01/26/2026, 23:56:51
सोमबार, माघ १२, २०८२

मधेशले कांग्रेस र प्रजातन्त्रलाई लगाएको गुण भुल्न सकिँदैन : सभापति थापा


सर्लाही, माघ १२ गते । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेशले कांग्रेसलाई लगाएको गुणबारे आफू राम्रोसँग जानकार रहेको बताउनु भएको छ ।

दोस्रो विशेष महाधिवेशनबाट पार्टी सभापतिमा निर्वाचित भएपछि पहिलो पटक सोमबार मधेश झर्नुभएका थापाले आफ्नो निर्वाचन क्षेत्र सर्लाहीको धनकौल गाउँपालिकास्थित क्षेत्रीय पार्टी कार्यालयमा कार्यकर्तालाई सम्वोधन गर्दै मधेशले कांग्रेस र प्रजातन्त्रलाई लगाएको गुण भुल्न नसक्ने बताउनुभएको हो ।

आफूलाई मधेशमा आएर समाहित भएपछि यहाँको बारेमा थप जान्न पाउँछु भनेर सर्लाही आएको हुँ,” थापाले भन्नुभयो, “अब यहीँको प्रतिनिधि भएर यहाँको रहन-सहनसँग घुलमिल हुने छु ।

आफूभित्र मधेश र मधेशभित्र आफूलाई ल्याउने प्रयास स्वरुप सर्लाही आएको थापाको भनाइ छ । केही वर्षअघि नै पूर्वपश्चिम हुलाकी राजमार्गको यात्रा गर्दा आफूलाई मधेशको प्रतिनिधित्व गर्ने रहर लागेकोमा यो पटक साकार भएको उहाँले बताउनुभयो ।

नेपालको प्रजातान्त्रिक आन्दोलनमा यत्रो योगदान गरेको मधेशमा अब आफू सेवक भएर काम गर्ने कांग्रेस सभापति थापाको भनाइ छ । उहाँले सर्लाही ४ र काठमाडौंमा स्थायी कार्यालय खोलेरै सर्लाही ४ का नागरिकको समस्या समाधानमा लाग्ने बताउनुभयो ।

सभापति थापाले करिव १५ मिनेट सम्बोधनमा कुनै राजनीतिक दल तथा नेताविरुद्ध बोल्नु भएन । आफू कसैविरुद्ध आरोप प्रत्यारोपमा उत्रन नभई नागरिकको सेवक बन्न आएको कांग्रेस सभापति थापाको भनाइ छ ।

कांग्रेस सभापति थापालाई सोमबार मधेश प्रदेशको बारा, रौतहट र सर्लाहीका विभिन्न स्थानमा स्वागत गर्दै नेता, कार्यकर्ताले क्षेत्र नं. ४ सम्म ल्याएका हुन् । सभापति थापाले सोमबार दिउँसो सर्लाहीस्थित मुक्तेश्वर बाबाधाम मन्दिरमा दर्शन गरी क्षेत्र नं. ४ मा प्रवेश गरेर चुनावी अभियान सुरु गर्नुभएको हो ।

blog

म मधेस बुझ्न आएको हुँः सभापति थापा

यसैगरी, राससका अनुसार, नेपाली कांग्रेसका सभापति गगन थापाले आफू मधेस पढ्न र बुझ्न आएको बताउनुभएको छ ।

आज सर्लाही निर्वाचन क्षेत्र नं. ४ का मतदातालाई सम्बोधन गर्दै सभापति थापाले आफूले सुनेको मधेस पढ्न र बुझ्न आएको बताउनुभयो । सिमरा विमानस्थलमा आर्लेपछि ठाउँ-ठाउँमा मधेसका साथीहरुले स्वागत गरेर देखाएको मायाले आफूलाई उत्साहित बनाएको उहाँको भनाइ थियो ।

नेपाली कांग्रेसको नेता भएको हैसियतले सभापति थापाले मधेसले कांग्रेस र लोकतन्त्रका लागि लगाएको गुणबारे जानकार भएको बताउनुभयो ।

अब म यहाँको भाषा, रहनसहन, वेशभूषा, संस्कार संस्कृति सबै पढ्छु र सिक्छु । केही नेता साथीहरुले एक लाइन भए पनि स्थानीय भाषामा सम्बोधन गरिदिनु भन्नुभएको थियो”, उहाँले भन्नुभयो, “म दुई दिनको चटक देखाउन आएको हैन । त्यसैले सबै सिक्छु अनि मात्रै बोल्छु ।

काठमाडौँ क्षेत्र नं ४ बाट प्रतिनिधि भएर मधेसका सवालहरू संसदमा धेरै पटक उठाएको उल्लेख गर्दै उहाँले यस पटक मधेस र मधेसका सवाल नजिकबाट बुझ्ने प्रतिबद्धता जनाउनुभयो । एक पटक भए पनि मधेसप्रति समर्पित नभई, मधेसमा आफू र आफूमा मधेस नल्याई सम्पूर्ण रुपमा नेपाली हुन नसक्ने ठानेर आफू मधेस झरेको उहाँले स्पष्ट पार्नुभयो ।

– जनार्जन खत्री