01/25/2026, 11:07:35
आइतबार, माघ ११, २०८२

नागढुंगा सुरुङ सञ्चालनका लागि १० सेवा प्रदायक प्रतिस्पर्धामा


काठमाडौं, माघ ११ : नागढुंगा–सिस्नेखोला सुरुङमार्ग  सञ्चालनका लागि १० वटा सेवा प्रदायक बोलपत्र प्रक्रियामा सहभागी भएका छन् । ३० पुससम्मको म्यादअनुसार बोलपत्र खोल्दा १० कम्पनी प्रतिस्पर्धामा आएको नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाले जनाएको छ ।

अहिले बोलपत्रमा सहभागी कम्पनीको प्राविधिक पक्षको मूल्यांकन भइरहेको छ । प्राविधिक मूल्यांकनको काम १५ माघभित्र सकिने नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाका निर्देशक सौजन्य नेपालले बताए ।

१५ माघभित्र प्राविधिक मूल्यांकनको काम सकेर कम्पनीहरूले प्रस्ताव गरेको आर्थिक पक्ष हेर्छौं,’ नेपालले भने, ‘१५ फागुनभित्र आर्थिक प्रस्तावको मूल्यांकन सकेर छानिने कम्पनीलाई सम्झौताका लागि आउने गरी आशयको सूचना निकाल्छौं ।’  फागुन अन्तिमसम्म सम्झौता गरेर छानिएको कम्पनी फिल्डमा पुग्ने उनले सुनाए ।

सेवा प्रदायक छान्ने काम सकिएपछि सम्बन्धित कम्पनीमार्फत सुरुङ सञ्चालनमा खटिने कर्मचारीलाई तालिम दिन्छौं,’ नेपालले भने, ‘त्यसैले चैतभित्र परीक्षणका रूपमा सुरुङ सञ्चालन गर्ने आयोजनाको तयारी छ ।

सुरुङमार्ग सञ्चालनका लागि अन्तर्राष्ट्रिय बोलपत्र मार्फत सेवा प्रदायक छान्न पहिलो पटक आयोजनाले गत १६ कात्तिकमा बोलपत्र आह्वान गरेको थियो । यसअनुसार बोलपत्र बुझाउने अन्तिम म्याद २ पुससम्म थियो । तर अन्तर्राष्ट्रिय निर्माण कम्पनी र नेपाली निर्माण व्यवसायीको मागअनुसार पहिलो पटक १६ पुससम्म म्याद थप गरियो ।

यस अवधिमा निर्माण व्यवसायीबाटै आयोजनाले राखेको प्रावधानका केही बुँदामा स्पष्ट हुन नसकेको भन्दै स्पष्ट पार्न माग आएपछि ३० पुससम्मलाई समय थपिएको थियो । त्यहीअनुसार अहिले बोलपत्र खोलिएको हो । प्रतिस्पर्धामा समेटिएका १० वटा विदेशी कम्पनीसँग सबै नेपाली कम्पनी जेभी रहेको आयोजनाले जनाएको छ ।

चीन सरकारको स्वामित्वमा रहेका र कालोसूचीमा परेका कम्पनी छान्न नहुने जापानले अडान लिए पनि अहिले सेवा प्रदायकको प्रतिस्पर्धामा सबैभन्दा बढी कम्पनी चिनियाँ छन् । सडक विभाग स्रोतका अनुसार प्रतिस्पर्धामा ६ वटा चिनियाँ, ३ वटा भारतीय र एउटा टर्किस कम्पनी छन् । यस अवधिमा पुरानो निर्माण कम्पनीले सडक विभागलाई सम्पन्न भएको सुरुङ हस्तान्तरण गर्नेछ । ‘सुरुमा सेवा प्रदायकलाई तीन महिना परीक्षणको समय हुन्छ,’ उनले भने ।

अन्तर्राष्ट्रिय बोलपत्र भएकाले यसमा नेपाली कम्पनीसँग विदेशी कम्पनीले अनिवार्य रूपमा जोइन्ट भेन्चर गर्नुपर्ने प्रावधान राखिएको छ । यस्तो प्रावधानले सुरुङ सञ्चालन गर्न नेपाली प्राविधिक तयार हुने र पछि नेपाली आफैंबाट सुरुङ सञ्चालन गर्न सहज हुने आयोजनाका निर्देशक नेपालको भनाइ छ । अहिले छानिने सेवा प्रदायकले पाँच वर्षसम्म सुरुङको व्यवस्थापन र सञ्चालन गर्नुपर्नेछ ।

पाँच वर्षसम्म सुरुङको मर्मत, ट्राफिक व्यवस्थापन, आपत्कालीन उद्धार, टोल उठाउने, समग्र सुरुङ र २.८ किलोमिटरको काठमाडौं र धादिङ दुवैतिर जोड्ने पहुँच सडकको रेखदेख गर्नुपर्नेछ । चौबीसै घण्टा सेवा प्रदायकले ३ सय ६५ दिन नै सुरुङ सञ्चालन र व्यवस्थापन गर्नुपर्नेछ । सुरुङ सञ्चालनका लागि १ सय ५० जना जनशक्ति राखिनेछ ।

सञ्चालन गर्न लाग्ने लागत भने सरकारले बेहोर्ने र छानिने सेवा प्रदायकले उठेको टोल रकम प्रत्येक दिन सडक बोर्ड नेपालको खातामा जम्मा गर्नुपर्नेछ । यसको अनुगमन सडक बोर्ड नेपालले नै गर्नेछ । सुरुङ निर्माणको काम अन्तिम चरणमा रहेको सडक विभागका महानिर्देशक विजय जैसीले बताए ।

सेवा प्रदायक छान्ने काम हुँदै छ,’ उनले भने, ‘अब सञ्चालन गर्न धेरै समय लाग्दैन ।’ अहिलेसम्म सुरुङ निर्माणको ९८ प्रतिशत काम सकिसकेको छ । अहिले सेवा प्रदायक छनोट, टोल प्लाजा निर्माण र धादिङतर्फ पहिरो व्यवस्थापनको काम मात्र बाँकी छ । सुरुङभित्र आवश्यक पर्ने सबै संरचना जडान र निर्माण गरिसकिएको आयोजनाको भनाइ छ ।

निर्माणका क्रममा पहिरो व्यवस्थापन, परामर्श सेवा लगायतमा रकम अपुग भएर जापान सरकारसँग थप ऋण लिने तयारीमा रहेको आयोजनाले जनाएको छ । ‘केही समय अघिदेखि नेपाल सरकार र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) बीच रकम थप गर्नेबारे छलफल भएको थियो,’ जैसीले भने, ‘त्यही अनुसार करिब साढे ५ अर्ब रुपैयाँ थप गर्न लागिएको हो, सम्झौता भइसकेको छैन ।

अर्थ मन्त्रालय र जापान सरकारका अधिकारीले सम्झौतामा हस्ताक्षर गरेपछि यो कार्यान्वयनमा आउने आयोजनाको भनाइ छ । माग गरिएको रकम थप भए जापानसँग सुरुङ निर्माणको ऋण साढे २१ अर्ब रुपैयाँ पुग्नेछ । अहिले जापानको १६ अर्ब सहुलियतपूर्ण ऋण र नेपाल सरकारको ६ अर्ब रुपैयाँ लगानी छ ।

आयोजनाले अंग्रेजी नयाँ वर्ष २०२६ को सुरुवातबाटै सुरुङमार्ग सञ्चालनमा ल्याउने जनाएको थियो । तर सेवा प्रदायक छनोट गर्न नसक्दा सञ्चालनको समय पछि धकेलिएको हो । अहिले धादिङतर्फ टोल प्लाजा निर्माण र पहिरो व्यवस्थापनको काम भइरहेको छ । निर्माण कम्पनीको म्याद पहिरो रोकथामका लागि १२ वैशाख २०८३ सम्म थपिएको छ । सुरुङमार्ग सञ्चालनमा आएपछि मालवाहक सवारीसाधनको हकमा ३० देखि ३५ मिनेट समय बचत हुने आयोजनाको भनाइ छ ।

नागढुंगा–सिस्नेखोला सुरुङमार्ग  यातायात सञ्चालनसम्बन्धी निर्देशिका, २०८१ पनि गत २५ चैतमा जारी भइसकेको छ । निर्देशिका अनुसार सुरुङ सञ्चालनमा आएपछि पैदल यात्री, दुईपांग्रे, तीनपांग्रे सवारी र नन–मोटोराइज्ड सवारीले सुरुङमा प्रवेश पाउने छैनन् ।

डिजेल, पेट्रोल, ग्यास लगायत अत्यधिक प्रज्वलनशील पदार्थ र विस्फोटक पदार्थ बोकेका सवारीलाई पनि सुरुङमार्गमा निषेध गरिनेछ । ४ कात्तिक २०७६ मा यसको निर्माण थालिएको हो । यसअनुसार निर्माण थालेको ४२ महिनाभित्र काम सक्नुपर्ने हो । मुख्य सुरुङ २ हजार ६ सय ८८ मिटर र आपत्कालीन सुरुङको दूरी २ हजार ५ सय ५७ मिटर छ । सुरुङको निर्माण जापानी कम्पनी हाज्मा एन्डो कर्पोरेसनले गरिरहेको छ ।

– विमल खतिवडा