02/15/2026, 11:36:28
आइतबार, फागुन ०३, २०८२

दुई घण्टाभित्रै पशुपति मन्दिरको दर्शन !


काठमाडौँ, फागुन ३ गते । पशुपतिमा शिवरात्रिको अघिल्लो दिन शनिबारदेखि नै दर्शनार्थीको भिड लागेको छ ।

प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजाआराधना गरी देशभर मनाउने गरिन्छ । शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिवपुराण लगायतका ग्रन्थमा उल्लिखित छ ।

संस्कृतिविद् डा. गोविन्द टण्डनका अनुसार महाशिवरात्रि नेपालको राष्ट्रिय पर्व हो । यसले संसारभरिका हिन्दु धर्मावलम्बीमा अत्यन्तै ठुलो श्रद्धा सम्मान रहिआएको छ । भगवान् पशुपतिनाथको मन्दिर नेपालमा भएका कारण नेपालमा हुने महाशिवरात्रि पर्व कस्तो हुन्छ भनेर विश्वले हेरिरहेको उहाँले बताउनुभयो ।

महाशविरात्रिमा नेपाली मात्र होइन छिमेकी मुलुक र त्योभन्दा टाढा मलेसिया, सिङ्गापुर र सात समुद्रपारिका मान्छे पनि भगवान्को दर्शन गर्न आउने गरेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “मन्दिर दर्शन गर्न आएका दर्शनार्थीलाई पूजाआजालगायतका कुरामा सजिलो पार्न सक्यो भने यो भक्तजनको सङ्ख्या बढ्दै जान्छ । यी कुरामा सम्बन्धित निकायको यथोचित ध्यान जान सकेको छैन ।

पशुपतिनाथ क्षेत्रको सरसफाइ, सजावट, भक्तजनलाई सहज रूपमा मन्दिर दर्शन गराउने व्यवस्थापन पक्ष, सुरक्षा व्यवस्था लगायत सम्पूर्ण तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष श्रीधर सापकोटाले बताउनुभयो । अघिल्लो वर्ष भारतको प्रयागमा मेला लागेको हुनाले केही साधुसन्त घटेका थिए भने यस वर्ष चार हजार साधुसन्त आउने अनुमान उहाँको छ । करिब दुई हजारभन्दा बढी स्वंयसेवकलाई परिचालन गरिने पर्वमा यस वर्ष पशुपतिमा २० लाख श्रद्धालुले प्रत्यक्ष दर्शन गर्ने अनुमान उहाँको छ ।

महाशिवरात्रिका दिन बिहान २:०० बजे नै पशुपतिनाथ मन्दिरको चार वटै ढोका खुला गरिने र मन्दिर प्रवेशका लागि विभिन्न चार स्थानबाट लामको व्यवस्था गरिएको उहाँले बताउनुभयो । दुईदेखि सवा दुई घण्टाभित्र दशनार्थीले दर्शन गर्ने व्यवस्था मिलाइएको उहाँको भनाइ छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले पशुपतिनाथ मन्दिरमा आउने भक्तजनको सवारी आवागमनलाई व्यवस्थित बनाउन योजनाबद्ध ट्राफिक व्यवस्थापन मिलाइएको महाशाखाका प्रहरी उपरीक्षक नरेशराज सुवेदीले बताउनुभयो । उहाँका अनुसार शिवरात्रि अवधिभर भक्तजनलाई सरल र सहज आवागमनको व्यवस्था मिलाइएको छ । सिफल चौर, गुह्वेश्वरी, पशुपति क्षेत्र विकास कोषको कार्यलय, तिलगङ्गा आँखा अस्पतालको कोरिडर, वनकाली क्षेत्र लगायतका स्थानमा पार्किङ व्यवस्था मिलाइएको छ ।

पाशुपति क्षेत्रमा मांस, मदिरा, गाँजा, भाङ, चरेश आदिको भण्डारण, बिक्री वितरण तथा ओसारपसार नगर्न/नगराउन समेत कोषले सचेत गराएको छ । दुई वर्षअघिदेखि भाङ धतुरो निषेध गरिएको थियो । अहिले पनि त्यसैलाई प्राथमिकता दिएर गाँजा खानेलाई प्रहरीद्वारा कारबाही गरिने सापकोटाले जानकारी दिनुभयो ।

– सुकृत नेपाल