01/29/2026, 11:02:00
बिहिबार, माघ १५, २०८२

चुनावी मैदानमा कर्णालीका ‘जेन-जी’


सुर्खेत, माघ १५ गते । गत भदौ २३ र २४ गते जेन-जी आन्दोलन हुँदा सुर्खेतका रवि हमाल ठकुरी पनि आन्दोलन सफल बनाउन सडकमा उत्रिनुभयो । आन्दोलनले उठाएका एजेन्डा पूरा गराउन उहाँले त्यसपछि पनि निरन्तर खबरदारी गरिरहनुभयो । कहिले लेखेर, कहिले बोलेर त कहिले सडकमै उत्रिएर उहाँले राजनीतिक दलदेखि सुशीला कार्की नेतृत्वको सरकारलाई समेत जेन-जी विद्रोह नभुल्न र त्यसले उठाएका मुद्दाको उचित सम्बोधन गर्न सचेत गराइरहनुभएको छ ।

२८ वर्षीय हमाल आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि सुर्खेतको निर्वाचन क्षेत्र नं. १ बाट उम्मेदवार बन्नुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार हमाल अहिले आफ्ना एजेन्डा लिएर मतदाता भेटघाटमा व्यस्त हुनुहुन्छ । पूर्वी सुर्खेतका गाउँ गाउँमा डुलिरहनुभएको छ । सुर्खेतका जनताको मागलाई सम्बोधन गर्नुका साथै जेन-जीले उठाएका मुद्दालाई पनि आफ्नो एजेन्डा बनाएको हमालले बताउनुभयो ।

सुर्खेतकै निर्वाचन क्षेत्र नं. २ बाट पनि जेन-जीका कृष्ण खत्री उम्मेदवार बन्नुभएको छ । उहाँ भने कुनै राजनीतिक दलबाट नभई स्वतन्त्र उम्मेदवार हुनुहुन्छ । राजनीतिसहित राज्यका सबै निकायमा युवापुस्ताको प्रतिनिधित्व हुनुपर्ने भन्दै उहाँले प्रतिनिधि सभाको चुनाव लड्ने निर्णय लिनुभएको हो । खत्रीको चुनावी एजेन्डमा प्रविधिलाई विशेष जोड दिएको देखिन्छ । अहिलेको समयमा प्रविधिको उपयोगले नै समृद्ध मुलुक बनाउन सकिने उहाँको विश्वास छ । विकासमा पछि परेको सुर्खेत र त्यसमा पनि पश्चिम सुर्खेतलाई समृद्ध बनाउन प्रविधिको भरपुर प्रयोग गर्नुपर्ने र जडीबुटीको सदुपयोग गर्नुपर्नेमा खत्रीले जोड दिनुभयो । यसका लागि आफूले योगदान दिन सक्ने उहाँले बताउनुभयो ।

रवि र कृष्ण जस्तै यस पटक कर्णाली प्रदेशबाट १२ जना जेन-जीका उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । कर्णालीका १० जिल्लामा प्रतिनिधि सभाका १२ वटा निर्वाचन क्षेत्र छन् । जहाँबाट १२ जना जेन-जीका उम्मेदवार छन् । १२ जना नै साना राजनीतिक दल र स्वतन्त्र उम्मेदवार हुनुहुन्छ तर ठुला भनिएका दल नेपाली कांग्रेस, नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले भने कर्णालीमा जेन-जी उमेर समूहका कसैलाई पनि उम्मेदवार बनाएका छैनन् ।

प्रगतिशील लोकतान्त्रिक पार्टीले डोल्पाबाट २६ वर्षीय विकास बुढालाई उम्मेदवार बनाएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीले मुगुमा २५ वर्षीय भुवन टमटा र हुम्लामा २६ वर्षीय टासी ल्हान्जोमलाई उठाएको छ । यस्तै नेपाल जनता पार्टीले जुम्लामा २६ वर्षीय रनिलविक्रम शाही, मङ्गोल नेसनल अर्गनाइजेसनले जाजरकोटमा २५ वर्षीय कमान बुढामगर, गतिशील लोकतान्त्रिक पार्टीले सुर्खेत–२ मा २८ वर्षीय पवन थापामगरलाई उम्मेदवार बनाएको छ ।

सिँजा समाचारदाताका अनुसार युवाको सहभागिता न्यून रहेको आरोप लागिरहेको बेला नेपाल जनता पार्टीबाट २६ वर्षीय रनिलविक्रम शाहीको उम्मेदवारीलाई अर्थपूर्ण रूपमा हेरिएको छ । जुम्लाको तातोपानी गाउँपालिका–२, डाँगीबाडा निवासी शाही हाल डिप्लोमा इन सिभिल इन्जिनियरिङमा अध्ययनरत हुनुहुन्छ । प्राविधिक पृष्ठभूमि भएको युवा उम्मेदवारका रूपमा उहाँले विकास, पूर्वाधार र सेवा प्रवाहलाई पहिलो चुनावी एजेन्डा बनाउनुभएको छ ।

उहाँका अनुसार हालका परम्परागत राजनीतिक नेतृत्वबाट देशमा अपेक्षित परिवर्तन सम्भव नदेखिएकाले नयाँ सोच, नयाँ ऊर्जा र नयाँ पुस्ताको नेतृत्व आवश्यक भइसकेको छ । “देश बदल्न युवाले राजनीतिबाहिर बसेर आलोचना मात्र होइन, प्रत्यक्ष नेतृत्व लिनु पर्छ,” उहाँले भन्नुभयो ।

आमजनता पार्टीले पनि दैलेख–२ मा २७ वर्षीय तीर्थाकुमारी वंशीमगर विकलाई उम्मेदवार बनाएको छ । त्यसै गरी राष्ट्रिय प्रजातन्त्र पार्टीले सुर्खेत–१ मा २८ वर्षीय रवि हमाल ठकुरीलाई उठाएको छ । बाँकी चार जना स्वतन्त्र उम्मेदवार हुनुहुन्छ । कालीकोटमा २७ वर्षीय अस्मिनकुमार विष्ट र २६ वर्षीय मानबहादुर तिरुवा, दैलेख–२ बाट २६ वर्षीय हिमबहादुर शाही र सुर्खेत–२ बाट २७ वर्षीय कृष्ण खत्री गरी १२ जेन-जीले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।