02/02/2026, 05:59:02
सोमबार, माघ १९, २०८२
महिला ट्वान्टी–२० विश्वकप ग्लोबल छनोट

महिला ट्वान्टी–२० विश्वकप : बंगलादेश अपराजित च्याम्पियन


काठमाडौँ, माघ १८ : बंगलादेशले अपराजित रहि महिला ट्वान्टी–२० विश्वकप ग्लोबल छनोटको उपाधि जितेको छ । सुपर सिक्सको तेस्रो तथा अन्तिम खेलमा बंगलादेशले आइतबार नेदरल्यान्ड्सलाई ७ विकेटले पराजित गर्‍यो ।

सुपर सिक्सको पहिलो खेल जितेर बंगलादेश र नेदरल्यान्ड्स यसअघि नै महिला ट्वान्टी–२० विश्वकप छनोट भइसकेका थिए । बंगलादेशले समूह चरणका सबै ४ र सुपर सिक्सको सबै ३ खेल जितेर विजेता बनेको हो । बंगलादेशले कुल १० अंक बटुल्यो । बंगलादेशसँग पराजित भएपछि नेदरल्यान्ड्स चौथो स्थानमा झर्‍यो । टोलीले पछिल्लो २ खेल गुमाउन पुग्यो ।

आयरल्यान्ड, स्कटल्यान्ड र नेदरल्यान्ड्सको समान ६ अंक रह्यो र यी तीन टोली राम्रो रन रेटका आधारमा क्रमशः दोस्रोदेखि चौथो स्थानमा रहे । यी शीर्ष चार टोलीले नै जुन–जुलाईमा इंग्ल्यान्ड र वेल्समा हुने महिला ट्वान्टी–२० विश्वकपमा स्थान पक्का गरे । अमेरिका २ अंक र थाइल्यान्ड शून्यसहित पुछारको २ स्थानमा रहे ।

मूलपानीको माथिल्लो क्रिकेट मैदानमा भएको खेलमा बंगलादेशले एकपक्षीय नतिजा निकाल्यो । सान्या खुरानाले ३७ बलमा ६ चौका प्रहार गरी अविजित ४३ र रोबिनी रिज्केले ४५ बल खेलि ४ चौका प्रहार गरी ३९ रन बनाए पनि टस जितेर ब्याटिङ रोजेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाई १ सय २ रनमात्र बनाउन सक्यो । बंगलादेशका नाहिदा अख्तरले ४ ओभरमा १ मेडन राख्दै १० रनमात्र खर्चेर ३ विकेट लिए ।

कप्तान निगार सुल्तानाले ४४ बल खेलि ७ चौकासहित ५० र शोभाना मोस्टारीले २३ बल खेली ५ चौका र १ छक्का प्रहार गरी ३३ रन बनाई अविजित रहेपछि बंगलादेशले १६.४ ओभरमा लक्ष्य पूरा गर्‍यो । सन् २०१४ मा पहिलो पटक आयोजना भएको महिला ट्वान्टी–२० विश्वकपमा खेले यता बंगलादेशले सबै संस्करण खेल्दै आएको छ ।

आयरल्यान्ड र स्कटल्यान्ड विश्वकपमा

अन्तिम दिनको खेलबाट आयरल्यान्ड र स्कटल्यान्डले क्रमशः तेस्रो र चौथो टोलीको रुपमा विश्वकपमा स्थान सुरक्षित गरेका हुन् । बंगलादेश, नेदरल्यान्ड्स, आयरल्यान्ड र स्कटल्यान्डसहित इंग्ल्यान्ड, भारत, अस्ट्रेलिया, श्रीलंका, न्युजिल्यान्ड, पाकिस्तान, दक्षिण अफ्रिका र वेस्ट इन्डिजले आउँदो महिला ट्वान्टी–२० विश्वकप खेल्ने छन् ।

आयरल्यान्डले थाइल्यान्डलाई ६२ रनले पराजित गर्‍यो । पहिला ब्याटिङ गरेको आयरल्यान्डले कीर्तिपुरमा निर्धारित ८ विकेट गुमाई १ सय २१ रनमात्र बनाउन सक्यो । कप्तान ग्याबी लुइसले २५ तथा एमी हन्टर र ओर्ला प्रेन्डरगास्टले समान २४ रन बनाइन् । थाइल्यान्डकी सुलिपोर्न लाओमीले ४ ओभरमा २४ रन खर्चेर ४ र सुनिदा चतुरोङरातानाले २ विकेट लिइन् ।

जवाफमा आएको थाइल्यान्ड १६.१ ओभरमा ५९ रनमा अलआउट भयो । थाइल्यान्डको यो चौथो न्यून स्कोर हो । कप्तान नारुइमोलले २२ र नानापाट कोन्चारोइन्काइले १४ रन बनाउनु बाहेक अन्यले दोहोरो स्कोर बनाउन सकेनन् । आयरल्यान्डकी अर्लेनी केलीले ४ ओभरमा ७ रन मात्र खर्चेर ४, लारा म्याकब्रिजले ३.१ ओभरमा ६ रन खर्चेर ३ र एमी मागुइरले २ विकेट लिइन् ।

अमेरिका र स्कटल्यान्ड बीचको खेलमा जो जिते उही विश्वकपमा पुग्ने समीकरण बनेको थियो । तर कीर्तिपुरमा भएको दोस्रो खेलमा स्कटल्यान्डले अमेरिकालाई ४१ रनले पराजित गर्‍यो । ओपनर डार्सी कार्टरले ३४ बल खेली ७ चौका र २ छक्कासहित ५२, एलिसा लिस्टरले ३२ बल खेली ६ चौका र १ छक्कासहित ४३ तथा पियान्ज चटर्जीले २८ बल खेलि ४ चौका र १ छक्का प्रहार गरी ३९ रन बनाएपछि स्कटयान्डले ८ विकेट गुमाई १ सय ७८ रन बनाएको थियो । तारा नोरिसले अमेरिकाबाट ४ र माही माधवनले २ विकेट लिइन् ।

अमेरिका १९ ओभरमा १ सय ३७ रनमा अलआउट भयो । इला क्लारिजले २६ बल खेली ३ चौका प्रहार गरी ३५ र चेतना पागिदयालाले २६ बल खेलि २ चौकासहित २४ रन बनाइन् । स्कटल्यान्डकी कप्तान क्याथरिन ब्रिस, चटर्जी र च्लोइ अबेलले २–२ विकेट लिइन् ।

१० राष्ट्र सहभागी प्रतियोगिताबाट नेपाल, जिम्बावे, नामिबिया र पपुवा न्यु गिनी समूह चरणबाटै बाहिरिएको थिए । नेपालले जिम्बावेमाथि मात्र विजय हात पार्न सकेको थियो ।

– विनोद पाण्डे