01/27/2026, 16:04:02
मङ्गलबार, माघ १३, २०८२

प्रकाश सपुतको रास्वपाबाट राजनीतिमा प्रवेश, प्रतीक कि सम्भावना ?


काठमाडौँ, माघ १३ गते । गायक तथा अभिनेता प्रकाश सपुतले औपचारिक रूपमा आफू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मार्फत सक्रिय राजनीतिमा अघि बढेको घोषणा गरेका छन् । सोमबार सामाजिक सञ्जालमार्फत पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहसँगको तस्वीर सार्वजनिक गर्दै उनले यो निर्णयबारे जानकारी दिएका हुन् ।

सामाजिक सञ्जालमा सपुतले लेखेका छन्, ‘सम्पूर्ण नेपालीहरूको व्यक्तिगत राजनीतिक आस्था र विचारको कदर गर्दै, कसैलाई अपमान र अनादर नगर्ने प्रतिबद्धतासहित नयाँ समय र नयाँ आन्दोलनको सम्बोधन गर्न नयाँ राजनीतिक शक्ति स्थापित गराउन खुलेर सरिक हुने र सहयोग गर्ने निधो गरेको छु ।’

राजनीतिमा प्रवेशलाई उनले आफ्नो जीवनकै कठोर निर्णयका रूपमा चित्रित गरेका छन् । कला र सिर्जनामार्फत विभिन्न राजनीतिक आस्था राख्ने दर्शक–स्रोताको मन जित्दै आएका सपुतका लागि यो कदम सहज भने छैन ।

‘मैले दुःख, संघर्ष, मिहिनेत र धैर्यताले टिकाएको मेरो कला यात्राका क्रममा रिझाएका थुप्रै दर्शक स्रोताको मन दुखाएर तपाईंहरूसँग हातेमालो गर्दै छु । पेसागत हिसाबले यो मेरो जीवनकै कठोर निर्णय हो,’ उनले लेखेका छन् । तर, यो निर्णय गलत सावित नहुनेमा आफू विश्वस्त रहेको पनि उनले उल्लेख गरेका छन् ।

‘कुनै एक दलमा लागेको भनेर मसँग मन दुखाउने मेरा प्रिय दर्शक स्रोताको मन हामीले हाम्रो काम र इमानदारीले जित्नेछौँ । हामी सँगै देशले जित्नेछ ।’

यसैबीच, रास्वपाले प्रकाश सपुतलाई २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक प्रणालीतर्फ दलित कोटाबाट उम्मेदवार बनाइसकेको छ । हालै मेला–महोत्सवमा आधारित सांगीतिक टूर टुंग्याएका सपुत अब चुनावी प्रचार–प्रसारमा सक्रिय हुने तयारीमा छन् ।

कलाकार सपुत, राजनीतिमा कति सक्षम ?

प्रकाश सपुत केवल लोकप्रिय गायक मात्र होइनन्, उनी वर्ग, पीडा र पहिचानको आवाज बनेका कलाकार हुन् । उनका गीतहरूले दलित जीवन, श्रम, सामाजिक विभेद र सीमान्तकृत समुदायका कथा बोलेका छन् । यही कारण उनी राजनीतिमा प्रवेश गर्दा धेरैले यसलाई आशाको संकेतका रूपमा लिएका छन् ।

तर, यहीँबाट अर्को बहस सुरु हुन्छ- कलाबाट राजनीतिसम्मको संक्रमण कति सहज छ ?

सपुत स्वयम्‌ पनि एक प्रकारको द्विविधामा देखिन्छन् । ११ माघसम्म सांगीतिक कार्यक्रममा व्यस्त रहने र त्यसपछि भूमिकामा परिवर्तन आउने उनको भनाइले कलाकारको भावनात्मक संसार र राजनीतिक यथार्थबीचको द्वन्द्व उजागर गर्छ ।

राजनीतिमा आएपछि गीतले होइन, निर्णयले बोल्नुपर्छ । भावना होइन, नीति र कानुनले मूल्यांकन हुन्छ । सपुतजस्ता संवेदनशील कलाकारका लागि यो रूपान्तरण सहज छैन तर असम्भव पनि होइन ।

अब सपुत राजनीतिमा केवल प्रतीक बन्ने हुन्, कि साँच्चिकै परिवर्तनको संवाहक ? उत्तर भने उनको नियत, निरन्तरता र राजनीतिक अभ्यासले दिनेछ ।

 


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..