02/13/2026, 20:54:17
शुक्रबार, फागुन ०१, २०८२
विश्व रेडियो दिवस

“मुलुकलाई लयमा फर्काउने एकमात्र माध्यम निर्वाचन”


काठमाडौँ, फागुन १ गते । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मुलुकलाई लयमा फर्काउने एकमात्र माध्यम निर्वाचन भएको बताउनुभएको छ ।

सामुदायिक रेडियो प्रसारक सङ्घले १५ औँ विश्व रेडियो दिवसका अवसरमा आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनपछि लय र अनुशासनबाट बाहिरिएको मुलुकलाई लयमा फर्काउन आयोगले निष्ठापूर्वक निर्वाचन सम्पन्न गर्न काम गरिरहेको बताउनुभयो ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले निर्वाचन सम्पन्न गराउन रेडियोकर्मी लगायत आमसञ्चारकर्मीको महत्त्वूर्ण भूमिका रहेकाले सोहीअनुसार सहयोग गर्न आह्वान गर्नुभयो ।

उहाँले सामाजिक सञ्जालबाट गलत, भ्रामक र हानिकारक सूचना फैल्याएर निर्वाचन बिथोल्न खोज्ने प्रयास पनि भइरहेकाले सामुदायिक रेडियोहरूले जागरण एवं चेतना फैल्याउनुपर्नेमा जोड दिनुभयो ।

सामाजिक सञ्जालबाट प्रवाह हुने गलत, भ्रामक र हानिकारक सूचना रोक्न टिकटकसँग समझदारी भइसकेको छ, मेटासँग पनि सम्झौता हुने क्रममा छ । यस्ता सूचनाको सत्यतथ्य के हो भन्ने परीक्षण गर्न देशभित्रका अन्य मिडियासँग पनि सम्झौता भएको छ”, कार्यवाहक प्रमुख आयुक्त भण्डारीले भन्नुभयो ।

कार्यक्रममा सङ्घले रेडियोकर्मीका लागि बनाएको निर्वाचन आचारसंहिता वाचन गरेर सुनाइएको थियो । सङ्घले जारी गरेको आचारसंहिता र निर्वाचन आचारसंहिताबारे पनि सबै सामुदायिक रेडियोबाट जानकारी गराई जागरण फैल्याउन सहयोग गर्न पनि कार्यवाहक प्रमुख आयुक्त भण्डारीले आग्रह गर्नुभएको थियो ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..