मुक्तिनाथ (मुस्ताङ), पुस १६ गते । नेपाल–चीन जोड्ने कोरला नाकाको नेपालतर्फ विशेष आर्थिक क्षेत्र स्थापनाका लागि सम्भाव्यता अध्ययन सुरु गरिएको छ । कोरला नाकास्थित नेपालतर्फको दशगजा क्षेत्रमा भन्सार कार्यालय, अध्यागमन, गोदामसहित अन्य आवश्यक पर्ने भौतिक पूर्वाधार बनाउन अर्थ मन्त्रालयले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)को अध्ययनको थालनी गरिएको हो ।
कोरला नाकामा आवश्यक संरचना बनाउन अध्ययनको जिम्मा पाएको ओजा इन्जिनियरिङ प्रालिले चीनको स्वशासित क्षेत्र तिब्बत जोड्ने कोरला नाकामा चिनियाँ संरचना बनेको वारिपट्टि नेपाली भूभागमा पाँच सय रोपनी क्षेत्रफलमा बनाउन सकिने भौतिक संरचना तथा नेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयको एक सय १० रोपनीको जिपिएसको प्रयोग गरी अध्ययन गरिएको प्रालिका इन्जिनियर रोशन सापकोटाले बताउनुभयो ।
कोरला नाकाको दशगजा क्षेत्रमा भौतिक पूर्वाधार नहुँदा नेपालको सीमापार व्यवसायमा समेत असर गरेको छ । भौतिक पूर्वाधारका लागि सम्भाव्यता अध्ययन गर्न अर्थ मन्त्रालयले १८ लाख बजेट विनियोजन गरेको थियो ।

समुन्द्री सतहदेखि चार हजार ६ सय ५० मिटर उचाइमा अवस्थित कोरला क्षेत्रमा रहेको ६ सय रोपनी क्षेत्रफलमध्ये सरकारी संरचना अति आवश्यक रहेको सीमाक्षेत्रमा व्यापार गर्ने स्थानीयको भनाइ छ । तत्काल सवारीसाधनसहित आयात गरिएका सामान राख्न मिल्ने गोदाम घर र नेपाल सरकारका प्रतिनिधिको नियमित उपस्थिति रहने संरचना बनाउनुपर्ने देखिएको अध्ययन टोलीका सदस्य इन्जिनियर रोहित भण्डारीको भनाइ छ । भौतिक संरचना बनाउन उपयुक्त स्थनको सम्भाव्यता अध्ययन टोलीलाई स्थानीय व्यापारीले चिसोका कारण सवारीसाधन बिग्रिने, खानेपानी, शौचालय सहित अति आवश्यक भौतिक पूर्वाधार नहुँदा टेन्टमा व्यवसाय गर्न समेत समस्या भएको बताएका थिए ।
नाकामा आवश्यक पर्ने भौतिक संरचना बनाउन जग्गा अधिग्रहण गरिसकिएको छ । सम्भाव्यता अध्ययन गर्ने परामर्शदाताले स्थानीय व्यवसायी, सवारीसाधनका चालकसहित जनप्रतिनिधिसँग छलफल गरी प्रतिवेदन पेश गर्ने र थप सुझावसहित अर्को चरणको अध्ययन गर्ने ईन्जिनियर भण्डारीले बताउनुभयो । कोरला नाकामा संरचना बनाउँदा मङ्सिरदेखि माघ महिनासम्म नियमित सञ्चालनमा समस्या हुनसक्ने भएकाले नेचुङमा समेत व्यवस्थित संरचना आवश्यक रहेको लोमान्थाङ गाउँपालिका–२,का वडा अध्यक्ष एवम् आर्थिक समितिका संयोजक कर्म नाम्ङग्याल गुरूङले बताउनुभयो । कोरलाको पारी लिची क्षेत्रमा चीनले धमाधम संरचना बनाइरहँदा नाकाको वारिपट्टि नेपाल टहरामा गुजरा चलाउनुपर्ने बाध्यता छ ।

भौतिक संरचनाको सम्भाव्यता अध्ययन टोलीसँगै कोरला नाकामा पुग्नुभएका वडा अध्यक्ष गुरूङले सरकारी संरचना सहित पर्यटकीय, सूचना र प्रविधि, वित्तिय संस्थाको समेत सहजता हुनुपर्नेमा जोड दिनुभएको थियो । कोरला नाकामा निर्यात, आयात, तिब्बती क्षेत्रमा भ्रमणमा जान सहज हुने गरी अध्यागमन सेवालाई सहज हुने गरी संरचनाको आवश्यकता छ । पाँच महिना नपुग्दै पाँच अर्बभन्दा बढी राजस्व सङ्कलन गरेको मुस्ताङ भन्सार कार्यालय पाँचवटा साँघुरो कोठाबाट सञ्चालित छ ।
भदौ महिनाको अन्तिम सातादेखि पुस महिनाको पहिलो सातासम्म ५ अर्बभन्दा बढी राजस्व समेत सङ्कलन गरिएको छ । यो अवधिमा झण्डै ११ अर्बको सामान आयात तथा १९ करोडको बराबरको निर्यात भएको छ । सन् १९६० को दशकमा चीनमा तिब्बत गाभिएपछि तिब्बतका खम्पाहरू नेपाली भूमि प्रयोग गरेर विद्रोह गरेपछि रोकिएकोमा वि.स २०८० कात्तिक २७ देखि औपचारिक उद्घाटन भएको नाका चालु आर्थिक वर्ष २०८२/०८३ भदौ महिनाको ३० गतेदेखि व्यावसायिक रुपमा सञ्चालनमा आएको थियो ।
– हरिकृष्ण शर्मा
What if you could work from Anywhere?
Explore More with something that can change your Life!

















