01/02/2026, 19:09:10
शुक्रबार, पुष १८, २०८२

सुनसान बन्दै मुस्ताङको साङ्ता गाउँ


मुक्तिनाथ (मुस्ताङ), पुस १८ गते । मुस्ताङको वारागुङ मूक्तिक्षेत्र गाउँपालिका–५, साङ्ता गाउँका स्थानीय छेवाङ गुरूङ जाडो छल्न परिवारसँगै काठमाडौंलगायतको ठाउँमा गएपछि गाउँ सुनसान भएको छ ।

कठ्याङ्ग्रिँदो चिसोसँगै गोम्बु गुरुङले अन्नबाली थन्काएर आफ्ना भेडा च्याङ्ग्रासहित अन्य पशुचौपाया गोठालोलाई जिम्मा लगाएर छिमेकी गाउँ धाकारजुङ झर्नुभएको छ । छिमेकी जिल्ला डोल्पा जोड्ने सडकको सिमानामा समुन्द्री सतहदेखि ३ हजार ८ सय मिटर उचाइमा रहेको सिङ्गो साङ्ता गाउँ अहिले सुनसान भएको छ ।

मुस्ताङको सबैभन्दा कान्छो र सानो गाउँबाट मङ्सिर महिनादेखि करिब ३० किलोमिटर टाढा रहेको छिमेकी फलेक धाकारजुङ, पाक्लिङ, सदरमुकाम जोमसोम सहित पोखरा, काठमाडौंमा गएको स्थानीय छेवाङ गुरूङले बताउनुभयो । अगुवा कृषक गुरूङले भन्नुभयो, ‘‘गाउँमा दुई चारजना गोठाला मात्रै छन्, जाडोयाममा बालबालिकासँग बस्न सकिदैंन, अब हिमपात नभए फागुन महिनामा फर्किन्छौ ।’’

साङ्ता गाउँका स्थानीयको याकचौरीसहित अन्य पशुचौपायाको रेखदेखका लागि गोठालालाई सुविधा समेत थपेर दिने गरिएको छ । १३ घरधुरी रहेको साङ्ता गाउँमा कुल जनसंख्या ७० रहेको छ । कृषि र पशुपालनमा सक्रिय रहेका स्थानीयले घरका मूल ढोकामा ताल्चा लगाएर मुस्ताङका विभिन्न स्थानमा आफन्त र भाडामा समेत बस्ने गरेको वडा अध्यक्ष सुरेन्द्र गुरूङले बताउनुभयो ।

वडा अध्यक्ष गुरूङले भन्नुभयो, ‘‘अहिले गाउँ सुनसान छ, डोल्पाबाट समेत पैदल आउने मार्ग हिउँले पुरिएको छ ।’’ साङ्ता गाउँबाट सवारीसाधन तथा पदैल मार्गबाट डोल्पा जानेहरू जाडोयाममा सम्भव नहुने भएकाले गोठालाले पशुचौपाया र स्थानीयको घरको सुरक्षा गर्ने गरेका छन् ।

भौगोलिक विकटता, मौसमी जटिलताका कारण स्थानीयबासीले जाडो समयको बासस्थानका लागि समेत विभिन्न समयमा माग गर्ने गरेका छन् । गाउँमा उत्पादन भएको कृषि उत्पादनले आधा बर्ष पनि नपुग्ने भएकाले सेवा, सुविधाको खोजीमा विस्तारै बसाइसराई गर्न थालेका छन् ।

सन् २०२२ सालमा पहिलो पटक पहिचान हुँदा २५ घरधुरी रहेकोमा अहिले बसाइसराई गरी १३ घरधुरी मात्र छन् । गाउँमा पुग्न सदरमुकाम जोमसोमबाट करिब ४० किमिमा रहेको छ । अन्नपूर्ण संरक्षण क्षेत्र इलाका कार्यालय जोमसोमका संरक्षण सहायक दिपक ओलीका अनुसार गाउँका बासिन्दा शुद्ध नेपाली समेत बोल्न नसक्ने भएकाले बाहिरी क्षेत्रबाट घुम्न जानेलाई समस्या हुने गरेको छ ।

वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाभित्र पिछडिएको गाउँ भएकाले गाउँपालिकामार्फत स्थानीयको उत्पादन तथा अन्य कार्यक्रमहरूमा समेत प्रोत्साहन गर्ने गरिएको प्रबक्ता प्रमेश गुरूङले बताउनुभयो । प्रबक्ता गुरूङले भन्नुभयो, ‘‘अभावमा पनि गाउँमा बस्नु भएकाहरूको आधारभूत आवश्यकता पूरा गर्र्ने प्रयासमा छौं, गाउँबाट पलायन हुन नदिनेगरी वडामार्फत विभिन्न योजना सञ्चालित छन् ।’’

साङ्ता गाउँ आसपासका क्षेत्रमा दुर्लभ हिउँचितुवासहित अन्य बन्यजन्तुको समेत बासस्थान रहेको छ । मुस्ताङ जिल्लाका पाँच स्थानीय तहमा करिब एकसय गाउँ रहेकोमा चिसो छल्न मंसिर महिनाको अन्त्यदेखि उपल्लो मुस्ताङको लोमान्थाङ र लो–घेकर दामोदरकुण्ड गाउँपालिकासहित तल्लो मुस्ताङको थासाङ, घरपझोङ र वारागुङ मूक्तिक्षेत्र गाउपालिकाका बासिन्दा समेत जिल्ला छोडेर पोखरा, काठमाडौं लगायतको क्षेत्रमा जाने गर्छ ।

– हरिकृष्ण शर्मा