02/02/2026, 09:53:21
सोमबार, माघ १९, २०८२

निपाह भाइरसको सङ्क्रमण रोक्न अन्तरिम निर्देशिका


काठमाडौँ, माघ १९ गते । भारत तथा बङ्गलादेशमा निपाह भाइरस  देखिएपछि नेपालमा फैलन सक्ने सम्भावना बढेको छ । ४० देखि ७५ प्रतिशत मृत्युदर रहेको निपाह भाइरस फैलिन नदिन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निपाह भाइरसको नमुना सङ्कलन तथा परीक्षणका लागि अन्तरिम निर्देशिकासमेत जारी गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले भारत तथा बङ्गलादेशमा समेत निपाह भाइरस देखिसकेको अवस्थामा नेपालमा फैलन सक्ने सम्भावना रहेकोले अन्तरिम निर्देशिका जारी गरेको जानकारी दिनुभयो । “निपाह भाइरस हालसम्म नेपालमा देखा परेको छैन,”  उहाँले भन्नुभयो, “फैलन सक्ने जोखिम विद्यमान छ, त्यसैले त्यही जोखिमलाई ध्यान दिँदै नमुना सङ्कलन र परीक्षणका लागि अन्तरिम निर्देशिका सार्वजनिक गरेका हौँ ।

डा. बुढाथोकीले दिनुभएको जानकारी अनुसार अन्तरिम निर्देशिकामा ज्वरो तथा श्वासप्रश्वासमा गम्भीर समस्या देखिएका व्यक्तिलाई शङ्कास्पद निपाह भाइरस हुन सक्ने केसका रूपमा वर्गीकरण गरिएको छ । उहाँले चेतनास्तरमा परिवर्तन भएका, निपाह प्रभावित क्षेत्रको यात्रा गरेका व्यक्तिलाई शङ्कास्पद निपाह भाइरस हुन सक्ने रूपमा वर्गीकृत गरिएको बताउनुभयो ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. अनुप बाँस्तोलाले छिमेकी मुलुकमा निपाह भाइरस फैलिएपछि नेपालमा पनि उच्च जोखिममा रहेको बताउनुभयो । उहाँले सङ्क्रमणको शङ्का लागेका व्यक्तिलाई विशेष निगरानी गरिनुपर्ने बताउनुभयो । उहाँले निपाह भाइरस चमेरो, सुँगुर वा सङ्क्रमित व्यक्तिबाट मात्र सर्ने जानकारी दिँदै विश्वको तथ्याङ्क हेर्दा निपाह भाइरसले ४० देखि ७५ प्रतिशतको मृत्यु हुने गरेको बताउनुभयो ।

सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले फलफूल खाने चमेरोमा प्राकृतिक रूपमा यो भाइरस पाइने भन्दै निपाह भाइरसको हालसम्म कुनै खोप तथा विशेष औषधी नभएको जानकारी दिनुभयो । उहाँका अनुसार भारतको पश्चिम बङ्गालमा चिकित्सक तथा नर्सलाई निपाह भाइरसको सङ्क्रमण पुष्टि भएको थियो । भारतमा सन् २००१ देखि नै देखिए पनि नेपालमा भने हालसम्म निपाह भाइरस पुष्टि भएको छैन ।

निपाह भाइरस चमेरो, सङ्क्रमित सुँगुर वा मानिसको सम्पर्क, श्वास वा थुकबाट सर्छ । सङ्क्रमण भएमा चार–१४ दिनमा देखा पर्छ, जस्तै ज्वरो, टाउको दुखाइ, मांसपेशी दुखाइ, घाँटी दुखाइ, वाकवाकी, बेहोसी, र मस्तिष्कमा समस्या (इन्सेफलाइटिस) लगायतका लक्षण देखिन्छन् ।

सङ्क्रमितलाई तुरुन्त आइसोलेसनमा राख्ने, चमेरोले टोकेको वा फल नखाने, काँचो खजुरको रस नपिउने, सङ्क्रमित व्यक्ति वा जनावरसँग सुरक्षाका उपाय अपनाउने, पिपिई प्रयोग गर्ने, हात राम्ररी धुने, मास्क लगाउने, सुँगुर फार्ममा सावधानी अपनाउने र ज्वरो वा टाउको दुखाइ भएमा तुरुन्त अस्पताल जानु पर्छ । यसबाट बच्ने उत्तम उपाय सतर्कता र व्यक्तिगत सुरक्षा नै हुन् ।

– सरोज ढुङ्गेल