने निर्णय गरेको छ । २०७९ चैत २२ गते कारण देखाऊ आदेश जारी गरेको सर्वोच्चले २०८० जेठ ९ गते फाइल मगाउने आदेश गरेको थियो । अदालतले राहदानीसम्बन्धी विवादमा महान्यायाधिवक्ता कार्यालयसँग रवि लामिछानेविरुद्ध मुद्दा नचलाउने निर्णय गर्नुको कारण माग गरेको र उक्त निर्णय प्राप्त भएपछि दोहोरो सुनुवाइ हुन लागेको हो ।

तत्कालीन महान्यायाधिवक्ता पोखरेलले २०७९ चैत ६ गते लामिछानेविरुद्ध राहदानी विवादमा मुद्दा नचल्ने निर्णय गरेका थिए । पौडेलले महान्यायाधिवक्ताको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दिएका थिए । उनले रिटमा राहदानी विवादमा रवि लामिछानेविरुद्ध मुद्दा चलाउन अन्तरिम आदेशसमेत माग गरेका थिए । तर सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो ।

आफू अमेरिकी नागरिक हुँदाहुँदै नेपाली नागरिक हुँ भनी पासपोर्ट निवेदन फारम भरेर नेपाली राहदानी प्राप्त गर्नु राहदानी ऐन, २०२४ को दफा ५ (ख) विपरीतको कार्य र कसुर हो भन्ने कुरामा विवाद नहुँदा नहुँदै महान्यायाधिवक्ताले रवि लामिछाने उपर मुद्दा नचलाउने निर्णय गर्नु दुराग्रहपूर्ण रहेको उनले जिकिर गरेका छन् ।