तनहुँ, माघ ११ गते । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि तनहुँ जिल्लामा आवश्यक निर्वाचन प्रहरीको कोटा अझै पुरा हुन सकेको छैन । माग अनुसारको आवेदन नपरेपछि जिल्ला प्रहरी कार्यालय तनहुँले तेस्रो पटक म्याद थप गर्दै दरखास्त आह्वान गरेको छ ।
अझै ३६५ जना अपुग भएकोले आइतबारसम्म म्याद थपिएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिनुभयो । विकका अनुसार कूल एक हजार ५७२ जना निर्वाचन प्रहरी भर्ना गर्ने लक्ष्य राखिएको थियो । तर यसअघि दुई पटकसम्म म्याद थप्दा पनि पर्याप्त आवेदन नपरेपछि शुक्रबार पुनः सूचना जारी गरी माघ ११ गते आइतबारसम्म आवेदन दिन सकिने व्यवस्था मिलाइएको छ ।
थपिएको म्यादअन्तर्गत शनिबारसम्ममा थप १९२ जना (६७ महिला र १२५ पुरुष) ले आवेदन दिएका छन् । यसअघि दुई पटकको भर्नामा आवेदन दिएका एक हजार २३६ जनामध्ये शुक्रबार भएको लिखित परीक्षामा एक हजार २१६ जना मात्र उत्तीर्ण भएका थिए । हाल कायम विवरण अनुसार अझै ३६५ जना निर्वाचन प्रहरीको अभाव देखिएको छ । छुटेकालाई परीक्षामा सहभागी हुने अवसर दिइएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार यसअघि आवेदन दिएर पनि शुक्रबारको लिखित परीक्षामा सहभागी हुन नसकेका उम्मेदवारहरूले समेत माघ १२ गते बिहान हुने परीक्षामा सहभागी हुन पाउनेछन् । इच्छुक उम्मेदवारले जिल्ला प्रहरी कार्यालयका साथै सशस्त्र प्रहरी गण भानु, इलाका प्रहरी कार्यालयहरू आबुँखैरेनी, बन्दीपुर, भानु नारेश्वरटार र खैरेनी बेल चौताराबाट समेत आवेदन दिन सक्नेछन् ।
४० दिनको सेवामा ३४ हजारभन्दा बढी पारिश्रमिक निर्वाचन प्रहरीमा भर्ना हुन १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेको हुनुपर्ने प्रावधान छ । छनोट भएका निर्वाचन प्रहरीले ४० दिनको कार्यअवधिमा एकमुष्ठ ३४ हजार ७७६ रुपियाँ पारिश्रमिक पाउनेछन् । यसका साथै उनीहरूले नेपाल प्रहरी र सशस्त्र प्रहरी सरह खाद्यान्न बापतको थप रकम समेत प्राप्त गर्ने सूचनामा उल्लेख छ ।
पछिल्लो समय युवाहरूको वैदेशिक रोजगारीप्रतिको आकर्षण र कृषि कार्यको चटारोका कारण विगतका निर्वाचनको तुलनामा यसपटक आवेदन दिनेको सङ्ख्यामा कमी आएको हुनसक्ने अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिनुभयो ।
– अमरराज नहर्की
What if you could work from Anywhere?
Explore More with something that can change your Life!
















