मुक्तिनाथ (मुस्ताङ), माघ १ गते । उपल्लो मुस्ताङको कोरला नाकास्थित दसगजा क्षेत्रमा व्यापार लोमान्थाङ गाउँपालिका–२,छोसेरकी कुन्जङ वाङमो गुरूङ चिनियाँ बजारमा गएर सामान लिएर फर्किनुभयो । पर्यटकको आगमन करिब शून्य भए पनि चिनियाँ सामान ढुवानीका लागि आउने चालक, व्यापारीलाई सामान बिक्री गर्न व्यवसायी गुरूङ नाकामै व्यवसाय गरी बस्नुभएको छ ।
लिजी–नेचुङ (कोरला) मा रहेको बिक्री कक्षमा बिहान ९ बजे प्रवेश गरी दिउँसो सामान लिएर फर्किने स्थानीयले नेपाली उत्पादनलाई समेत चिनियाँ बजारमा बिक्री गर्ने गरेका छन् । दिनभरी चिनियाँ बजारमा रहेको नेपाली ब्यापारिक स्टलमा बसेर व्यापार गर्ने, दिउँसो फर्किका स्थानीयलाई तापक्रम ऋणात्मक हुँदा समेत चिसोले छोएको छैन ।

कोरला नाकामा विद्युतीय सवारीसाधन चालक ब्यवस्थापन समितिका अध्यक्ष घरचिङ गुरूङले चिनियाँ समाना ल्याउन मुस्ताङको सवारीचालक जानुपर्ने र नाकाबाट ल्याएपछि अन्य जिल्लाबाट आएका चालकले सामान ढुवानी गर्ने भएकाले चिसो समयमा पनि नियमित व्यवसाय गर्नेहरु रहेको बताउनुभयो । गुरूङले भन्नुभयो, ‘‘अत्याधिक चिसो भए पनि हिमपात भएको छैन, नाका नियमित खुलेकाले स्थानीयहरू छन् ।’’ नाकाबाट छोसेरमा रहेको भन्सार कार्यालयसम्मको १४ किलोमिटर सडकमा सामान ढुवानीका लागि मालबाहक सवारीसाधनहरू दिउँसोको समयमा नियमित आवतजावत गर्ने गरेका छन् ।

कोरला नाकामा रहेको टेन्ट ब्यवसाय समितिको सदस्य खावा सेरिङ गुरूङले फाटफुट स्थानीयहरू आफ्नो व्यवसाय सञ्चालन गर्ने, नाकाबाट सामान नआउँदा बस्तीमा झर्ने गरेको बताउनुभयो । मङ्सिर, पुस महिनामा जाडो छल्न गएकाहरु नाकामा फर्किने र नाकामा रहेकाहरु बस्ती वा जिल्ला बाहिर जाने गरेका छन् । जिल्ला प्रहरी कार्यालय मुस्ताङ सञ्चार शाखाका अनुसार पुस ३० गते चिनियाँ बजारमा ब्यवसायका लागि ६२ जना गएर फर्किएका छन् । नाका क्षेत्रमा घुम्न जाने पर्यटक नभएको अवस्थामा व्यापारका लागि सिमापारी जानेको सङ्ख्या धेरै छ ।
नाकामा ५० टेन्टमध्ये चिसोका कारण अधिकांश बन्द छन् । सिजनमा लोमान्थाङ गाउँपालिकाको छोसेर, छोसेरका डेढसभन्दा बढी टेन्टमा ब्यवसा गर्न ब्यस्त हुन्छन् । मुस्ताङ भन्सार कार्यालयका प्रमुख रमेश खड्काले सिमापारीबाट नियमित सामान भित्रिएको बताउनुभयो । भन्सार प्रमुख खड्का भन्नुहुन्छ, ‘‘निकासी र पैठारीले समेत केही स्थानीय नाकामै छन्, आलोपालो गरी ब्यवसाय गर्नुभएको छ ।’’

समुन्द्रि सतहदेखि चार हजार ६ सय ५० मिटर उचाइमा रहेको कोरला नाकामा पहिलोपटक जाडोयाममा समेत स्थानीय ब्यवसायीहरुले ब्यवसाय गरिरहेका छन् । विगतका वर्षमा नाका खुलेपनि पुस र माघ महिनामा बन्द गरी बेसी झर्ने गरेका थिए । यसपटक स्थानीय, सवारीसाधनका चालक, व्यवसायीसँगै ढुवानी गर्ने मजदुर समेत नाकामा रहेकाले स्थानीयको बेसी झर्ने नियमित कार्यतालिका नै फेरिएको छ ।

गएको पुस महिनाको २८ गते कोरलाको नाकाबाट १६ हजार थान विद्युतीय चुरोट भेप बोकेको कन्टेनरसहित चालक पक्राउपछि स्थानीय केही त्रसित भए पनि नाका सञ्चालनमा हुन समस्या छैन । अवैध गतिविधि नियन्त्रणमा स्थानीय समुदायले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट, भन्सार कार्यालयलाई सघाइरहेका छन् । सन् १९६० को दशकमा चीनमा तिब्बत गाभिएपछि तिब्बतका खम्पाहरू नेपाली भूमि प्रयोग गरेर विद्रोह गरेपछि रोकिएकोमा वि.स २०८० कात्तिक २७ देखि औपचारिक उद्घाटन भएको नाका चालु आर्थिक वर्ष २०८२/०८३ भदौ महिनाको ३० गतेदेखि व्यवसायीक रुपमा सञ्चालनमा आएको थियो ।
– हरिकृष्ण शर्मा
What if you could work from Anywhere?
Explore More with something that can change your Life!

















