01/02/2026, 18:54:18
शुक्रबार, पुष १८, २०८२

विधानअनुसार अघि बढ्दा पार्टी फुट्दैन, एकढिक्का हुन्छ : विश्वप्रकाश शर्मा


काठमाडौँ, पुस १८ गते। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विधानअनुसार अघि बढ्दा पार्टी विभाजित नहुने बताउनुभएको छ। उहाँले पार्टी फुट्छ कि भनेर आशङ्का नगर्न कार्यकर्तालाई आग्रह गर्नुभएको छ।

शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो। उहाँले पार्टीभित्र एकताको विषयमा उठेका आशंका निराधार भएको भन्दै पार्टी थप मजबुत र बलियो भएर अघि बढ्ने जिकिर गर्नुभयो।

उहाँले भन्नुभयो, ‘विधानअनुसार कुनै पनि कार्य गरेर जाँदै गर्दा फुट्दैन, एकढिक्का रहन्छ। एकढिक्का रहने सन्दर्भमा कसैलाई आशंका छ भने त्यो आशंका नराख्नुभए हुन्छ’, महामन्त्री शर्माले भन्नुभयो, ‘धेरै पार्टीका साथीहरुले आशंका व्यक्त गर्नुभएको छ। सबैलाई ढुक्क बनाउन चाहन्छु।

महामन्त्री शर्माले वर्तमान राष्ट्रिय परिस्थितिमा कांग्रेसले महाधिवेशनमार्फत नेतृत्व, नीति र दृष्टिकोण तय गर्दै अघि बढ्नुपर्ने आवश्यकताका आधारमा महाधिवेशनको मिति तय गरिएको भए पनि महाधिवेशन गर्न नसकिएको बताउनुभयो।

उहाँले निर्वाचनअघि राष्ट्रिय सङ्कल्प गर्नुपर्ने नभए विशेष महाधिवेशनमार्फत् नेतृत्व परिवर्तन गर्नुपर्ने विकल्पमा कार्यसम्पादन समिति बैठकमा छलफल हुने बताउनुभयो।

कांग्रेसमा नियमित महाधिवेशनको कार्यक्रम अगाडि नबढेपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन प्रक्रिया अघि बढाउनुभएको छ। यो विषयले पार्टीभित्र विवाद चर्किएको छ।