01/25/2026, 15:53:08
आइतबार, माघ ११, २०८२

राष्ट्रियसभामा पहिलो बन्दै छ कांग्रेस, दोस्रोमा झर्दै नेकपा, आउँदै छन् यी अनुहार


काठमाडौँ, माघ ११ गते । राष्ट्रियसभाको रिक्त १९ मध्ये १८ सांसदका लागि आइतबार मतदान जारी छ । निर्वाचन आयोगका अनुसार सात वटै प्रदेशमा १८ सिटका लागि ४४ जनाको उम्मेदवारी परेको छ, जसमध्ये कोशी प्रदेशमा ५, मधेशमा ११, बागमतीमा ६, गण्डकीमा ६, लुम्बिनीमा ८, कर्णालीमा ४ र सुदूरपश्चिम प्रदेशमा ४ जनाले उम्मेदवार मैदानमा छन् ।

राष्ट्रियसभा चुनावमा नेपाली कांग्रेस, नेकपा एमाले र जसपा नेपालले तालमेल गरेका छन् । तालमेलपछि कांग्रेसले ९, एमालेले ८ र जसपा नेपाल (लोसपा)ले एक सिटमा उम्मेदवारी दिएका छन् । यो तालमेलपछि सबै सिटमा कांग्रेस–एमाले र लोसपाकै उम्मेदवार जित्ने निश्चितप्राय: रहेको छ ।

चुनावी तालमेलपछि राष्ट्रियसभाको समीकरण बदलिने भएको छ । हालसम्म राष्ट्रियसभामा अध्यक्ष नारायण दाहालसहित १८ सांसद रहेको तत्कालीन माओवादी केन्द्र (हाल नेपाली कम्युनिस्ट पार्टी)  राष्ट्रियसभामा पहिलो दल छ । त्यस्तै, तत्कालीन एकीकृत समाजवादीसँग हाल ८ सांसद छन् । नेकपासँग राष्ट्रपतिले मनोनीत वामदेव गौतमलाई जोड्दा २७ सांसद थिए । गौतमले प्रतिनिधिसभा चुनाव लड्नलाई राजीनामा दिएका छन् । त्यस्तै, नेकपाका नारायणकाजी श्रेष्ठले पनि राजीनामा दिएर प्रतिनिधिसभाको उम्मेदवार बनेका छन् ।

हाल दोस्रो रहेको कांग्रेससँग १६ जना सांसद छन् । त्यस्तै, एमालेका ११ सांसद रहेकोमा भगवती न्यौपानेले राजीनामा दिएकी छन् । उनको कार्यकाल आगामी २० फागुनमा सकिँदै थियो, जसपा नेपालसँग तीन, लोसपासँग एक र राष्ट्रिय जनमोर्चासँग एक सांसद छन् ।

आगामी २० फागुनबाट एमालेका ८,नेकपाका ९, जसपा नेपाल १, लोसपा १ सांसदको कार्यकाल सकिँदै छ । कांग्रेसबाट सांसद बनेका १६ जनाकै कार्यकाल बाँकी छ । नयाँ निर्वाचनपछि कांग्रेसका ९ जना नै विजयी भएमा उसको २५ सांसद हुनेछन् । अहिले पहिलो भएको नेकपा ९ सिट गुम्दा १७ सिटमा सीमित हुनेछ । एमालेको ११ सिटबाट आठ सिट घटेर आठै थपिँदा समान अवस्थामा रहनेछ, जसपा नेपालले भने एक सिट गुमाउनेछ । तर, लोसपा र जसपा मिलेर बन्ने नयाँ दलको ३ सिट हुनेछ ।

५९ सदस्यीय राष्ट्रियसभामा सातवटै प्रदेशबाट ८ जनाका दरले ५६ जना निर्वाचित र ३ जना सांसद राष्ट्रपतिबाट मनोनीत गरी ५९ जना सांसद हुने व्यवस्था संविधानले गरेको छ ।

राष्ट्रियसभा सदस्यको चुनावमा प्रदेशसभा सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख मतदाता हुन्छन् । सातवटै प्रदेशमा ५५० प्रदेशसभा सदस्य छन् । ७५३ स्थानीय तहका प्रमुख र उपप्रमुख गरी स्थानीय तहका पदाधिकारीतर्फ मात्रै १ हजार ५ सय ६ मतदाता रहन्छन् ।

आइतबार कोशी प्रदेशबाट ३ जना, मधेश प्रदेशबाट ४ जना, बागमती र गण्डकी प्रदेशबाट २/२ जना, लुम्बिनी प्रदेशबाट ३ जना, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट २/२ जना राष्ट्रियसभा सदस्य निर्वाचित हुनेछन् ।

तालमेलअनुसार कोशी प्रदेशमा कांग्रेसबाट सुनिलबहादुर थापा, एमालेबाट रोशनी मेचे र सोम पोर्तेल मैदानमा छन् । मधेश प्रदेशमा कांग्रेसका धर्मेन्द्र पासवान, रन्जित कर्ण र एमालेका रेखा झा उम्मेदवार छन् ।

बागमती प्रदेशमा कांग्रेसबाट गीता देवकोटा र एमालेबाट प्रेम दंगाल मैदानमा छन् । गण्डकी प्रदेशमा कांग्रेसबाट जगत तिमिल्सिना र एमालेबाट र सम्झना देवकोटा मैदानमा छन् । लुम्बिनी प्रदेशमा कांग्रेसबाट वासुदेव जंगली र चन्द्रबहादुर केसी, एमालेबाट रामकुमारी झाँक्री मैदानमा छन् ।

कर्णाली प्रदेशमा कांग्रेसबाट ललितजंग शाही, एमालेबाट मीना रखाल, सुदूरपश्चिम प्रदेशमा कांग्रेसका खम्मबहादुर खाती र एमालेका लीला भण्डारी मैदानमा छन् । यी उम्मेदवारहरू तालेमलपछि राष्ट्रियसभा सदस्यमा निर्वाचिन हुने लगभग निश्चित छ ।

यस्तो छ प्रदेशगत समीकरण 

कोशी

कोशी प्रदेशमा १३७ स्थानीय तहका २७४ र प्रदेशसभा सदस्य ९३ गरी ३६७ मतदाता छन् । कोशीमा एमालेको ४० प्रदेशसभा सदस्य र ११० स्थानीय तहका प्रतिनिधि गरी ४२१० मतभार छ । कांग्रेसको २१ प्रदेशसभा सदस्य र ११५ स्थानीय तहका प्रतिनिधि गरी ३७२२ मतभार छ ।

तत्कालीन माओवादीको १३ प्रदेशसभा सदस्य र ३१ पालिकाका प्रतिनिधि गरेर १२७८ र तत्कालीन एकीकृत समाजवादीका ४ प्रदेशसभा सदस्य र ७ स्थानीय तहको प्रतिनिधि गरी ३४५ छ । समग्रमा अहिले नेकपाको १६२३ मतमार छ । जसपा नेपालको एक प्रदेशसभा सदस्य र ४ स्थानीय तहका प्रतिनिधि गरेर १२९ मतभार छ ।

राप्रपाको ४ स्थानीय तहका प्रतिनिधिको ३९४ मतभार छ । स्वतन्त्रको ३ स्थानीय तहको प्रतिनिधिको ५७ मतभार छ । यसरी एक्लाएक्लै प्रतिस्पर्धा गर्ने हो भने कोशीमा एमाले बलियो छ । त्यसपछि नेपाली कांग्रेस र तेस्रोमा नेकपा छ ।

मधेश 

मधेश प्रदेशमा राजनीतिक दलहरूको प्रतिनिधित्व अन्य प्रदेशको तुलनामा बढी छ । एमालेको २५ प्रदेशसभा सदस्य, ५७ पालिका प्रतिनिधि गरेर २४०८ मतभार छ । कांग्रेसको २२ प्रदेशसभा सदस्य, १०२ पालिका प्रतिनिधि गरेर ३१०४ मतभार छ । जसपा नेपालको १९ प्रदेशसभा सदस्य र ५१ जना पालिका प्रतिनिधि गरी १९२३ मतभार छ । उसले लोसपासँग एकीकरण गर्दै छ । लोसपाको ९ प्रदेशसभा सदस्य र २४ पालिका प्रतिनिधि गरेर ९३३ मतभार छ । यसरी नयाँ दलको २८५६ मतभार छ ।

जनमत पार्टीको १३ प्रदेशसभा सदस्य र ३ पालिका प्रतिनिधि गरेर ७४६ मतभार छ । तत्कालीन माओवादीको ९ प्रदेशसभा सदस्य र १८ पालिका प्रतिनिधि गरी ७६६ तथा तत्कालीन एकीकृत समाजवादीका ७ प्रदेश सांसद तथा ११ पालिकाका प्रतिनिधि गरेर ५८० मतभार गरेर १३४६ मतभार हुन आउँछ ।

नाउपा, राप्रपा, संघीय समाजवादी (हालको जसपा) को १ प्रदेश सांसदको ५३ मतभार, तमलोपाको १ पालिका प्रतिनिधिको १९ मतभार छ । विवेकशील साझा (हाल रास्वपा)को २ पालिका प्रतिनिधिको ३८ मतभार छ । त्यस्तै, स्वतन्त्र जनप्रतिनिधि ३ पालिकाको मतभार ३७५ छ ।

मधेशमा कांग्रेस पहिलो, एमाले दोस्रो, जसपा तेस्रो र नेकपा चौथो शक्तिको रूपमा छन् । मधेश प्रदेशबाट राष्ट्रियसभाको चुनाव जित्न ठूला दललाई साना दलसँग गठबन्धन गर्नुपर्ने बाध्यता देखिन्छ ।

बागमती

बागमती प्रदेशमा कांग्रेस अगाडि छ । उसको ३७ प्रदेश सांसद १०८ पालिका प्रतिनिधि गरेर ४०१३ मतभार रहेको छ । त्यस्तै, एमालेको २७ प्रदेश सदस्य र ६० पालिका प्रतिनिधि गरेर २५७१ मतभार छ । तत्कालीन माओवादीको २१ प्रदेश सांसद र ५७ पालिका प्रतिनिधि गरेर २१९६ मतभार छ । त्यस्तै, तत्कालीन  एकीकृत समाजवादीको ७ प्रदेश सांसद र ९ पालिका प्रतिनिधि गरेर ५४२ मतभार रहेको छ । यसरी नेकपाको २७३८ मतभार छ ।

राप्रपाको १३ प्रदेश सांसद र १ पालिका प्रतिनिनिधि गरेर ७०८ मतभार छ । हाम्रो नेपाल पार्टीको २ प्रदेश सांसदको १०६ मतभार, नेमकिपाको ३ प्रदेश सांसद र २ पालिका प्रतिनिधि गरेर १९७ मतभार छ । स्वतन्त्र १ पालिकाको १९ मतभार छ । बागमतीमा कांग्रेस र एमालेले अन्य दललाई मिलाएर आफू अघि आउने रणनीति लिनेछन् ।

गण्डकी

उता गण्डकीमा कांग्रेस पहिलो दल देखिएको छ । २७ प्रदेश सांसद र ६७ पालिका प्रतिनिधि गरेर कांग्रेससँग २७०४ मतभार छ । एमालेसँग २२ प्रदेश सांसद र ६८ पालिका प्रतिनिधि गरेर २४५८ मतभार छ । तत्कालीन माओवादीसँग ८ प्रदेश सांसद र ३० पालिका प्रतिनिधि गरेर ९९४ र तत्कालीन एकीकृत समाजवादीको १ पालिका प्रतिनिधि गरेर १९ मतभार गर्दा नेकपाको १०१३ मतभार छ । राप्रपाको २ प्रदेश सांसदको मतभार १०६ छ ।

त्यस्तै, नेपाल समाजवादी पार्टीको १ प्रदेश सांसदको ५३ मतभार, राष्ट्रिय जनमोर्चाको ३ पालिका प्रतिनिधि गरेर ५७ मतभार र स्वतन्त्रको १ पालिका प्रतिनिधि गरेर १९ मतभार छ । गण्डकीमा एक्लाएक्लै चुनावमा जाने अवस्था हुने हो भने कांग्रेस र एमालेको प्रतिस्पर्धा छ ।

लुम्बिनी

उता लुम्बिनीमा पनि कांग्रेस अघि छ । कांग्रेसको २७ प्रदेश सांसद र ९२ पालिका प्रतिनिधि गरेर ३१७९ मतभार छ । एमालेको २९ प्रदेश सांसद र ६७ पालिका प्रतिनिधि गरेर २८१० मतभार छ । नेकपाको १२ प्रदेश सांसद र ४० पालिका प्रतिनिधि गरेर १३९६ मतभार छ । राप्रपाको ४ प्रदेश सांसद र ३ पालिका प्रतिनिधि गरेर २६९ मतभार छ । नाउपाको ४ प्रदेश सांसदको २१२ मतभार छ ।

जसपाको २ प्रदेश सांसद र ६ पालिका प्रतिनिधि गरेर १६७ मतभार छ । त्यस्तै, जसपा नेपालको १ प्रदेश सांसदको ५३ मतभार छ भने लोसपाको ३ प्रदेश सांसद र ४ पालिका प्रतिनिधि गरेर २३५ भतभार गरेर नयाँ दलको २८८ मतभार छ । जनमतको ३ प्रदेश सांसदको मतभार १५९ छ । राजमोको १ प्रदेश सांसद र ४ पालिका प्रतिनिधि गरेर १२९ जनमत छ । स्वतन्त्र प्रदेश सांसद १ जनाको मतभार ५३ छ ।

कर्णाली 

कर्णालीमा भने एक्लाएक्लै लड्दा कांग्रेस एमाले र नेकपाबीचमा अन्य दल तथा स्वतन्त्र निर्णायक हुने देखिन्छ । एमाले कर्णालीमा तेस्रो स्थानमा छ । कर्णालीमा कांग्रेसका १४ प्रदेश सांसद र ५९ पालिका प्रतिनिधि गरेर १८६३ मतभार छ । तत्कालीन माओवादीका १३ प्रदेश सांसद तथा ४८ पालिका प्रतिनिधि गरेर १६०१ मतभार र तत्कालीन एकीकृत समाजवादीको १ प्रदेश सांसदको ५३ मतभार र १० पालिका प्रतिनिधि गरेर २४३ गरी नेकपाको १८४४ मतभार छ ।

एमालेको भने १० प्रदेश सांसद र ३५ पालिका प्रतिनिधि गरेर ११९५ छ । राप्रपाको १ प्रदेश सांसदको ५३ मतभार र स्वतन्त्रको १ प्रदेश सांसद तथा ६ पालिका गरेर १६७ मतभार छ ।

सुदूरपश्चिम

सुदूरपश्चिममा भने कांग्रेस बलियो देखिएको छ । उसको १८ प्रदेशसभा सदस्य र ८६ स्थानीय तहको प्रतिनिधि गरी २५८८ मतभार छ । एमालेको ११ प्रदेशसभा सदस्य र २५ पालिका प्रतिनिधि गरेर १०५८ मतभार छ । तत्कालीन माओवादीको ११ प्रदेशसभा सदस्य र २८ पालिका प्रतिनिधि गरेर १०५८ र तत्कालीन एकीकृत समाजवादीको ४ प्रदेशसभा सदस्य र ५ पालिका प्रतिनिधि गरेर ३०७ गरी नेकपाको १३६५ मतभार छ ।

तत्कालीन नागरिक उन्मुक्ति पार्टीको ७ प्रदेशसभा सदस्य र ७ पालिका प्रतिनिधि गरेर ५०४ मतभार रहेको छ । राप्रपाको १ प्रदेशसभा सदस्यको ५३ मतभार छ । १ स्वतन्त्र प्रदेशसभा सदस्य र ३ पालिका प्रतिनिधि गरेर ११० मतभार छ । एक्लाएक्लै प्रतिस्पर्धा गर्ने हो भने सुदूरपश्चिममा कांग्रेस पहिलो, एमाले दोस्रो र नेकपा तेस्रो शक्तिको रूपमा रहेका छन् ।

दिपेन्द्र अधिकारी


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..