01/29/2026, 11:02:11
बिहिबार, माघ १५, २०८२
राष्ट्रिय लिग फुटबल

राष्ट्रिय लिग फुटबल : अगाडि बढ्दै एपीएफ र मछिन्द्र


काठमाडौँ, माघ १५ : एपीएफ र मछिन्द्र क्लब बुधबार लगातार चौथो खेलमा जित निकालेपछि राष्ट्रिय लिग फुटबलमा उपाधिका लागि सुरुआती दाबेदार देखिएका छन् ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा भएका खेलमा एपीएफले जावलाखेल युथ क्लबलाई २–१ ले हराएको हो भने मछिन्द्रले चित्लाङमाथि ३–१ को जित निकालेको थियो । यो नतिजाले दुवै टिम समान १२ अंकमा पुगेका छन् । दुवै टिमको गोल अन्तर पनि बराबर छ । बढी गोल गरेको आधारमा एपीएफ अगाडि छ । प्रतियोगितामा लगातार आफूले खेलेको सबै खेल जित्ने यी दुई मात्र छन् ।

दिनको पहिलो खेलमा एपीएफले पुनरागमन जित हात पारेको हो । जावलाखेलले २० औं मिनेटमा धमेन्द्र कुँवरको गोलबाट लिएको अग्रता कायम राख्न सकेन । एपीएफको जितको नायक समीरराज थोकर रहे र उनले दोस्रो हाफमा दुई गोल गरेका थिए । उनले ५८ औं मिनेटमा पहिलो गोल गरेपछि ८४ औं मिनेटमा विजयी गोल गर्दै टिमको जित निश्चित गरे । हारले जावलाखेल ४ खेलबाट ३ अंकमै सीमित रह्यो । टोलीको यो लगातार दोस्रो हार हो ।

दोस्रो खेलमा भने मछिन्द्रले ३० औं मिनेटमा प्रदीप बुढाथोकीको गोलबाट अग्रता लिएपछि जोथान एडुवार्डोले ६५ औं मिनेटमा गोल थपेका थिए । एलिजोन एलिजोनिभले ६९ औं मिनेटमा तेस्रो गोल गरे ।

विज्ञान खड्काले ७० औं मिनेटमा चित्लाङका लागि एक गोल फर्काए पनि त्यसले खेलको नतिजामा कुनै फरक पारेन । यस्तोमा चित्लाङ ४ अंकमै सीमित रह्यो । टोलीको पनि यो लगातार दोस्रो हार हो । चित्लाङले आफ्नो तीन खेलमा एकै अंकमात्र बटुलेको छ ।